काठमाडौं, ८ असार । चालु आर्थिक वर्ष २०७२/७३ को प्रथम ११ महिनामा व्यापार घाटा ६ खर्ब २४ अर्ब रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब १५ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङकअनुसार यो वर्षको ११ महिनामा ६ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ भने निर्यात ६१ अर्ब २३ करोड रुपैयाँको मात्र भएको देखिएको छ ।
चालु आर्थिक वर्षमा बस्तु निर्यात पौने एक खर्ब भन्दा पनि कम हुने भएको छ भने आयात साढे ७ खर्ब नाघ्ने देखिएको छ । वर्षभरीमा व्यापार घाटा ६ खर्ब रुपैयाँ भन्दा बढी हुने देखिएको छ ।
भन्सार विभागका अनुसार ११ महिनामा आयात निर्यात अनुपात ११ दशमलव २ रहेको छ । कुल बैदेशिक व्यापारमा निर्यातको हिस्सा ८ दशमलव २ प्रतिशत छ भने आयातको हिस्सा ९१ दशमलव ८ प्रतिशत रहेको छ ।
विश्वका १८१ वटा देशसँग नेपालले बैदेशिक व्यापार गर्दै आएकोमा १४१ देशहरुसँग व्यापार घाटा भएका छ भने ४० वटा देशहरुसँग नाफा भएको छ ।