काठमाडौं, २२ बैशाख । अबदेखि हकप्रद सेयर विक्री खुल्ला गरेको सुचना ब्यापक बनाउनु पर्ने भएको छ । सवै सेयरधनीले हकप्रद विक्री खुल्ला भएको जानकारी नपाएको गुनासो गरेपछि बोर्डले राष्ट्रियस्तरका दैनिक पत्रिका, आर्थिक समाचार मात्रै प्रकाशित गरिरहेका दैनिक पत्रिका, अनलाइन संचार माध्यम र एफएम रेडियोहरुवाट समेत यस्तो सुचना प्रकाशित गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ ।
बोर्डले मंगलवार निस्कासन तथा विक्री प्रबन्धकहरुलाई यस्तो निर्देशन दिएको हो । हकप्रद शेयरको निष्काशन सम्बन्धी सूचना तथा जानकारीहरु समयमै प्राप्त गर्न नसकी हकप्रद शेयर आवेदन गर्नबाट सर्वसाधारण लगानीकर्ताहरु बञ्चित भएको गुनासाहरु काठमाण्डौ तथा वाहिरवाट समेत व्यापक रुपमा आएकोले यस्तो ब्यवस्था गर्न निर्देशन दिएको बोर्डको भनाइ छ ।
नयाँ ब्यवस्था अनुसार हालको व्यवस्था अनुसारको सूचनाको अतिरिक्त अति संक्षेपमा हकप्रद शेयरको निष्काशन खुल्ला तथा निष्काशन बन्द हुने मिति, निष्काशनकर्ता कम्पनी र निष्काशन तथा विक्री प्रबन्धककोे नाम, हकप्रद शेयरको अनुपात आदि समावेश गरिएको सूचना प्रकाशित गर्न बोर्डले भनेको छ ।
सो अनुसार निष्काशन खुल्ला भएको पहिलो हप्तामा कम्तिमा २ वटा प्रमुख राष्ट्रिय स्तरको पत्रिकामा, निष्काशन खुल्ला भएका दोस्रो हप्तामा कम्तिमा १ वटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा, निष्काशन खुल्ला भएका तेस्रो हप्तामा कम्तिमा २ वटा प्रमुख अनलाईन पत्रिकामा र निष्काशन खुल्ल भएका चौथो हप्तामा कम्तिमा २ वटा प्रमुख एफएम रेडियोमा यस्तो सुचना दिनुपर्ने भएको छ ।
यस्तै हकप्रद शेयर बाँकी रही बोलकबोलबाट विक्री गर्ने सूचना प्रायजसो ७ दिन अगाडि मात्र सूचना प्रकाशित भईरहेको परिप्रेक्ष्यमा सो सूचना कम्तीमा पनि विक्री खुल्ला हुनु भन्दा १५ दिन अगाडि कुनै दुईवटा प्रमुख राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्नु पर्ने र सो सम्बन्धी छोटो विवरण (विक्री गर्न लागिएको शेयर संख्या, न्यूनतम मूल्य, कम्पनीको नाम र विस्तृत विवरण प्रकाशित गरिएको पत्रिकाको नाम तथा प्रकाशित मिति आदि) समावेश भएको सूचना प्रकाशित गर्नु पर्ने र सो सूचना निष्काशन तथा विक्री प्रबन्धक र सम्बन्धित कम्पनीको वेभसाइमा समेत राख्नुपर्ने बोर्डको भनाइ छ । साथै सूचना प्रकाशन गर्नु २ दिन अगाडि सो को एकप्रति बोर्डको वेभसाइटमा राख्ने प्रयोजनको लागि उपलब्ध गराउनुपर्ने व्यवस्था गर्ने भनिएको छ ।
यस्तो सुचना विक्री खुल्ला हुनु भन्दा ७ दिन अगाडि नै कम्तिमा २ वटा प्रमुख अनलाईन पत्रिकामा, विक्री खुल्ला हुनु भन्दा ५ दिन अगाडि कम्तिमा २ वटा प्रमुख एफएम रेडियामा र विक्री खुल्ला हुनु भन्दा ३ दिन अगाडि कम्तिमा २ वटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा यस्तो सुचना प्रकाशित गर्न बोर्डले भनेको छ ।