काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्था राम्रो भएका बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद सेयर निश्कासन गर्नुपूर्व क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थामा छुट दिएको छ । विहीबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले नेपाल बैंकर्स संघ, विकास बैंकर्स संघ र वित्त कम्पनी संघको माग र नेपाल राष्ट्र बैंकको सिफारिसलाई सम्बोधन गर्दै हकप्रद सेयर निश्काशनको प्रक्रिया छोट्याउन उक्त निर्णय गरेको हो ।
राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा करिव ४ गुणा पुँजी वृद्धि गर्नु पर्ने गरी गत साउनमा मौद्रिक नीति ल्याएको थियो । राष्ट्र बैंकको उक्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने उदेश्यले वित्तीय अवस्था राम्रो भएका बैंक तथा वित्तीय संस्थाले क्रेडिट रेटिङ नगराउँदा पनि हकप्रद सेयर निश्काशन गर्न स्वीकृति दिने निर्णय भएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।
कम्पनीको नेटवर्थ पोजेटिभ भएको, खराव कर्जा ५ प्रतिशतभन्दा कम भएको, सम्वन्धित बैंक तथा वित्तीय संस्थाको सेयरको बजार मूल्य अंकित मूल्यभन्दा बढी बढी भएको, संचित नोक्सानमा नभएको, नियमित साधारणसभा भएको कम्पनीले क्रेडिट रेटिङ गराउनु पर्ने छैन । विहीबार भएको निर्णयको औपचारिक जानकारी आइतबार गराइने भएको छ ।
धितोपत्र बोर्ड यो निर्णयले हकप्रद सेयर निश्काशनको तयारीमा रहेका १०० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई राहात मिल्ने भएको छ । चालु आर्थिक वर्षभित्रमा नै १६ कम्पनीले हकप्रद निस्कासनको अनुमतिको लागि बोर्डमा निवेदन दिएका छन् । २३ वटा कम्पनीले भने हकप्रद सेयर निश्काशनको लागि अनुमति पाईसकेका छन् ।
धितोपत्र बोर्डले दिएको जानकारी अनुसार हकप्रद जारी गर्नको लागि अनुमति माग गर्ने विकास बैंकहरुमा सुबेच्छा विकास बैंक, सिन्धु विकास बैंक, पूर्णिमा विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, कसमस डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् ।
सुबेच्छा विकास बैंकले ३ बराबर १ कित्ताको दरले हकप्रद निस्कासनको अनुमतिको मागेको छ । सिन्धु विकास बैंकले १ बराबर १ कित्ता, पूर्णिमा विकास बैंकले २ बराबर १ कित्ता, माउन्ट मकालु डेभलमेन्ट बैंकले १ बराबर साढे १ कित्ता, मनास्लु विकास बैंकले २ बराबर १ कित्ता, कममस डेभलमेन्ट बैंकले १ बराबर १ कित्ताको दरले, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १ बराबर १ कित्ता र सहारा विकास बैंकले १ बराबर साढे १ कित्ताको दरले हकप्रद निस्कासन गर्ने अनुमति मागेका छन् ।
हकप्रद सेयर निस्कासनको लागि अनुमति माग्ने बाणिज्य बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा बैंक, मेगा बैंक र हिमालयन बैंक रहेका छन् । यीमध्ये सिटजन्स बैंकले १० बराबर साढे ५ कित्ताको दरले, सानिका बैंकले २ बराबर १ कित्ताको दरले, मेगा बैंकले ४ बराबर १ कित्ताको दरले र हिमालयन बैंकले ७ कित्ता बराबर १ कित्ताको दरले हकप्रद निस्कासन गर्ने अनुमति मागेका हुन् । उनीहरु क्रेडिट रेटिङ कम्पनीको रिर्पाट कुरेर बसेका थिए ।