बाबुरामको नयाँ शक्तिको आज घोषणा हुदै, राजनीतिक एजेन्डामा फेरि पनि जिते भट्टराईले

<p>काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल नामक राजनीतिक दलको आज घोषणा हुदैछ । आज प्रकाशित हुने प्राय सवै दैनिक प्रत्रिकामा ‘ज्याकेट’ तथा इलेक्ट्रोनिक्स संचार माध्यममा पनि ब्यापक विज्ञापन दिएर घोषणा हुन लागेका नयाँ शक्तिले ‘अबको निकास, आर्थिक विकास’ भन्ने मूल नारा तय गरेको छ । पार्टी घोषणासभामा भाग [&hellip;]</p>

काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल नामक राजनीतिक दलको आज घोषणा हुदैछ । आज प्रकाशित हुने प्राय सवै दैनिक प्रत्रिकामा ‘ज्याकेट’ तथा इलेक्ट्रोनिक्स संचार माध्यममा पनि ब्यापक विज्ञापन दिएर घोषणा हुन लागेका नयाँ शक्तिले ‘अबको निकास, आर्थिक विकास’ भन्ने मूल नारा तय गरेको छ । पार्टी घोषणासभामा भाग लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओली सहित सबै राजनीतिक दलका प्रमुख, सवै सांसद, विभिन्न राष्ट्र र कुटनीतिक नियोगका प्रमुख र विभिन्न संघ संस्थाका प्रमुखलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता खिमलाल देबकोटाले जानकारी दिए ।

Bikashnews.com
पार्टी घोषणासभामा एकै पटक एक लाख नेता कार्यकर्तालाई सपथ खुवाइने कार्यक्रम छ । त्यसपछिको छलफल सत्रमा पार्टीको विधान र आर्थिक सम्बृद्धिको खाका तयार पारिने प्रवक्ता देबकोटाले जानकारी दिए । प्रतिबद्धता ५ स नयाँ शक्ति नेपालले ‘५ स’लाई आफ्नो प्रतिबद्धता भनेर सार्वजनिक गरेको छ । पहिलो ‘स’मा समतामुलक समृद्धि भनिएको छ । ‘हामीले अहिलेसम्म राजनीतिक अधिकारको लडाई लड्यौं । तर देश अझै पनि गरिबी, बेरोजगारी र परनिर्भरताको साँग्लोले बाँधिएको छ । त्यो साँग्लो चुडाल्नु र देशलाई अन्तरनिर्भर विकास र समृद्धिको शिखरमा पुर्याउनु अवको हाम्रो मुख्य कार्यभार हो ।

विकासको प्रतिफल सवै बर्ग, क्षेत्र र समुदायमा पुर्याएर समतामुलक समृद्धि हासिल गर्नु हाम्रो दायित्व हो । हामी उर्जाशील दिमाग र कर्मशील हात भएका युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्नेछौं,’ नयाँ शक्तिको समतामुलक समृद्धिको आधारमा उल्लेख गरिएको छ । यस्तै नयाँ शक्तिले समानुपातिक समावेशी सहभागितामुलक लोकतन्त्र, सुशासन÷सदाचार, स्वाधिनता/सार्वभौमिकता र समुन्नत समाजवाद आफ्नो अवधारणा भएको उल्लेख गरेको छ । पार्टीले आफ्नो लागो/ चिन्हको रुपमा रातो झण्डाको विचमा एउटा तारा राखेको छ । विज्ञापन किन ? नयाँ शक्तिले पार्टी घोषणाको प्रचार प्रसारको लागि ब्यापक मात्रामा विज्ञापन गरेको छ । पैसा तिरेर गरिएको यस्तो विज्ञापनले राम्रै चर्चा भएको छ ।

