काठमाडौं । आइएमइ पेको मुख्य प्रायोजनमा जारी क्यान इन्फोटेक २०२२ को पाँचौं दिन सुचना प्रविधिसम्बन्धी कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ भोलि सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र सागर लम्साल ‘बले’तथा र्याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् ।
हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनि, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवा पुस्ता तथा सुचना तथा संचार प्रविधिमा रुचि राख्नेहरुले स्टार्टअप तथा इन्नोभेसनमा रुचि पुर्वक अवलोकन गरेको उनको भनाइ छ ।
इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ ।
इन्फोटेकमा बिभिन्न खण्डमा गरी कुल १७० वटा स्टल रहेका छन् ।