काठमाडौं, १९ चैत । २०७३ सालको बैशाख १ गते पनि नयाँ क्लियरिङ बैंक नआउने भएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा तीन वटा पुर्याउन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । तर नेप्सेले एक हप्ता मात्रै समय बाँकी रहँदा पनि नयाँ क्लियरिङ बैंक स्थापना सम्बन्धी कुनै गृहकार्य गरेको छैन् । क्लियरिङ बैंक थप्ने प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्नकोे जवाफमा नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने–सञ्चालक समितिमा छलफल भैरहेको छ ।’
कति प्रतिशत काम सकियो ? भन्ने प्रश्न सोध्दा उनले भने–यसबारेमा थप केहि नभनौं, सञ्चालक समितिमा छलफल भैरहेको छ, अहिल्यै केहि भन्ने अवस्था छैन् ।’ बोर्डको निर्देशन अनुसार बैशाख १ गतेबाट क्लियरिङ बैंकको संख्या न्युनतम ३ पुग्छ त ? भन्ने विकासन्युजको जिज्ञासामा महाप्रबन्धक थपलियाको जवाफ थियो–सञ्चालक समितिमा छलफलमै रहेको बिषयमा थप केहि भन्न सकिन्न । अहिलेसम्म छलफल मात्रै भैरहेको छ भनेर बुझ्दा हुन्छ ।’
नेप्सेले नयाँ क्लियरिङ बैंक स्थापना सम्बन्धी ठोस प्रक्रिया अघि नबढाएको देखिन्छ । यसले गर्दा आगामी बैशाख १ गते देखि क्लियरिङ बैंकको संख्या न्युनतम ३ वटा पुर्याउने बोर्डको योजना असफल हुने निश्चित छ ।
तर बोर्डको प्रवक्ता निरज गीरीले भने तोकिएको समयमा क्लियरिङ बैंकको संख्या नथपिए नेप्सेलाई कारवाही गर्ने बताए ।‘नेप्सेसँग पटक पटक छलफल गरेका थियौं, उहाँहरुले मागेजति समय पनि दिएका थियौं, यो रेवत बहादुर कार्की व्यक्तिको निर्देशन होइन, बोर्डको निर्देशन नमान्नेलाई कारवाही हुन्छ ।’ धितो पत्र बोर्डका प्रवक्ता गिरीले भने । कस्तो कारवाही हुने भन्नेबारे भने अहिले नै केहि भन्न नसकिने उनले स्पष्ट पारे ।
धितो पत्र बोर्डले माघ १३ गते नेप्सेलाई पत्र लेखेर बैशाख १ गतेभित्र क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकका रुपमा काम गरिरहेको छ । यसले सेवा प्रवाहमा ढिलासुस्ती भएको भन्दै बोर्डले संख्या थप्न भनेको थियो ।
