कैलाली-१ मा ५० मुनिका १४ उम्मेदवारबीच प्रतिस्पर्धा
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको कैलाली–१ मा चुनावी सरगर्मी क्रमशः बढ्दै गएको छ । मतदातामा अझै खुला रूपमा चुनावी ज्वरो नदेखिए पनि उम्मेदवारहरू भने गाउँ-टोलदेखि बजारसम्म अभियानलाई तीव्र बनाइरहेका छन् । यसपटकको रोचक पक्ष के छ भने ५० भन्दा कम उमेरका १४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको विवरणअनुसार नेपाली कांग्रेसका जनक चौधरी ४९ वर्षका छन् । उनी क्षेत्रीय राजनीतिमा परिचित अनुहार हुन् । संगठन निर्माण र थारू समुदायसँगको सम्बन्धलाई आफ्नो बलियो आधार मान्ने चौधरीले विकास, रोजगारी र कृषिमा आधुनिकीकरणलाई प्रमुख एजेण्डा बनाएका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने ४७ वर्षका छन् । संगठनात्मक रूपमा बलियो संरचना र पार्टीको स्थायी मताधारमा टेकेर न्यौपाने घरदैलो अभियानमा सक्रिय छन् । एमालेले राष्ट्रिय मुद्दासँगै स्थानीय पूर्वाधार विकासलाई जोड दिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोमल ज्ञवाली पनि ४७ वर्षकी छन् । वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै उनी सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाउँदै युवा र शिक्षित मतदातामाझ प्रभाव बढाउने प्रयासमा छन् । यस प्रतिस्पर्धाका अर्का कान्छा उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लोकेन्द्र कुँवर ३६ वर्षका छन् । राजसंस्था र सनातन हिन्दू राष्ट्रको मुद्दासँगै स्थानीय विकास र पहिचानको एजेण्डा बोकेर उनी मैदानमा छन् । युवापुस्ताको प्रतिनिधित्व र स्पष्ट वैचारिक लाइनलाई आफ्नो पहिचान बनाएका कुँवर सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । यस क्षेत्रको चुनावी दौडमा रहेका कुल १८ उम्मेदवारमध्ये चौधरी, न्यौपाने, ज्ञवाली र कुँवर बाहेक अरू दश जना उम्मेदवार पनि ५० वर्षभन्दा तल्लो उमेर समूहका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सुनिता भण्डारी २५, श्रम संस्कृति पार्टीका विमलकुमार डगौरा ४०, नेकपा माओवादीका रामबहादुर विक ३५ र आम जनता पार्टीकी रुपा चौधरी ३६ पनि ४० भन्दा कम उमेरका उम्मेदवार हुन् । स्वतन्त्र उम्मेदवारहरू अरुण ठकुल्ला, तपेन्द्र शाह, नरेश रावल, राजेन्द्र बहादुर शाही र सत्यनारायण भट्टराई पनि सोही उमेर समूहका रहेका छन् । यस निर्वाचन क्षेत्रमा जम्मा ४ उम्मेदवार मात्रै ५० माथिका छन् । कैलाली–१ भौगोलिक रूपमा तराई क्षेत्र भए पनि यहाँ विविध जातीय र सामाजिक संरचना विध्यामान रहेको छ । थारू समुदायको उल्लेखनीय उपस्थिति, पहाडबाट बसाइँ सरेका परिवार, दलित तथा मधेसी समुदाय, मुस्लिम मतदाता र सुकुम्बासी बस्तीहरू यहाँको सामाजिक बनोट हो । नेकपा एमालेका जिल्ला कमिटी उपसचिव चुडामणि भट्टका अनुसार यहाँको चुनावी परिणाममा तीन मुख्य कारक निर्णायक मानिएका छन् । थारू समुदायको झुकाव, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको मुद्दा र युवा तथा पहिलो पटक मतदान गर्ने