काठमाडौँ, ४ चैत । सरकारले नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न नपाउने व्यवस्था गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विराट पेट्रोलियमलाई इन्धन बिक्री पनि रोक लगाएको छ । यसअघि विहीबार नै व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई इन्धन बिक्री बन्द गर्न निर्देशन दिएको थियो ।
नेपाल आयल निगमले प्रतिलि रु ९९ मा पेट्रोल बिक्री गर्दै आए पनि ‘युरो ४’ मापदण्डको पेट्रोल भन्दै विराटले रु १३३ मा बिक्री गरेको थियो । गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विराट लगायत तीन दर्जनभन्दा भन्दा बढी निजी व्यापारिक संस्थालाई इन्धन आयात र बिक्री गर्न इजाजत दिएको थियो ।
देशको स्थिति सामान्य बन्दै गएकोले निगम वाहेक अरु कुनै पनि निकायलाई इन्धन आपूर्तिको जिम्मेवारी नदिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले बताए ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री राईले बताए ।