काठमाडौं, २३ चैत । सोमबारदेखि विश्वका राजनीतिज्ञ तथा तिनका आफन्तहरुले कमाएको रकम ब्रिटिस भर्जिन आईल्याण्डमा राखेका समाचारले महत्व पायो । त्यसमा विश्वका शक्तिशाली पुर्व शासक देखि वर्तमान शासक समेत मुछिएका छन् । चिनियाँ राष्ट्रपति सि जिन पिङ देखि रसियाली राष्ट्रपतिका आफन्त समेत यसमा जोडिएका छन् । त्यसो त एक दर्जन भन्दा बढि मुलुकका वर्तमान शासककै नाम समेत यसमा जोडिएका छ ।
अर्जेण्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रि यसमा जोडिएका छन् । आइसल्याण्डका प्रधानमन्त्री सिनमण्डर डेभिओ गनलाग्सन पनि यो काण्डमा मुछिएका छन् । अयाद अलावी, इराकका अन्तरिम प्रधानमन्त्री तथा पुर्व उपराष्ट्रपति पनि यसमा सामेल देखिएका छन् ।
सन २०१२ देखि १३ सम्म जर्जियाको प्रधानमन्त्री बनेका अरब पति बिज्दीना इभानिश्भीली पनि कालोधन जम्मा गरेर लुकाउनेमा समावेश छन् । सन २००० देखि २००३ सम्म जोर्डनको प्रधानमन्त्री रहेका अलि अबु अल राघेव पनि यहि काण्डमा मुछिएका छन् । उनलाई जोर्डनको आर्थिक पुनस्थापनामा ठुलो योदान गरेका व्यक्तिको रुपमा चिनिन्थ्यो ।
सन २००७ देखि २०१३ सम्म कतारको प्रधानमन्त्री बनेका हमद बिन जाबेर अल थानी पनि कालो धन बटुलेर विदेशमा थुपार्नेहरुकै सूचिमा परे । उनले प्रधानमन्त्रीका अवला विदेश मन्त्री र कतार इन्भेष्टमेन्ट प्राधिकरणको समेत जिम्मेवारी सम्हालेका थिए ।
सन १९९५ देखि २०१४ सम्म कतारमा सैन्य शासन गरेका सेख हमद बिन खालिफा अल थानीलाई कतारको आर्थिक समृद्धिका लागि भूमिका खेल्ने शासक मानिन्थ्यो तर उनी पनि कालोधन विदेश पठाउनेहरुको सूचिबाट टाढा रहन सकेनन् ।
साउदी अरबका वर्तमान राजा सलमान बिन अब्दुलाजिज बिन अब्दुलरहमान अल साउदले मुलुकको उप प्रधानमन्त्री तथा रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका थिए । अकुत सम्पति कमाउनेहरुको सूचिमा उनी पनि समावेश छन् ।
सुडानका जन निर्वाचित राष्ट्रपति अहमद अलि अल मिर्घानीले १९८६ देखि १९८९ सम्म शासन गरे । १९८९ मा सैन्य विद्रोहद्धारा पदच्युत गरिएका उनको २००८ मा निधन भैसकेको छ । उनी पनि भर्जिन आइल्याण्डमा पैसा थुपार्नेहरुमै पर्छन । सेख खालिफा बिन जायेद अल नायेनले संयुक्त अरब इमिरेट्स(युएई)मा शासन गरिरहेका छन् ।
युएईको तेलमा आधारित अर्थतन्त्रलाई बिबिधिकरण गर्ने शासकका रुपमा स्थापित उनी पनि कालोधन काण्डबाट भने बच्न सकेनन् ।
संसारकै सबै भन्दा अग्लो बुर्ज खालिफा टावर उनैले निर्माण गराएका हुन् । १९९६ देखि १९९७ सम्म एक बर्ष युक्रेनको प्रधानमन्त्री बनेका पाल्भो लाजारेन्कोले त्यस अघि उप प्रधानमन्त्री तथा उर्जा मन्त्रीको भूमिक निर्वाह गरिसकेका थिए । उनी सम्पति सुद्धिकरणमा केहि बर्ष थुनामा समेत परिसकेका छन र यसपाली भर्जिन आइल्याण्ड काण्डमा फसेका छन् ।