मतदाताको निर्णय निर्वाचन परिणाममा प्रभाव पार्ने मुख्य फ्याक्टर भएको भट्ट बताउँछन् । स्थानीय कमला ओझाका अनुसार थारू समुदाय परम्परागत रूपमा विभिन्न दलमा विभाजित भए पनि व्यक्तित्व र स्थानीय सम्बन्धका आधारमा मत सर्ने सम्भावना रहन्छ । कांग्रेस उम्मेदवार चौधरी थारू समुदायबाटै भएकाले उनलाई यस समूहबाट स्वाभाविक समर्थन मिल्ने आँकलन गर्न सकिने ओझाको मत रहेको छ । तर, एमाले र रास्वपाले पनि थारू युवामाझ सक्रियता बढाएका छन् । ओझाका अनुसार सुकुम्बासी र अव्यवस्थित बसोबासको सवाल पनि यस क्षेत्रको मुल मुद्दा हो । कैलाली–१ मा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको संख्या उल्लेखनीय छ । वर्षौंदेखि लालपूर्जा नपाएका परिवारहरू अहिले पनि कानुनी स्वामित्वको प्रतीक्षामा रहेकोले उनीहरूको मुद्दाले चुनावमा राम्रो प्रभाव पार्ने ओझाको दाबी छ । कांग्रेसले भूमिसम्बन्धी आयोगमार्फत प्रक्रिया अघि बढाउने प्रतिबद्धता दोहोर्याएको छ । एमालेले ओली सरकारको पालामा सुरु गरिएका पहलहरूलाई निरन्तरता दिने दाबी गरेको छ । रास्वपाले भने राजनीतिक हस्तक्षेपभन्दा कानुनी र पारदर्शी प्रक्रिया आवश्यक रहेको बताउँदै आएको छ । स्थानीय जानकारहरू भन्छन्, ‘सुकुम्बासी मत संगठित रूपमा एकतर्फी भयो भने परिणाममा ठूलो प्रभाव पर्न सक्छ ।’ कैलाली–१ का युवामाझ वैदेशिक रोजगारीको लहर तीव्र छ । भारत, खाडी मुलुक र मलेसियामा ठूलो संख्यामा कामका लागि यहाँका युवा गएका छन् । गाउँमा खाली घर र वृद्ध महिलाको संख्या बढेकोले कांग्रेसले यो समस्या समाधान गर्न पहल गर्ने जिल्ला समन्वय समिति प्रमुख समेत रहेकी कांग्रेस नेता टीका कुमारी चौधरी बताउँछिन् । रास्वपाकी उम्मेदवार ज्ञवाली स्थानीय उद्यम, कृषिमा आधारित उद्योग र स्टार्टअप प्रोत्साहन आफ्नो एजेण्डा रहेको बताउँछिन् । एमाले उम्मेदवार न्यौपाने पूर्वाधार विकास र लगानी बढाएर रोजगारी सिर्जना गर्ने एजेण्डा अघि सार्छन् । न्यौपानेले साना तथा मझौला उद्योगलाई प्रोत्साहन र सीपमूलक तालिम विस्तारको प्रतिवद्धता जनाएका छन् । कैलाली–१ को अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ । धान, गहुँ, तोरी, तरकारी उत्पादन भए पनि बजार व्यवस्थापन र मूल्य सुनिश्चिततामा समस्या देखिन्छ । किसानहरू मल, बीउ र सिँचाइको अभाव रहेको गुनासो गर्छन् । स्थानीय किसान समेत रहेका शम्भु चौधरी भन्छन्, ‘चुनाव आउँदा सबैले किसानको कुरा गर्छन् तर मलको लाइन कहिल्यै घट्दैन ।’ कृषि उपजको उचित मूल्य, कोल्ड स्टोरेज, सिँचाइ नहर मर्मत र बाढी नियन्त्रण यहाँका स्थायी मुद्दा हुन् । उम्मेदवारहरूले घोषणापत्रमा यी विषय समेटिए पनि मतदाताले कार्यान्वयनको सुनिश्चितता खोजिरहेका छन् । कैलाली–१ नदी कटान र बाढीको जोखिममा पर्ने क्षेत्र हो । यहाँ वर्षायाममा डुबानको समस्या दोहोरिन्छ । तटबन्ध, पुल, सडक स्तरोन्नति र सहरी व्यवस्थापन प्रमुख आवश्यकता हुन् । एमालेले संघीय सरकारमार्फत ठूला पूर्वाधार योजनाको निरन्तरता दिने बताएको छ । कांग्रेसले स्थानीय तहसँग