काठमाडौं, २९ मंसिर । सम्पति शुद्धीकरण अनुसन्धान विभागले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सी सञ्चालकहरुको सम्पति विवरण छानविन थालेको छ ।
कन्सल्टेन्सी सञ्चालकहरुको आम्दानी तथा रहनसहनमा अस्वभाविक परिवर्तन आएको देखिएपछि विभागले सम्पति छानविन प्रक्रिया अघि बढाएको हो ।
विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुका लागि परामर्श दाताको काम गर्दै आएका कन्सल्टेन्सी सञ्चाकहरुले मेनपावर कम्पनीकै शैलीमा काम गर्दै अकुत सम्पति कमाएको भन्दै विभागले छानविन सुरु गरेको श्रोतले बतायो ।
श्रोतका अनुसार विभागले नेपाल शैक्षिक परामर्श संघ(इक्यान)लाई पत्र लेखेर संघमा आवद्ध कन्सल्टेन्सीहरुको विवरण मागेको छ । हाल नेपालमा साना ठुला गरि दुई हजार भन्दा बढी कन्सल्टेन्सीहरु सञ्चालनमा रहेका छन् । तीमध्ये ठुलो मात्रामा विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीहरु इक्यानमा आवद्ध रहेका छन् ।
सम्पति शुद्धीकरण अनुसन्धान विभागले कन्सल्टेन्सीहरुको विवरण माग गरेको बारे प्रश्न गर्दा इक्यान अध्यक्ष राजेन्द्र बरालले आफुलाई औपचारिक जानकारी नभएको बताए । ‘औपचारिक पत्र हातमा परेको छैन’, बरालले भने । उता, सम्पति सुद्धिकरण विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने–‘धेरैलाई पत्र पठाईएको छ, अनुसन्धान भैरहेका बिषयहरुमा बोल्न मिल्दैन ।’ श्रोतका अनुसार विभागले अनुसन्धान अधिकृत नै तोकेर अत्यन्तै गोप्य ढंगले कन्सल्टेन्सीहरुको सम्पति विवरणको सुक्ष्म अध्ययन गरिरहेको छ ।
