इलाम, २० जेठ । पशुपतिनगर भन्सार कार्यालयले लक्ष्यभन्दा १५ लाख रुपैयाँ बढी राजस्व असुली गरेको छ । उक्त कार्यालयले आव २०७२/७३ मा ८६ लाख ५० हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा वैशाख महिनासम्ममा ९५ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७१/७२ को यही अवधिमा ७५ लाख १० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयले भन्सार जाँचपासमा कडाइ गर्दै सरोकारवालासँग राजस्वका बारेमा अन्तक्र्रिया, छलफल कार्यक्रम तथा चोरी निकासी नियन्त्रण गरेका कारण भन्सार असुली बढेको भन्सार अधिकृत प्रकाश पोखरेलको भनाइ छ । भन्सार कार्यालयले चालु आवमा ९८ वटा विभिन्न साना–ठूला गाडी लिलाम बिक्री गरेको छ ।
सञ्चालनमा रहेकामध्ये छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ र छिरूवा छोटी भन्सारले चालु आवको वैशाखसम्ममा रु छ लाख ७१ हजार राजस्व असुल गरेका छन् । सशस्त्र द्वन्द्वका समयमा बन्द गरिएका मेमेङ, च्याङ्थापु, माइमझुवा र सुलुबुङस्थित बन्दुके छोटी भन्सार कार्यालय अझै सञ्चालनमा नआएको भन्सार अधिकृत पोखरेलले बताए। रासस