समन्वय गरी तटबन्धन विस्तार र सडक स्तरोन्नति गर्ने योजना अघि सारेको छ । रास्वपाले बजेट पारदर्शिता र समयमै काम सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ । नेकपाका नेतासमेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुसाल आफूहरूले पूर्वाधारमै केन्द्रित रहेर मत माग्ने बताउँछन् । कैलाली–१ निर्वाचन क्षेत्रमा जोशीपुर, टीकापुर र भजनीका वडाहरू पर्छन् । यहाँका मुख्य नदीखोलामा मोहना नदी र खुटिया खोला पर्दछन् । वर्षायाममा यी नदीले बाढीको सम्भावना बढाउँछन् भने कृषि क्षेत्र र सडकलाई असर पार्ने भएकोले अधिकांश उम्मेदवारका मुद्दामा नदी कटान परेको देखिन्छ । टीकापुर–जोशीपुर–भजनी सडक र स्थानीय लिंक सडकहरूले गाउँपालिका र बजारलाई जोड्दछन् । यी सडक सुधार र स्तरोन्नति परियोजना अन्तर्गत छन्, जसले क्षेत्रीय आवागमन र विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ,’ एमाले उपसचिव भट्टले भने । यस पटकको निर्वाचनमा पहिलो पटक मतदान गर्ने युवा मतदाता उल्लेख्य छन् । सामाजिक सञ्जालमार्फत अभियान, लाइभ अन्तरक्रिया, डिजिटल पोस्टर र छोटो भिडियोमार्फत उम्मेदवारहरूले युवालाई आकर्षित गर्न खोजिरहेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाताले परम्परागत दलभन्दा उम्मेदवारको व्यक्तित्व र विश्वसनीयतालाई बढी महत्त्व दिन सक्छन् । रास्वपा र राप्रपा युवा मत तान्न सक्रिय छन् भने कांग्रेस र एमालेले आफ्नो परम्परागत मताधार जोगाउँदै युवा पंक्तिलाई जोड्ने रणनीति अपनाएका छन् । कैलाली–१ मा प्रत्यक्ष प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने परम्परा रहे पनि यसपटक रास्वपाको उपस्थिति समीकरण बदल्ने कारक बन्न सक्छ । स्थानीय कमला ओझा भन्छिन्, ‘यदि रास्वपाले उल्लेखनीय मत कटायो भने परम्परागत दलको मत विभाजनबाट परिणाम अप्रत्याशित हुन सक्छ ।’ युवा र वैचारिक समर्थनको आधार सीमित भए पनि राप्रपा उम्मेदवार कुँवरको केही क्षेत्रमा प्रभाव पार्न सक्ने स्थानीय बताउँछन् । स्थानीय मतदाता समेत रहेकी ओझा कांग्रेसको बल थारू आधार, स्थानीय संगठन र स्थिर मत हो भने एमालेको संगठित संरचना, राष्ट्रिय प्रभाव र प्रतिस्पर्धी आधार उसका शक्ति हुन् । रास्वपाको युवा लहर र असन्तुष्ट मत गेम चेन्जर बन्ने सम्भावना रहेको ओझाको मत छ । राप्रपाको वैचारिक मत सीमित तर निर्णायक र प्रभावकारी हुने आँकलन ओझाको छ । हालसम्म खुलेर चुनावी लहर नदेखिए पनि घरदैलो गरिरहेका उम्मेदवारलाई मतदाताले कडा प्रश्न सोधिरहेका छन् । पाँच वर्षपछि फेरि यही कुरा दोहोरिन्छ कि भन्ने संशय धेरैमा देखिन्छ । एक स्थानीय व्यापारी भन्छन्, ‘हामीलाई भाषण होइन, काम चाहिएको छ ।’ एमाले कैलालीका उपसचिव भट्ट कैलाली–१ मा यसपटकको चुनाव पचासमुनिको प्रतिस्पर्धा मात्र होइन, पुस्तान्तरणको संकेत पनि भएको दाबी गर्छन् । युवा उम्मेदवारहरू, स्थानीय मुद्दामाथिको केन्द्रित बहस र वैकल्पिक शक्तिको उपस्थितिले परिणामलाई रोचक बनाएको रास्वपा उम्मेदवार ज्ञवालीको कथन छ । कैलाली-१ को मत परिणामले सुदूरपश्चिमको राजनीतिक दिशामा महत्वपूर्ण सन्देश दिने विश्लेषकहरू बताउँछन् ।
