५ महिनामा ५ गुणा बढ्यो वोमी माइक्रोफाइनान्सको सेयर, नयाँ लगानीकर्ता उच्च जोखिम लिदै

<p>काठमाडौं, २४ जेठ । ११ महिनाअघि १० हजार रुपैयाँ लगानी गरेर वोमी फाइक्रोफाइनान्स वित्तीय संस्थाको १०० कित्ता सेयर किन्ने लगानीकर्ता यतिबेला २ लाख ८५ हजार रुपैयाँको मालिक बनिसक्यो । उसको पुँजी २ हजार ८४८ प्रतिशतले वृद्धि भईसक्यो । गत पुस ६ गते प्रतिकित्ता ३९९ रुपैयाँमा कारोबार भएको यस फाइनान्सको सेयर जेठ २४ गते प्रतिकित्ता २३७४ [&hellip;]</p>

काठमाडौं, २४ जेठ । ११ महिनाअघि १० हजार रुपैयाँ लगानी गरेर वोमी फाइक्रोफाइनान्स वित्तीय संस्थाको १०० कित्ता सेयर किन्ने लगानीकर्ता यतिबेला २ लाख ८५ हजार रुपैयाँको मालिक बनिसक्यो । उसको पुँजी २ हजार ८४८ प्रतिशतले वृद्धि भईसक्यो । गत पुस ६ गते प्रतिकित्ता ३९९ रुपैयाँमा कारोबार भएको यस फाइनान्सको सेयर जेठ २४ गते प्रतिकित्ता २३७४ रुपैयाँमा कारोबार भयो । ५ महिनाअघि दोस्रो बजारमा सेयर किन्नेले यतिबेला बेच्दा ५०० प्रतिशत फाइदा हुन्छ । सोमबार मात्र यस कम्पनीको सेयर प्रतिकित्ता २१५ रुपैयाँले बढ्यो र सबैभन्दा बढी कमाउने संस्थामा पर्यो । तर यतिबेला यो माइक्रोफाइनान्सको सेयर किन्नेले उच्च जोखिम मोलिरहेका छन् ।

bikashnews.com

वोमीको सेयर मूल्यले नविल बैंकलाई पछाडि पारेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भन्दा दोब्बर बढी छ र नेपाल टेलिकमको भन्दा चार गुणा बढी छ । वोमी फाइक्रोफाइनान्स वित्तीय बजारमा ख्याती कमाएको संस्था होइन । यसको इतिहास लामो पनि छैन । स्थापना भएको ४ वर्ष पुरा भयो । सर्वसाधारणलाई सेयर निश्काशन गरेको १ वर्ष पनि पुरा भएको छैन । सेयर पुँजी जम्मा ३ करोड ६० लाख रुपैयाँ छ । ५१ प्रतिशत प्रवद्र्धक सेयर छ, ४९ प्रतिशत सर्वसाधारणको लगानी छ ।

यो वित्तीय संस्थाको वित्तीय अवस्था मध्यम खालको छ, उत्कृष्ट छैन । चैत मसान्तसम्ममा १ करोड २८ लाख नाफा छ । असार मसान्तसम्ममा १ करोड ५० लाख कमाउन सक्छ । चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बढीमा ३० प्रतिशतसम्म बोनस दिन सक्छ । गत वर्ष २० प्रतिशत बोनस सेयर दिएको थियो ।

कम्पनीको व्यापार धेरै ठूलो छैन । ११ करोड रुपैयाँ निक्षेप छ । ३८ करोड रुपैयाँ कर्जा लगानी छ । चैत मसान्तसम्ममा जगेडा कोष २ करोड १२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४० रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति १ हजार २२४ रुपैयाँ छ ।

सेयर पुँजी थोरै भएको, नाफा राम्रो भएको र बोनस सेयर कै सम्भावना देखेर लगानीकर्ताले यसमा लगानी गरिरहेका छन् । १० जिल्ला कार्यक्षेत्र भएकोले माइक्रोफाइनान्सले धेरै नै पुँजी बढाउनु पर्ने अनुमान, नाफा भएकोले बोनस सेयर दिन हैसियत देखेर लगानीकर्ता जोसिएर लगानी गरेका छन् ।

तर जोखिमहरु छन् । ठूला माछाले सानो माछा खाए झै पुँजीवादी बजारमा ठूलो पुँजी भएको संस्थाले सानो पुँजी भएका संस्थालाई राम्रै धक्का दिएका छन् । फाइक्रोफाइनान्स वा सहकारीले शाखा खोलेर थोरै आर्थिक कारोबार बृद्धि गरेपछि वाणिज्य बैंकले शाखा खोल्ने र त्यहाँ रहेको विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, सहकारीका राम्रा ग्राहक तानेर आफ्ना ग्राहक बनाउने वित्तीय बजारको प्रवृतिले कसैलाई छोड्ने छैन । दीर्घकालमा लघुवित्तको नाफा अहिलेकै हाराहारीमा रहिरहने सम्भावना छैन । साथै, सामुहिक जमानतमा जाने कर्जा सामाजिक रुपमा आउने विभिन्न खाले परिवर्तन र चिन्तनले जोखिममा धकिलिरहेको हुन्छ । सहकारी झै माइक्रोफाइनान्स पनि भाग्न थाले भने लगानीकर्ताको मुलधन पनि जोखिमा पर्नेछ ।

साथै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको व्यवस्थापन युवा नेतृत्वले समालेको छ । कमल ज्ञवालीको नेतृत्वमा किष्ट फाइनान्सले शुरुमा ठूलो फड्को मार्दै बाणिज्य बैंक बन्यो । प्रणालीगत विकास भएको संस्थामा कार्यअनुभव नभएका ज्ञवालीले संस्थालाई संस्थागत रुपमा चलाउन नसक्दा संकट पर्यो । दिपेन्द्र कार्कीको व्यवस्थापकिय नेतृत्वमा सिद्धार्थ डेभलपमेन्ट बैंक क्षेत्रीय स्तरबाट राष्ट्रिय स्तरमा आयो । त्यतिबेला बैंकको राम्रो क्रेज थियो तर दिगो भएन । यस्ता तथ्य लगानीकर्ताले भूल्नु हुन्न ।

Share News