काठमाडौं । नेपाल राष्ट्र बैंकले अतिआवश्यक बाहेकका वस्तुको प्रतिपपत्र (एलसी) खोल्न कडाई गरेपछि बजारमा मोबाइल फोनको अभाव हुने देखिएकोे छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथ वित्तीय संस्थाले आयातका लागि एलसीमा बन्द गरेपछि बजारमा अभाव देखिने व्यवसायीहरुले बताएका छन् ।
सरकारले आयातमा रोक लगाएपछि व्यवसायीहरुले ग्राहकले रोजेका नयाँ ब्राण्डका मोबाइल फोनको अभाव हुने बताएका छन् ।
नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई आयात रोकिदा अभाव हुने बताउँछन् ।
‘अहिले नै अभाव भैसकेको छैन्, तर अहिले नयाँ मोडलका फोनहरु बजारमा छैनन्, व्यवसायीहरुसँग पुराना ब्राण्डका फोनहरु साढे एक महिनालाई पुग्ने स्टक मात्रै छ । त्यतिबेलासम्म आयात गर्न दिइएन भने अभाव चर्किन्छ,’ अध्यक्ष भट्टराईले भने ।
उनले बैंकहरुले आगामी जेठसम्म एलसी नखोल्ने बताएको जनाउँदै अभाव बढ्ने बताए ।
मोबाइल इम्पोटर्स एसोसिएनका उपाध्यक्ष सञ्जय अग्रवाल सरकारले अतिआवश्यक वस्तुको आयातमा कडाई गरेपछि स्वतः अभाव हुने बताउँछन् ।
‘सरकारले विलासी वस्तुको लिस्टमा अतिआवश्यक वस्तुलाई पनि राख्यो, मोबाइल फोन अहिले अतिआवश्यक भैसक्यो, सबै मूल्यका फोनलाई एउटै लिस्टमा राख्दा बजारमा अभाव हुनु स्वभाविक हो’, उनले भने ।
व्यवसायीले न्युन मूल्यका फोनको आयात खुला गर्न सुझाव राख्दाराख्दै सरकारले सबै मूल्यका फोनलाई अतिआवश्यकको सूचिमा नराख्दा अवैध फोनको बजार बढ्ने उनले दाबी गरे ।
उनले अहिलेसम्म नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले आधिकारीक रुपमा सूचना नै ननिकाली आयात रोकेको आरोप लगाए ।
‘हामीले राष्ट्र बैंकले कडाई गरेको सुनेपछि कम मूल्यका फोनकोे आयात नरोक्न आग्रह गरेका थियौँ, तर बैंकहरुले आयात रोकेको भन्ने सुनियो, बैंकमा बुझ्दा राष्ट्र बैंकलाई देखाउँने काम भयो, एकले अर्कालाई देखाएर पन्छिक खोज्दा बजारमा अभाव हुँदा गैरकानूनी मोबाइल फोनको आयात बढ्छ,’ उनले भने ।
व्यवसायीहरुले हाल नेपालमा ४० प्रतिशतभन्दा बढी मोबाइल फोनहरु अवैध रहेको बताउँदै आएका छन् ।
भन्सार विभागको सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार नेपालमा ३० अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात भएको छ ।
पछिल्लो समय नेपालमा अवैध मोबाइल फोन बढी भित्रिएको व्यवसायीको गुनासो पश्चिात नेपाल दूरसञ्चार प्राधिकरणले अबैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु गर्ने तयारी गरेको छ ।
गत चैत २७ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । संघले राष्ट्र बैंकको निर्देशन अनुसार गाडी, सुनचाँदी, मोबाइलल फोनसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय गरेको थियो ।