काठमाडौं । नेपाल टेलिकमले फाइभजी चल्ने मोबाइल फोनको संख्या न्यून रहेको भन्दै ‘फाइभ जी परीक्षण’ स्थगित गरेको छ ।
टेलिकमले जनवरी १ तारिखबाट बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजी को परीक्षण गर्ने तयारी गरेको थियो । तर फाइभ जी चलाउने प्रणाली अनुसार फाइभजी चल्ने मोबाइल फोनको संख्या न्यून रहेको पाइएपछि परीक्षण स्थगित गरिएको कम्पनीले जनाएकोे छ ।
फाइभजी परीक्षणको सम्पूर्ण आन्तरिक सम्पूर्ण तयारी भएपनि केही प्राविधिक कारण अन्तिममा परीक्षण रोकिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
तोकिएको समयमा परीक्षण नभएपछि थप तयारी गरेर परीक्षण गर्ने कम्पनीले जनाएको छ । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ ।
फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।