राजनीतिक जीवनकै जोखिमपूर्ण चुनावमा माधव नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल यसपटक प्रतिनिधि सभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मैदानमा छन् । विगतमा उनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिँदै आएको यो क्षेत्र यसपटक भने सबैभन्दा रोचक, प्रतिस्पर्धी र अनिश्चित सिटमध्ये एक बनेको छ । राजनीतिक समीकरण, गठबन्धनको अभाव, स्थानीय असन्तुष्टि र नयाँ मतदाताको मनोविज्ञानका कारण नेपालका लागि यो चुनाव सामान्य पुनरावृत्ति मात्रै होइन, करिअरकै कठिन राजनीतिक परीक्षाको रूपमा हेरिएको छ । रौतहट मधेश प्रदेशको सामाजिक–आर्थिक रूपमा पिछडिएको जिल्ला मानिन्छ । गरिबी, बेरोजगारी, डुबान, कमजोर पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको अभाव यहाँका दीर्घकालीन समस्या हुन् । रौतहट–१ मा विशेष गरी बागमती नदीको डुबान, पुलको अभाव, कच्ची सडक, सिँचाइ र रोजगारी मतदाताको मुख्य सरोकार बनेका छन् । यस क्षेत्रका मतदातामा परम्परागत मधेसी समुदायको बाहुल्यता रहेको छ । यो क्षेत्रको मुख्य पहिचान भनेकै किसान र मजदुर वर्गको बाहुल्यता हुनु हो । माधवको शक्ति र सीमा माधवकुमार नेपाल अनुभवी र राष्ट्रिय राजनीतिमा गहिरो पकड भएका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री तथा लामो समय कम्युनिष्ट आन्दोलनको केन्द्रीय अनुहार रहँदै आएका छन् । यही अनुभव उनको सबैभन्दा ठूलो शक्ति हो । राष्ट्रिय तहमा पहुँच, अनुभव, वामपन्थी मतदातामा पुरानो प्रभाव र पार्टी विभाजनपछि पनि संगठित कोर समर्थकहरू नेपालका मुख्य शक्ति रहेको बुझिन्छ । तर, प्रतिनिधिसभाको निर्वाचन २०८२ मा नेपाल अघिल्ला चुनावमाजस्तो सशक्त अवस्थामा नरहेको स्थानीयहरूको अनुमान छ । यस पटक नेपालको मुख्य कमजोरी विगतमा जस्तो गठबन्धनको औपचारिक साथ नहुनु रहेको स्थानीय व्यवसायी रविन विष्ट बताउँछन् । पुराना नेताप्रतिको आकर्षण कम भएको भन्ने भावनाले पनि यसपटक नेपाललाई क्रमशः रेड जोनतर्फ लगेको मान्नेहरू पनि छन् । स्थानीय स्तरमा ठूला, प्रत्यक्ष देखिने विकास कामको अभाव र युवा मतदातामा कमजोर आकर्षणले पनि नेपालको विजयमा असहजता ल्याउन सक्ने आंकलन गरिएको छ । त्यसैले यस क्षेत्रमा नेपाल अझै बलिया उम्मेदवार भए पनि पहिलेजस्तो सुरक्षित अवस्थामा भने नरहेको स्थानीयहरूको बुझाइ छ । को हुन् मुख्य प्रतिस्पर्धी ? नेकपा एमालेका अजयकुमार गुप्ता नेपालका लागि सबैभन्दा ठूलो तगारो बन्न सक्ने उम्मेदवार रहेको ठानिएको छ । एमालेको संगठित संरचना, अनुशासित मतदाता र नेपालले काम नगरेको आरोपलाई गुप्ताले चुनावी हतियार बनाउँदै मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झा पनि यस क्षेत्रका बलिया खेलाडी हुन् । कांग्रेस यस क्षेत्रमा परम्परागत रूपमा मध्यम बलियो मानिन्छ । मधेसी समुदायमा कांग्रेसप्रतिको ऐतिहासिक झुकाव अझै जीवित छ। मधेसी मतदातामा पहुँच र राम्रो