
काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि नचल्ने भएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो । एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाइने भएको हो ।
प्राधिकरणले गत सातादेखि सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने बताएको थियो । अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ ।
विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । यद्यपि व्यक्तिगत रूपमा नेपाल ल्याउने मोबाइल पहिलो २ हप्ता भने दर्ताबिनै प्रयोग गर्न सकिनेछ । सो अवधिभित्र दर्ता गरेमा मात्र २ हप्तापछि पनि प्रयोग गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार दर्ताबिनै २ हप्ता प्रयोग गर्न सकिने सुविधा पर्यटकलाई मात्रै लक्षित गरिएको हो ।