
एजेन्सी । संसारकै धनी व्यवसायी इलोन मस्कको कम्पनीले सन् २०२३मा नेपालमा स्याटलाइट (भूउपग्रहहरूको व्यापक सञ्जालबाट) इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा आफ्ना जिज्ञासा राखेको बताइएको छ । पछिल्लो समयमा मस्कको कम्पनी स्पेस एक्सको वेबसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत् अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । आफूसँग नेपालको लाइसेन्सिङ प्रकृयाका विषयमा कुराकानी भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । स्पेस एक्सको वेबसाइटमा दक्षिण एशियाली मुलुकहरूमा नेपाल, भुटान, श्रीलङ्का अनि मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख गरिएको छ। कम्पनीले स्याटेलाइट सेवाको बिस्तार विश्वव्यापी गर्ने तयारी गरिरहेको छ ।
नेपालमा सेवा सुरु गर्नका लागि स्टारलिङ्कका अधिकारीहरूलाई प्रक्रियाबारे जानकारी गराइएको खनालले बताएका छन् । तर सो कम्पनीले नेपालमा आधिकारिक रुपमा भने निवेदन दिइसकेको छैन् ।
स्टारलिंक र प्राधिकरणबीच भएको सुरुवाती कुराकानीका अनुसार सेवा सुरु गर्न स्टारलिङ्कका लागि नेपालको कानुनी प्रावधानबाधक बन्न सक्ने सम्भावना देखिएको छ। स्टारलिङ्कले पूर्ण स्वामित्व आफूले राखेर नेपाली बजारमा प्रवेश गर्न चाहेको छ । तर, दूरसञ्चार नीति २०६०ले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्ने भए पनि त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ।
इन्टरनेटमा कतिपय देशहरूले सत प्रतिशत विदेशी स्वामित्व स्वीकार गरिसकेको अवस्थामा सो कम्पनीले पनि लिखित रुपमा जानकारी गराए आवश्यक जानकारी दिन सक्ने अध्यक्ष खनालले बताएका छन् । बिबिसीबाट ।