काठमाडौं, ७ असार । महंगी र कालोबजारीले उपभोक्ता हैरान भैरहेका बेला बजारमा ललिपपको नयाँ आतंक देखिएको छ । हेर्दा राम्रो देखिने र खाँदा गुलियो स्वाद भएका ललिपपहरुमा हानिकारक शिशा फेला परेपछि यस्तो आतंकको पर्दाफास भएका हो ।

एसियन बिस्कुट एण्ड कन्फेक्सनरी दुहबीद्धारा उत्पादित ललिपपका नलिहरुमा चम्किने अज्ञात रसायन फेला परेको छ । ती रसायनहरु मर्करी भएको र त्यसले मानव स्वास्थ्यमा गम्भिर हानी पुर्याउने भन्दै उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले विकासन्युजलाई जानकारी दिए ।
एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गर्दै आएको ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट लगायतका चम्किने ललिपपहरुमा हानिकारक रसायन फेला परेको हो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलालल महर्जनले बर्दियामा ललिपप खाएर चार जना बालक बिरामी भएपछि गुणस्तर परिक्षणका लागि विभागमा उजुरी दिएको बताए । ‘ललिपप खाएर बालबालिका बिरामी भएको खबर आएपछि हामीले उजुरी हालेका थियौ, ललिपपको नलिभित्र रहेको चम्किने पदार्थ मर्करी हो र त्यसले स्वास्थ्यलाई गम्भिर असर गर्ने देखियो’, मञ्चका अध्यक्ष महर्जनले भने ।
ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट ललिपप उत्पादन गर्दै आएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगमा विभागले ताला लगाएको छ । बजारमा पुगेका यस्ता ललिपप समेत फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको छ । ‘उत्पादन बन्द गराएका छौं भने बजारमा पठाइसकिएका समान फिर्ता गर्न निर्देशन दिएका छौं, अब आयातित ललिपपको समेत बजार अनुगमन गर्छाै’, विभागका प्रवक्ता वस्तीले भने ।