काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा भएका छन् । विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत रहेका गिरी आजबाट औपचारिक रुपमा बिदा भएका हुन् ।
एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् । सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् ।
उनले हालै मात्र आफ्नै निर्देशन तथा योजनामा सन्देशमूलक भिडियो बनाएका थिए । उक्त भिडियो अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेत बनौं! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भन्ने सन्देश सहितको रहेको थियो ।
यस्तै, उनले यो अवधिसम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेका बताएका छन् ।
‘मेरो करियरको सुरुवातदेखि नै म र मेरो कर्मक्षेत्रलाई यो उचाईसम्म पुर्याउनको लागि सदैव उत्साह, हौसला, सकारात्मक मार्ग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी यात्रामा पनि यहाँहरुको निरन्तर विश्वास, सहयोग, सद्भाव एवं सत्मार्गको अपेक्षा गर्दछु ।’, बिँदा हुँदै गिरीले भने ।