सामाजिक नेटवर्क भएका कांग्रेसका उम्मेदवारका कारण पनि यस पटक नेपालले अप्ठ्यारोको सामना गर्नुपर्ने अवस्था आएको नेकपाकै एक नेताले स्वीकार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र उम्मेदवारले पनि नेपालको प्रतिनिधि सभा यात्रालाई चुनौती दिएको ठानिएको छ । यी उम्मेदवारहरूले खासगरी युवा, परिवर्तन चाहने र पुराना दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेका छन् । रास्वपाका राजेशकुमार चौधरी नेपालसहित गुप्ता र झाका लागि पनि राम्रो चुनौती बन्न सक्छन् । यस्तै, मधेशका परम्परागत मतदातालाई जसपा र जनमुक्ति पार्टीले तान्दा उक्त क्षेत्रको मत पूर्वानुमान अझ जटिल बन्दै गएको पाइएको छ । उनीहरूको जित्ने हैसियतमा नभए पनि नतिजा बदल्ने क्षमता राख्ने स्थानीयहरूको मत रहेको छ । स्थानीय मतदाताहरूले सुनाएको अनुमानित मत विभाजनमा नेपाल, झा र गुप्ता उस्ताउस्तै अवस्थामा रहेका छन् । उनीहरूका अनुसार हाल देखिएको ट्रेन्डका आधारमा अनुमानित मत हिस्सा तीनवटै उम्मेदवारको २५–२५ प्रतिशतको हाराहारीमा रहेको पुराना व्यापारी विष्टले जानकारी दिए । विष्टका अनुसार रास्वपा, जसपा र स्वतन्त्रले करिब २५ प्रतिशत हिस्सा बराबरको मत प्राप्त गर्न सक्छन् । उनका अनुसार स्पष्ट बहुमत कसैसँग छैन । २ देखि४ हजार मतको अन्तरले नतिजा पल्टिन सक्ने अवस्था रहन सक्छ । स्थानीय राजु महतोले सम्भावित निर्णायक मतदाता समूह मधेसी किसान र मजदुर समुदाय रहेको बताए । उनी यो समुदायलाई सबैभन्दा ठूलो र निर्णायक समूह मान्छन् । विष्टका अनुसार डुबान, पुल, सिँचाइ र रोजगारीजस्ता मुद्दाले पनि मतपेटिकाको मत परिणाममा प्रभाव पार्न सक्छन् । रास्वपा समर्थित युवा सागर चौधरीका अनुसार यस क्षेत्रका करीब २० प्रतिशत युवा मतलाई जसले होल्ड गर्न सक्छ उही उम्मेदवार विजयी हुनसक्ने सम्भावना पनि रहेको छ । चौधरीका अनुसार बेरोजगारी र वैदेशिक रोजगारी रास्वपाका मुख्य मुद्दा हुन् । युवाहरूको रास्वपा र स्वतन्त्रतर्फको झुकाव नै माधव नेपालका लागि सबैभन्दा ठुलो चुनौती रहेको चौधरीले जानकारी दिए । स्थिरता भर्सेज परिवर्तन सामाजिक सञ्जालमा पुराना नेता असफल भन्ने आवाज चर्को छ । तर ग्राउन्डमा अझै पनि स्थानीय प्रभावशाली व्यक्ति, समुदाय र प्रत्यक्ष सम्पर्क निर्णायक देखिन्छ । अनलाइन ट्रेन्ड र भोटिङको व्यवहारबीच अझै अन्तर रहेको महतोको दाबी छ । स्थानीय मतदाता विष्टका अनुसार यो निर्वाचन नेपालका लागि सुरक्षित छैन, तर खेल अझै सुरु भएको पनि होइन । उनका अनुसार रौतहट–१ मा नेपाल अझै फ्रन्ट–रनर हुन्, तर यो चुनाव उनको राजनीतिक जीवनकै सबैभन्दा प्रतिस्पर्धी र जोखिमपूर्ण चुनावमध्ये एक बनेको छ । नेपालले २०७९ को चुनावमा ३३ हजार ५२२ मत पाउँदै ५२.३७ प्रतिशत मतको हिस्सासहित विजयी भएका थिए । यो मत उनका निकटतम प्रतिद्वन्द्वीको भन्दा ६ हजार ६०० मतले धेरै हो । तर यसपटक नेपालका लागि अघिल्लो चुनावजस्तो सहज नहुने प्रष्ट देखिन्छ । यसैले स्थानीय मतदाताहरूले नेपालका लागि यो चुनाव जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउँछन् ।
