काठमाडौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्यूनिकेसनले मंगलबार आफ्नो २५औं वार्षिक उत्सव मनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भर्चुअल कार्यक्रम मार्फत वार्षिक उत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा वर्ल्डलिंकले इन्टरनेट चलाउने प्रत्येक ३ जनामध्ये १ जना आफ्ना उपभोक्ता रहेको दाबी गरेको छ । कम्पनीको यो दाबी अनुसार उसको बजार हिस्सा एक तिहाई भएको देखिन्छ ।
कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार विकट ठाउँमा इन्टरनेट सेवा विस्तारको लागि वर्ल्डलिंकले देखाएको सक्रियता राम्रो भएको बताए ।
‘कर्णालीको टेण्डर आफ्नो नाममा पारेसँगै त्यही किसिमको सक्रियता समेत वर्ल्डलिंकले देखाएको छ, यो प्राधिकरणका लागि गौरब गर्न लायक विषय हो, सार्वजनिक स्थानहरुमा फ्रि वाइफाइ राख्ने वर्ल्डलिंकको योजना राम्रो हो, सीसीसीमार्फत बेलायतको सीसीसी भित्र्याएर विदेशी लगानी समेत जुटाएको वर्ल्डलिंकले धेरै नै राम्रो काम गरेको छ,’ प्राधिकरणका अध्यक्ष खनालले भने ।
कम्पनीका अध्यक्ष दिलिप अग्रवालका अनुसार एउटा बच्चा हुर्काएर २५ वर्ष पुर्याउन केही कठिनाई व्यहोरे जस्तै यो संस्था हुर्काउन पनि केही उत्तरचढावको सामना गर्नुपरेको छ ।
‘हामीले केही उत्तर चढावका बावजुत २५ वर्षसम्ममा ७३ जिल्लामा इन्टरनेट पुर्याउन सफल भयौं, प्रत्येक ३ व्यक्तिमध्ये १ जनाले हाम्रो सेवा चलाउने तथ्यांकले पनि देखाएको छ, विकट ठाउँमा पनि सेवा प्रदान गरिरहेका छौं, धेरैलाई रोजगारी दिन सफल भएका छौं,’ अध्यक्ष अग्रवालले भने ।
कम्पनीका प्रमुख कार्यकारी (सिइओ) केशव नेपालले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनको समयमा इन्टरनेटको प्रयोग अत्याधिक मात्रामा वृद्धी भएको बताए ।
‘वर्क फ्रम होम, अनलाईन क्लास, जुम मिटिङ, टिकटक प्रयोग जस्ता कारणले लकडाउन पछि इन्टरनेटको खपत धेरै बढेको छ, यसले नेटवर्क तथा डाटा सेन्टरमा चाप पनि बढेको छ, प्रयोग अत्याधिक बढेका कारण केही समस्या पनि आयो, अन्तराष्ट्रिय उडान रोकिएका कारण पूर्वाधार स्तरोन्नतिमा आवश्यक सामान पनि ल्याउन पाइएको थिएन, अब उडान सहज भएसँगै उपकरण ल्याएर यस्ता समस्यामा कमी आउन थालेको छ,’ सिईओ नेपालले भने ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुनले वल्र्ड लिंकसँग आफूले सहकार्य गरेको १६ वर्ष पूरा भएको जानकारी दिए ।
‘मैले वल्र्डलिंकसँग सहकार्य गरेको १६ वर्ष पूरा भयो, वल्र्डलिंकले २५ औं वार्षिक उत्सव मनाइरहको छ, आगामी दिनमा सेवा बिस्तारमा कम्पनी अझ अघि बढोस् भन्ने शुभकामना छ’, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले भने ।
वरिष्ठ अधिवक्ता सत्तिस खरेलले अहिले इन्टरनेट प्रयोगले जीवनशैलीमै परिवर्तन आएको धारणा राखे ।
‘मैले एउटा कलेजमा पढाउँथे, त्यो बेलामा वकालतको सानोतिनो काम समेत गर्थे, तर मलाई इमेल चलाउन मनलाग्दा अलिकति हैसियत पुगेन कि समेत भन्ने अवस्था थियो, तर अहिले यो कुरा पत्याउन गाह्रो लाग्ला, म वल्र्ड लिंकको पुरानो १७औं नम्बरमा पर्ने ग्राहक पनि हूँ,’ वरिष्ठ अधिवक्ता खरेलले भने ।
मानस सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उक्त आश्रममा विभिन्न शाखामा वर्ल्डलिंकले निःशुल्क वाइफाइ सेवा वितरण गरिरहेको छ ।
‘अहिले हाम्रो २० वटा शाखा रहेका छन्, सोमध्ये वर्ल्डलिंकले आश्रमको १४ औं शाखा स्थापनामा ठूलो योगदान पुर्र्याएको छ, अहिले आश्रममा ११ सय मानिसहरुले सहारा लिने अवसर पाएका छन्,’ अध्यक्ष अधिकारीले भने ।
कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, कम्पनीका अध्यक्ष दिलिप अग्रवाल, प्रमुख कार्यकारी अधिकृत (सिईओ) केशव नेपाल, बोर्ड अफ डाइरेक्टर विजय जलान उपस्थित थिए । यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी तथा वरिष्ठ अधिवक्ता सतिश खरेलसमेतको सहभागिता थियो ।