काठमाडौं, ३ असार । एक सातामै नेप्से परिसूचक ६४ अंकले बढेपछि नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले बिहिबार बजार बन्द भएपछि विज्ञप्ति निकाल्दै लगानी कर्तालाई सचेत बन्न आग्रह गरेको हो ।

साताको पहिलो दिन आइतबार १५६८ अंकमा रहेको परिसूचक अन्तिम दिन १६३२ अंकमा पुगेको थियो भने ९ अर्ब ३० करोड रुपैंयाँको सेयर खरिद बिक्रि भएको थियो ।
आर्थिक परिसूचकहरु उत्साहजनक नरहेका बेला सेयर बजार बढेको भन्दै बोर्डले विज्ञप्ति निकाल्दै बजारमा जोखिम बढ्न सक्ने तर्फ संकेत गरेको हो ।
बोर्डका प्रवक्ता निरज गिरिले भने–सेयर बजारका लगानी कर्ताले सधै सचेत हुनु पर्छ, अहिले बजार निरन्तर बढेको छ, बढिरहेको बजार घट्न पनि सक्छ, हामीले लगानी कर्तालाई सचेत गराउने हो ।बोर्डले सेयर बजारको लगानी जोखिम रहित नहुने तथ्य स्मरण गराउँदै अर्थतन्त्रकै वृद्धिदर सकारात्मक नभएको अवस्थामा बजारको वृद्धिले थप जोखिम निम्त्याएको बताएको छ । लगानी कर्ताको हकहितको संरक्षण गर्ने आफ्नो जिम्मेवारी अनुसार सचेत गराइएको पनि बोर्डले बताएको छ ।
नेप्सेका सह प्रवक्ता मुराहरी पराजुलीले भने बजार जोखिमको मापन गर्ने आधार नभएको दावी गरे । उनले बजार कति वृद्धि हुँदा जोखिम मान्ने भन्ने तथ्यगत आधार नभएको बताउँदै अधिक तरलता र नयाँ प्रबिधीका कारण बजार बढेको स्पष्ट पारे । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले पनि बजार बढ्दा वा घट्दा बोर्डले लगानी कर्तालाई सचेत गराउनु पर्ने बताए ।