एमालेका ६४ नयाँ उम्मेदवार : पुस्तान्तरण, संगठन सन्तुलन र चुनावी रणनीतिको परीक्षा
काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पहिलोपटक चुनाव लड्ने ६४ जना नेतालाई उम्मेदवार बनाएको छ । पार्टीले विभिन्न जिल्लाबाट नयाँ अनुहारलाई अवसर प्रदान गरेको हो । एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले संगठन विस्तार, स्थानीय राजनीतिमा सक्रियता र पार्टीप्रतिको प्रतिबद्धतालाई आधार मानेर नयाँ उम्मेदवार छनोट गरिएको जानकारी दिए । ‘यसपटकको उम्मेदवारी सूचीमा पहाडी, हिमाली तथा तराई–मधेस क्षेत्रका जिल्लाबाट नयाँ नेताहरू समेटिएका छन्,’ अधिकारीले भने । एमालेले सुदूरपश्चिमको कैलालीबाट द्वारिका न्यौपाने र यज्ञराज ढुंगाना, कञ्चनपुरबाट कमला बोहरा र वचनबहादुर सिंह, डोटीबाट दीपक धामीलाई पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गराउन लागेको हो । यस्तै, सुर्खेतबाट कुलमणि देवकोटा, सल्यानबाट गुलाबजंग शाह र रुकुम–पश्चिमबाट नन्दराम देवकोटा पनि नयाँ उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् । पश्चिम र मध्य क्षेत्रसँगै गण्डकी र बागमती प्रदेशका जिल्लाबाट पनि नयाँ उम्मेदवारलाई टिकट दिइएको छ । गोरखाबाट आरसी लामिछाने र मिलन गुरुङ, तनहुँबाट भगवती न्यौपाने, कास्कीबाट वेणुबहादुर क्षेत्री र रश्मी आचार्य तथा स्याङ्जाबाट मीनप्रसाद गुरुङ र खिमबहादुर थापा नयाँ उम्मेदवार बनेका हुन् । अर्घाखाँचीबाट पिताम्बर भुसाल, नवलपरासी पूर्वबाट भागिरथ सापकोटा र मुस्ताङबाट इन्द्रधारा विष्टलाई समेत पहिलोपटक उम्मेदवारी दिइएको छ । नवलपरासी पश्चिमबाट राम प्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवार छन् । कोशी प्रदेशअन्तर्गत झापाबाट शान्तिबहादुर महत उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशका जाजरकोटबाट डम्बर बहादुर सिंह, हुम्लाबाट दल फडेरा, मुगुबाट पूर्णबहादुर रोकाया र डोल्पाबाट लंक रोकाया पहिलोपटक उम्मेदवार बनेका छन् । यस्तै, कपिलवस्तुबाट विष्णु चौधरी र दाङबाट घनश्याम पाण्डे पनि पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै, सिन्धुपाल्चोकबाट आङदोर्जे शेर्पा, काभ्रेपलाञ्चोकबाट अमित लामा, रामेछापबाट माधवप्रसाद ढुंगेल र सिन्धुलीबाट प्रदीप केसी पहिलोपटक संसदीय चुनावमा होमिएका नेता हुन् । काठमाडाैं उपत्यकाका मोहन रेग्मी, अमनकुमार मास्के, प्रकाश श्रेष्ठ, राजेश शाक्य, नानु बस्तोला र विनोद श्रेष्ठ पनि एमालेका नयाँ अनुहार हुन् । यस्तै, चेतनाथ सञ्जेल र जितेन्द्रकुमार श्रेष्ठ पनि एमालेका नयाँ उम्मेदवार हुन् । ताप्लेजुङका क्षितिज थेवे पनि उपमहासचिव योगेश भट्टराईको स्थानमा नयाँ उमेदवार बनेका छन् । एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिने ६४ जना नेतालाई उम्मेदवार बनाएसँगै पार्टीभित्रको उम्मेदवार चयन रणनीति र भावी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ । लामो समयदेखि अनुभवी र स्थापित नेतामाथि