काठमाडौं, ३० बैशाख । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूजी बढाउनै पर्ने भएपछि त्यस्ता कम्पनीहरुले हकप्रद सेयर निस्कासनलाई उच्च प्राथमिकतामा राखेका छन् । चालु आर्थिक बर्षभित्रमा नै २३ कम्पनीले हकप्रद निस्कासनको लागि धितोपत्र वोर्डवाट स्वीकृति लिइसकेका छन् भने थप १६ कम्पनीले हकप्रद निस्कासनको अनुमतिको लागि बोर्डमा निवेदन दिएका छन् ।
सुचिकृत कम्पनीहरुले सवै प्रकारका सेयर निस्कासनको लागि बोर्डको अनुमति आवश्यक पर्ने हुदा उनीहरुले अनुमति मागेका हुन् ।हकप्रद निस्कासनको अनुमति माग गर्ने सूचीकृत कम्पनीहरूमा ८ विकास बैंक, २ बिमा कम्पनी, २ जलविद्युत् कम्पनी र ४ वाणिज्य बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी कम्तीमा पनि अहिलेको भन्दा चार गुणाले बढाउनैपर्ने बाध्यकारी नियम आएकाले उनीहरूले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका हुन् । यस्तै, प्रस्तावित बिमा ऐनमा पनि जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा ४ अर्ब र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा पनि ३ अर्ब रुपैयाँ हुनैपर्ने व्यवस्था छ । सोही कारणले बिमा कम्पनीहरूले पनि हकप्रद सेयर निष्कासनलाई उच्च प्राथमिकतामा राखेर तयारी थालेका हुन् ।
धितोपत्र बोर्डले दिएको जानकारी अनुसार हकप्रद जारी गर्नको लागि अनुमति माग गर्ने विकास बैंकहरुमा सुबेच्छा विकास बैंक, सिन्धु विकास बैंक, पूर्णिमा विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, कसमस डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् ।
सुबेच्छा विकास बैंकले ३ बराबर १ कित्ताको दरले हकप्रद निस्कासनको अनुमतिको मागेको छ । सिन्धु विकास बैंकले १ बराबर १ कित्ता, पूर्णिमा विकास बैंकले २ बराबर १ कित्ता, माउन्ट मकालु डेभलमेन्ट बैंकले १ बराबर साढे १ कित्ता, मनास्लु विकास बैंकले २ बराबर १ कित्ता, कममस डेभलमेन्ट बैंकले १ बराबर १ कित्ताको दरले, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १ बराबर १ कित्ता र सहारा विकास बैंकले १ बराबर साढे १ कित्ताको दरले हकप्रद निस्कासन गर्ने अनुमति मागेका छन् ।
हकप्रद सेयर निस्कासनको लागि अनुमति माग्ने बाणिज्य बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा बैंक, मेगा बैंक र हिमालयन बैंक रहेका छन् । यीमध्ये सिटजन्स बैंकले १० बराबर साढे ५ कित्ताको दरले, सानिका बैंकले २ बराबर १ कित्ताको दरले, मेगा बैंकले ४ बराबर १ कित्ताको दरले र हिमालयन बैंकले ७ कित्ता बराबर १ कित्ताको दरले हकप्रद निस्कासन गर्ने अनुमति मागेका हुन् ।
हकप्रद निस्कासनको लागि अनुमति माग्ने बीमा कम्पनीहरुमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एनबी इन्स्योरेन्स कम्पनी रहेका छन् । यीमध्ये सूर्या लाइफले ४ कित्ता सेयर हुनेलाई १ कित्ता र एनबीले १० कित्ता सेयर हुनेले ८ कित्ता किन्न पाउने गरी हकप्रद निस्कासनको अनुमति मागेका छन् । जलविद्युत कम्पनीहरुमा रिडी हाइड्रोपावर डेभलमेन्ट कम्पनी र अपि पावर कम्पनी रहेका छन् । रिडीले १० कित्ता बराबर साढे ३ कित्ता र अपिले १ बराबर २ कित्ताको दरले हकप्रद निस्कासन गर्ने अनुमति मागेको छ ।
कुन कुन कम्पनीले पाइसके अनुमति ?
यस्तै चालु आर्थिक बर्षमा नै २३ कम्पनीले हकप्रद सेयर निस्कासनको अनुमति पाइसकेका छन् । यसरी अनुमति पाएका कम्पनीहरुमा नागबेली लघुवित्त विकास बैंकले ४ बराबर १ कित्ता, माछापुच्छ्रे बैंकले ५ बराबर १ कित्ता, गौमुखी विकास बैंकले २ बराबर ०.७५ कित्ता, मिसन डेभलपमेन्ट बैंकले २ बराबर १ कित्ता र कांक्रेविहार विकास बैंकले १ बराबर ०.५ कित्ताको अनुमति पाइसकेका छन् ।
यस्तै सेन्चुरी कमर्शियल बैंकले ४ बराबर १ कित्ता, काठमाडौं फाइनान्सले १ बराबर १ कित्ता, आइसिएफसी फाइनान्सले २ बराबर १ कित्ता, साना किसान विकास बैंकले २ बराबर १ कित्ता, कन्चन डेभलपमेन्ट बैंकले ४ बराबर १ कित्ता, एक्सल डेभलपमेन्ट बैंकले ४ बराबर १.०३ कित्ता, इन्नोभेसन डेभलमेन्ट बैंकले ३ बराबर २ कित्ता, सनराइज बैंकले २० बराबर ३ कित्ता र गण्डकी विकास बैंकले १० बराबर ३ कित्ता हकप्रद सेयर निस्कासनको अनुमति पाइसकेका छन् ।
धितोपत्र वोर्डले दिएको जानकारी अनुसार प्रभु बैंकले १० बराबर १ कित्ता, सुवेच्छा विकास बैंकले ३ बराबर १ कित्ता, सिर्जना फाइनान्सले २ बराबर १ कित्ता, साग्रिला डेभलपमेन्ट बैंकले ४ बराबर १ कित्ता, तिनाहू विकास बैंकले ४ बराबर १ कित्ता, झिम्रुक विकास बैंकले १० बराबर १ कित्ता, कर्णाली डेभलपमेन्ट बैंकले २ बराबर १ कित्ता, नेपाल कम्युनिटी डेभलमेन्ट बैंकले १ बराबर १ कित्ता र एनआइसी एशिया बैंकले ४ बराबर १ कित्ता हकप्रद निस्कासनको पनि अनुमति पाइसकेको छ ।