नेपाली अर्थतन्त्रको लाइफ लाइन बनेको रेमिटान्स आय संकटतर्फ

<p>काठमाडौं, २१ बैशाख । नेपालको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाइ अंश ओगटेको रेमिटान्स आय संकटमा पर्न थालेको छ । बैदेशिक रोजगारीमा जाने कामदारको संख्या कम हुदै गएको, नेपालीलाई बढी रोजगारी दिने मलेशिया र खाडी राष्ट्रहरुले कामदार कटौति गर्न थालेको र नयाँ र बढी पारिश्रमिक पाइने देशतर्फ रोजगारी खुल्ला हुन नसकेको जस्ता कारणले रेमिटान्स आय [&hellip;]</p>

काठमाडौं, २१ बैशाख । नेपालको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाइ अंश ओगटेको रेमिटान्स आय संकटमा पर्न थालेको छ । बैदेशिक रोजगारीमा जाने कामदारको संख्या कम हुदै गएको, नेपालीलाई बढी रोजगारी दिने मलेशिया र खाडी राष्ट्रहरुले कामदार कटौति गर्न थालेको र नयाँ र बढी पारिश्रमिक पाइने देशतर्फ रोजगारी खुल्ला हुन नसकेको जस्ता कारणले रेमिटान्स आय संकटमा पर्न थालेको हो ।

बैदेशिक रोजगार विभागले विदेशमा काम गर्न जाने नेपालीको संख्या कम हुदै गएको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको गत फागुन मसान्तसम्ममा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रुपमा घटेको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्ममा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो बर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले घटेपछि रेमिटान्स आय संकटमा पर्न सक्ने चिन्ता गर्न लागिएको हो ।

चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कम भएपनि आम्दानी भने बढ्दो क्रममा नै देखिएको छ । सो अवधिसम्ममा रेमिटान्स आय नेपाली रुपैयाँमा १५ दशमलब २ प्रतिशतले बढेको छ । तर अमेरिकी डलरमै हेर्दा भने यस्तो आम्दानी ७ दशमलब २ प्रतिशतको नगन्य अंकले मात्रै बढेको छ ।

बैदेशिक रोजगारीमा जानेको संख्या कम हुन थालेपछि रेमिटान्स आय संकटमा पर्ने प्रष्ट संकेत देखिएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । यही अवस्था कायम रहे रेमिटान्स आयको अवस्था निकै दयनीय हुने उनको भनाइ ।

कामदारको संख्या कम हुदा पनि रेमिटान्स आय बढ्नुको पछाडि विषेश गरेर ४ कारण रहेको थापाले बताए । मलेशिया लगायतका देशवाट कामदार फिर्ता हुने क्रम बढेसँगै उनीहरुसँग बचेखुचेको रकम आएको, गत बर्षको विनासकारी भूकम्प पछि केही खाडी राष्ट्रहरुले नेपालमा पैसा पठाउदा शुल्क नलाग्ने ब्यवस्था गरेको, खाडी राष्ट्रहरुको विनिमयदर नेपाली मुद्रासँग थप बलियो हुदा विनिमय अन्तरको कारण धेरै देखिएको र नेपालमा आपत विपद् परेको छ भनेर विदेशमा बस्ने नेपालीले खर्च कटौति गर्दै बढी रकम नेपाल पठाएको कारणले मात्रै रेमिटान्स आय बढेको थापाको भनाइ छ ।

गत बर्ष बैदेशिक रोजगारीको लागि करिब ५ लाख नेपाली गएका थिए । यस बर्ष यस्तो संख्या ४ लाखको हाराहारीमा हुने देखिएको राष्ट्र बैंकको अनुसन्धान विभ(ागको ठम्याइ छ । विश्वब्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य कम हुदा खाडी देशहरुले कामदार कटौति गरी मितब्ययी बजेटको अवधारणा ल्याएको कारण नेपालीको बढी रोजगारी रहेको क्षेत्रमा समस्या देखिन थालेको थापाले बताए ।

श्रम विज्ञ डा. गणेश गुरुङले पनि रेमिटान्स आय संकटमा पर्ने संकेत देखिएको बताए । यस्तो संकट देखिनुको कारण मलेशिया र खाडी राष्ट्रहरुमा देखापरेको समस्या नै हो भन्ने उनको पनि यकिन छ ।

डा. गुरुङले केही खाडी देशहरु राजनीतिक मुद्दामा बढी केन्द्रीत भएको र केही देशहरुमा आर्थिक कारणले गर्दा कामदार कटौति गरिरहेकोले नेपाली अर्थतन्त्र संकटमा पर्न सक्ने बताए छ । यस्तै नेपाल भित्रकै फ्रि भिसा, फ्रि टिकटको विषयले समस्या ल्याउनु र बैदेशिक रोजगार ब्यवसायीले कामदार पठाउन नमान्नुले पनि समस्या थप जटिल बनेको उनको ठहर छ ।

कामदार संख्या कम भएको अबस्थामा रेमिटान्स आय बृद्धि हुन नसक्ने उनको भनाइ छ । यस्तो अवस्थामा पनि रेमिटान्स आय बढेको पाइनुका पछाडि केही खास कारण भएको उनले बताए ।

डा. गुरुङका अनुसार अमेरिकी डलरको विनिमय दर बढेको, मनी ट्रान्स्फर कम्पनीको संजाल बृद्धि हुदा औपचारिक च्यानलबाट आएको पैसा बढी देखिने गरेको, अस्ट्रेलिया, कोरिया, जापान, भारत जस्ता देशहरुवाट औपचारिक माध्यमवाट रेमिटान्स आउन थालेको जस्ता कारणले मात्रै रेमिटान्स आय बढेको देखिएको उनले बताए । तर वास्तविक अर्थमा रेमिटान्स आय घट्दै गएको र त्यसले नेपाली अर्थतन्त्रमा दुरगामी नकारात्मक असर पुर्याउने डा. गुरुङको भनाइ छ ।

Share News