काठमाडौं, १४ फागुन । सरकारले फागुन २० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले फागुन २० गते दोलखाको सिंगटी गाबिसबाट भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो ।
घर बनाउन सरकारले उपलब्ध गराउने दुई लाख अनुदानको पहिलो किस्ता वापत सो दिनदेखि ५० हजार वितरण गर्न लागिएको प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले बताए । ‘२० गते दोलखाको सिंगटीबाट ५० हजार वितरण सुरु हुन्छ, भूकम्प पीडित जनताले चेक मार्फत पहिलो किस्ताको रकम प्राप्त गर्छन’ प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने ।
प्राधिकरणले ६ वटा गाबिसमा एउटा श्रोत केन्द्र स्थापना गरेर पुननिर्माणको काम अघि बढाउने योजना बनाएको छ ।फागुन १२ गतेदेखि नै ५० हजार वितरण गर्ने भनिएपनि प्रधानमन्त्री र प्राधिकरणका सिईओको भारत भ्रमणका कारण ढिलाई भएको हो ।
प्राधिकरणले ५० हजार वितरण गर्न ३३ अर्ब रुपैंयाँ मागेको छ । सिंगटीको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लैजाने तयारी प्राधिकरणले गरिरहेको छ । सिंगटीबाट सुरु हुने ५० हजार वितरण योजना तत्कालै भूकम्प प्रभावित सबै जिल्लामा विस्तार गर्ने योजना प्राधिकरणले बनाएको छ ।