‘अहिलेसम्मका राजनीतिक दल प्रतिपक्षमा बस्नको लागि योग्य तर सरकारमा पुगेपछि आर्थिक विकास र समृद्धि हासिल गर्ने कुरामा चुके, यो कार्यभार पूरा गर्ने उद्देश्यले नयाँ शक्ति स्थापना भएको हो,’ नयाँ शक्ति नेपालका अभियान्ता मध्येका एक रामेश्वर खनालले भने । अहिलेसम्म नेपालमा स्थापना भएका कुनै पनि राजनीतिक दलले यसरी विज्ञापन गरेर पार्टी स्थापना भएको जानकारी दिएका थिएनन् । ‘यो हामीले नयाँ प्रयोग गरेका हौं, २/३ बर्ष पहिला डेनमार्कमा बैकल्पिक राजनीतिक शक्ति स्थापना हुदा पनि यस्तै गरी विज्ञापन गरिएको थियो, युरोप र अमेरिकातिर पनि नयाँ पार्टी स्थापना हुदा यसरी विज्ञापन गर्ने चलन छ,’ विज्ञापन किन आवश्यक देखियो भन्ने प्रश्नमा खनालले भने । अब राजनीतिक एजेन्डा नै परिवर्तन हुने डा. भट्टराईको पार्टीले तत्काल कुनै ठूलो उपलब्धी हासिल गर्ने र सरकारको नेतृत्व लिन सक्ने÷नसक्ने यकिन छैन । नयाँ शक्तिमा राजनीतिक पृष्ठभूमी भएका ब्यक्तिहरु विगतमा तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा प्रत्यक्ष÷परोक्ष सहभागी भएका मात्रै छन् । नयाँ शक्तिको नेतृत्व तहमा रहेका अरु चर्चित ब्यक्तिहरु भने पूर्वप्रशासक छन् ।

यसकारण संगठन निर्माण र राजनीतिक एजेन्डा लागू गर्ने राजनीतिक कला प्रदर्शनमा नयाँ शक्ति कत्तिको सफल हुन्छ, यो भने प्रतिक्षाकै विषय भएको छ । डा. भट्टराई यसअघि पनि राजनीतिक रुपमा एजेन्डाले जितेका र ब्यक्तिगत रुपमा हारेका ब्यक्ति हुन् । अहिलेको शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र स्थापना जस्ता मुद्दा डा. भट्टराई कै हुन् । तत्कालिन माओवादीको चर्चित हापुरे बैठकमा डा. भट्टराईले नै राजनीतिक दलहरुसँग मिलेर राजतन्त्र विरुद्ध एकताबद्ध हुनुपर्ने प्रश्ताव राखेका थिए । त्यसपछि नै माओवादी आजको अवस्थासम्म आइपुगेको हो । तर डा. भट्टराईकै एजेन्डाले जितेपनि उनी भने पार्टी नै छोडेर हिड्नुपर्ने अवस्थामा पुगे ।

यस्तै उनी अर्थमन्त्री बनेको समयमा पनि अर्थतन्त्रको एउटा पाटो उनले सफलतापूर्वक संचालन गरे । राजस्व संकलनमा उनले ऐतिहासिक उपलब्धी हासिल गरे । तर जनतावाट राजस्व उठाएर सरकारी ढुकुटीमा थुपारे पनि सो रकमलाई पुन जनताकै हितमा खर्च गर्ने कार्य भने उनी पनि चुके । हो, बजेट खर्च गर्ने कार्यमा अर्थमन्त्रीको मात्रैको भूमिकाले सम्भव छैन । तर पहल र समन्वय अर्थमन्त्रीले नै गर्नुपर्ने हो । आफ्नै पार्टीका अध्यक्षले सरकारको नेतृत्व लिएको अवस्थामा डा. भट्टराईले यो कुराको दोष अरुलाई थोपर्न पाउदैनन् । उनी प्रधानमन्त्री बनेको समयमा पनि काठमाडौं उपत्यका विस्तार गरेर उनले दुरगामी र सकारात्मक काम गरेका थिए ।

तर त्यसैको उपजस्वरुप २०७० को संविधानसभा निर्वाचनमा उनको पार्टीले उपत्यकामा एक सिट पनि जितेन । उनकी श्रीमती तथा तत्कालिन एनेकपा माओवादी नेतृत्व हिसिला यमीको समेत जमानत जफत हुने अवस्था आयो । यहाँनेर पनि भट्टराईको एजेन्डाले जित्यो तर उनी र उनको पार्टीले चुनाब हार्यो । अब उनी र उनको पार्टी नयाँ शक्तिले जिते वा हारेपनि देशको राजनीतिक एजेन्डा नै परिवर्तन हुने भएको छ । अबका सवै राजनीतिक दलको प्रमुख एजेन्डा आर्थिक विकास हुने देखिएको छ । राजनीतिक एजेन्डामा जित्दै आएका डा. भट्टराईले यो विषयमा फेरि पनि जितेका छन् । अबको निश्चित एउटा कुरा के हो भने परम्परागत कम्युनिष्ट दल र प्रतिपक्षमा बस्नको लागि मात्रे बन्ने राजनीतिक दलको भविष्य छैन । बाबुराम भट्टराईको नयाँ शक्तिले जितेपनि वा हारे पनि अव सवै राजनीतिक दलको मुख्य मुद्दा भनेको आर्थिक विकास र समृद्धि हुने देखिएको छ ।

Share News