काठमाडौं, १४ असार । सरकारले भूकम्पमा परि आंशिकरुपमा घर भत्किएकाहरुलाई मर्मत सम्भारका लागि ५० हजार रुपैंयाँ उपलब्ध गराउने भएको छ । भूकम्प पीडितको निजि आवास पुननिर्माण कार्यबिधी अनुसार स्थानिय विकास मन्त्रालय मार्फत आंशिकरुपमा घर भत्किएका पीडितहरुलाई ५० हजार रकम उपलब्ध गराउने जानकारी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले दिए ।

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका वा भत्काएर पुनः बनाउनु पर्ने भए दुई लाख रुपैयाँ दिने र आंशिक क्षति भएका घर मर्मतसम्भार गर्न ५० हजार रुपैयाँ दिने व्यवस्थाले धेरै गुनासो सम्बोधन हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको दाबी छ ।
८२ हजार ८ सय गुनासो
यसैबिच आफु लाभग्राही सूचिमा नपरेको भन्दै ८२ हजार ८ सय ४१ जना भूकम्प पीडितले गुनासो फारम भरेका छन् । उनीहरुले आफ्नो घर भूकम्पका कारण पुर्ण क्षति भएको दावीसहित गाबिस तथा नगरपालिकाका वडा कार्यालयहरुमा गुनासो फारम भरेका हुन् । सोमबारसम्ममा एक लाख ८३ हजार ९ सय ५५ घरधुरीसँग अनुदान सम्झौता गरिसकेको छ । हालसम्म ५ हजार ८ सय ४१ घरधुरीले पहिलो किस्ता वापतको ५० हजार पाईसकेका छन् ।
यसैबिच प्राधिकरणले क्षेत्रिय कार्यालयहरुलाई सम्बन्धीत क्षेत्रमा एनजिओहरुले निर्माण गर्ने आयोजनाहरुलाई स्विकृति दिने अधिकार सुम्पिएको छ । गैर सरकारी संस्थाहरुबाट प्राप्त परियोजना प्रस्तावको मूल्याङ्कन, स्वीकृति, अनुगमन तथा मूल्याङ्कन क्षेत्रिय कार्यालयहरुले नै गर्न सक्नेछन् ।