काठमाडौं, २ असार । काठमाडौं उपत्यका शहर देशकै सबै भन्दा महंगो क्षेत्रका रुपमा दर्ज भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अध्ययन प्रतिवेदनले काठमाडौंको मुल्य वृद्धि अत्याधिक रहेको देखाएको हो । काठमाडौंको मुल्य वृद्धिदर ११ दशमलब ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौंको मूल्य वृद्धिदर जम्मा ६ दशमलब ८ प्रतिशत मात्रै थियो ।

तराई मधेशमा चलेको लामो आन्दोलन र भारतीय नाका बन्दीले आपुर्ति व्यवस्थामा असहजता उत्पन्न भएपछि काठमाडौं उपत्यका महंगो शहरका रुपमा स्थापित भएको केन्द्रिय बैंकको अध्ययन प्रतिवेदनले उजागर गरेको छ ।
अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको मुल्य वृद्धिदर यो वर्ष घटेर ७ दशमलब ७ प्रतिशतमा झरेको छ । तराईको मुल्य वृद्धिदर पनि ६ दशमलब ९ प्रतिशतबाट बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ ।
खाद्यान्न र तरकारी छोई नसक्नु
केन्द्रिय बैंकले तयार पारेको प्रतिवेदन अनुसार २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब ६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलब ४ प्रतिशत देखाएको छ ।
दाल तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३ दशमलब ४ प्रतिशत बढेको छ । त्यस्तै, तरकारीको मूल्य २० दशमलब १ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ ।
घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।