काठमाडौं, १६ फागुन । नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई सेयर खरिद बिक्री गर्ने कारोबार गर्ने अनुमति माग गर्दै नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्यो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले बैंकहरुलाई पनि सेयर ब्रोकरको काम गर्ने लाईसेन्स दिन सकिने बताए लगात्तै बैकर्स संघले राष्ट्र बैंकसँग अनुमति माग्यो ।
सो विषयमा समाचारहरु प्रकाशित भएपछि ब्रोकर कम्पनीका सञ्चालकहरुले धितोपत्र बोर्डको नेतृत्वको आलोचना गर्यो । ब्रोकर लाईसेन्स बैंकलाई दिनु गलत हुने तर्क अघि सारे ।

धितोपत्र बोर्डले ब्रोकर्स कम्पनीहरुलाई सेयर कर्जा अधिकार दिने आसयसहित सुझाव प्रस्ताव माग गरेको छ-अञ्जनराज पौडेल
तर ब्रोकर कम्पनीहरुका सञ्चालकहरुको विरोधको आवाज अहिले बन्द भएको छ । त्यसको कारण हो नेपाल धितोपत्र बोर्डले नेपाल ब्रोकर्स एसोसिएसनलाई आकर्षक प्रस्तावसहित छलफलमा बोलाउनु । एसोसिएसनको पूर्व अध्यक्ष अन्जनराज पौडेलका अनुसार धितोपत्र बोर्डले ब्रोकर्स कम्पनीहरुलाई सेयर कर्जा (मार्जिन ल्याण्डिङ) अधिकार दिने आसयसहित सुझाव प्रस्ताव माग गरेको छ । बोर्डको सो पत्रपछि ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङ दिने विषयमा विभिन्न पक्षबीच चलफल चलिरहेको छ । ब्रोकर कम्पनीहरुले तत्काल मार्जिन ल्याण्डिङको सुविधा पाउने हो भने बैंकलाई सेयर किनबेच अधिकार दिँदा स्वीकार्य हुने संकेत दिएका छन् ।
पुँजी बजारको लगानीकर्तालाई आवश्यक ल्याण्डिङ, डीपी, पोर्टफोलियो म्यानेजमेन्ट, कन्सल्टेन्सी लगायत सेवा दिन दिने अधिकार ब्रोकर कम्पनीलाई दिने हो भने ब्रोकर कम्पनीहरुको विजनेश पनि बढ्ने, बजारमा प्रतिस्प्रर्धा पनि हुने, लगानीकर्ताले तुलनात्मक बढी लाभ दिने कम्पनीसँग सेवा लिन सक्ने र बजार विकासमा सहयोग नै पुग्ने पौडेल बताउँछन् । त्यस्तो अवस्थामा बैंकहरुलाई ब्रोकरको काम गर्न अधिकार दिदैमा ब्रोकर कम्पनीहरुलाई ठूलो असर नपर्ने पनि उनले बताए । ‘बैकहरुको कोर विजनेश र ब्रोकरहरुको कोर बिजनेश फरक हुन्छ । प्रतिस्पर्धा बढ्दै जाँदा सबैले आफ्नो कोर बिजनेशलाई नै जोड दिन्छन् । त्यो अवस्थामा धितोपत्रका लगानीकर्ता बेटर सर्भिसको लागि ब्रोकर कम्पनीमा नै आउनेछन्’ पौडेलले भने ।
ब्रोकर कम्पनीहरुले मार्जिन ल्याण्डिङ, डीपी, पोर्टफोलियो म्यानेजमेन्ट, कन्सल्टेन्सी लगायत सुविधाको माग गर्दै आएको छ । त्यसमध्ये पहिलो चरणमा मार्जिन ल्याण्डिङ सुविधाबारे छलफल चलेको पौडेलले बताए ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीका अनुसार बोर्डले ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङ सुविधा दिनेबारे अध्ययन गरिरहेको छ । ब्रोकर कम्पनीको पुँजी, पूर्वाधार अवस्था, बैंकसँगको अन्तर कारोबार, मार्जिन ल्याण्डिङका सीमा, जोखिम लगायत विषयमा बोर्डले अध्ययन र परामर्श गरिरहेको छ ।
ब्रोकर कम्पनीहरुले मार्जिन ल्याण्डिङको सुविधा पाउने हो भने लगानीकर्ताले सेयर किन्नु पूर्व नै ब्रोकर कम्पनीहरुबाट ८० प्रतिशतसम्म कर्जा पाउने छन् । हाल बैंकहरुले किनिसकेको सेयर धितो राखेर मात्र लगानीकर्तालाई नयाँ सेयर किन्न कर्जा दिदै आएका छन् । ब्रोकर मार्फत मार्जिन ल्याण्डिङ हुँदा कारोबार वृद्धिको साथै सरल पनि हुने पौडेल बताउँछन् । बैंकले तीन दिन लगाएर दिने कर्जा ब्रोकर कम्पनीले आधा दिनमा नै दिनसक्ने उनको भनाई छ ।
ब्रोकर कम्पनीहरुले सेयर पुँजी वृद्धि गरेर, रिर्जभ बढाएर वा बैंकसँग कर्जा लिएर मार्जिन ल्याण्डि कोष बनाउने छन् । सोही कोषबाट लगानीकर्तालाई करार गरी कर्जा दिने छन् । यस्तो कर्जा लिनको लागि अहिले कानुनी व्यवस्था नभए पनि बोर्ड र नेपाल राष्ट्र बैंकबीच समन्वयमा मार्जिन ल्याडिङ नीति ल्याउन सकिने जानकारहरु बताउँछन् ।
विगत दुई दशकमा बैंकहरुले सेयरमा गरेको कर्जा लगानी डुबेको रेकर्ड नै नभएकोले मार्जिन ल्याण्डिङमा गरिएको लगानीको जोखिम कम हुने पौडेलको भनाई छ ।