निर्भर हुँदै आएको एमालेले यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिनुलाई राजनीतिक विश्लेषकहरूले पुस्तान्तरण र संगठन पुनर्संरचनाको प्रयासका रूपमा हेरेका छन्। एमाले नेतृत्वले औपचारिक रूपमा उम्मेदवार छनोटमा योग्यता, संगठनमा योगदान र स्थानीय जनसमर्थनलाई आधार बनाइएको जनाएको छ । तर भित्री रूपमा हेर्दा पार्टीले पछिल्ला निर्वाचनहरूमा देखिएको मत परिणाम, युवा मतदाताको असन्तुष्टि र प्रतिस्पर्धी दलहरूबाट बढ्दो चुनौतीलाई सम्बोधन गर्न नयाँ नेतृत्व अघि सार्ने रणनीति लिएको देखिन्छ। एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी पुराना अनुहार दोहोर्याउनु भन्दा स्थानीय स्तरमा संगठन विस्तारमा सक्रिय, विवादरहित र फ्रेश इमेज भएका नेताहरूलाई उम्मेदवार बनाउदा सकारात्मक सन्देश जाने भएकोले सोही अनुरूप एमालेले एक तिहाईभन्दा धेरै नयाँ उम्मेदवार बनाएको हो । एमालेका उमेदवारहरूको सूची हेर्दा एमालेले भौगोलिक सन्तुलनमा विशेष ध्यान दिएको देखिन्छ । हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, ताप्लेजुङ र डोल्पादेखि तराईका कपिलवस्तु, दाङ, नवलपरासी पश्चिमसम्म नयाँ उम्मेदवार अघि सारिएका छन् । यसले पार्टी केवल केही सीमित क्षेत्रमा केन्द्रित छैन भन्ने सन्देश दिन खोजेको विश्लेषक पर्शुराम घिमिरे बताउँछन् । गण्डकी र बागमती प्रदेशका गोरखा, तनहुँ, कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रे जस्ता राजनीतिक रूपमा संवेदनशील जिल्लामा नयाँ उम्मेदवार खडा गर्नु पनि एमालेका लागि जोखिम र अवसर दुवै भएको विश्लेषक घिमिरे बताउँछन् । ६४ जना नयाँ उम्मेदवार चयन हुनु एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनसँग पनि जोडिएको छ । लामो समयदेखि टिकट नपाएको गुनासो गर्दै आएका दोस्रो तहका नेताहरूलाई अवसर दिनुले नेतृत्वप्रति असन्तुष्टि कम गर्ने र संगठनलाई एकढिक्का राख्ने प्रयास भएको घिमिरे बताउँछन् । तर, कतिपय क्षेत्रमा पुराना नेताहरूलाई हटाएर नयाँ उम्मेदवार अघि सारिँदा असन्तुष्ट समूह निष्क्रिय हुने जोखिम पनि उत्तिकै हुनसक्ने तर्फ घिमिरेले सचेत बनाएका छन् । यदि त्यस्तो असन्तुष्टि व्यवस्थापन गर्न सकिएन भने चुनावी नतिजामा नकारात्मक असर पर्न सक्ने चेतावनी राजनीतिक विश्लेषक घिमिरेले दिन्छन् । पहिलोपटक चुनाव लड्ने उम्मेदवारका लागि सबैभन्दा ठूलो चुनौती पहिचान र विश्वासको भएपनि आफूहरू त्यसलाई चिर्दै अघि बढिरहेको गोरखा २ का उम्मेदवार आरसी लामिछाने बताउँछन् । अनुभवी उम्मेदवारजस्तो स्थापित राजनीतिक ब्रान्ड नहुँदा घरदैलो अभियान, स्थानीय मुद्दा र व्यक्तिगत छविमार्फत मतदाता आकर्षित गरिरहेको उनले जानकारी दिए । तर यसैलाई अवसरका रूपमा पनि हेरिएको रोल्पा एमालेका उमेदवार गोकुल घर्ती बताउँछन् । पुराना नेताप्रतिको निराशा र उही अनुहार राजनीतिप्रति वितृष्णा बढिरहेको अवस्थामा नयाँ उम्मेदवारलाई मतदाताले परिवर्तनको विकल्पका रूपमा हेर्न सक्ने सम्भावना एमालेले देखेको केन्द्रीय सदस्य भण्डारीको दाबी छ । ६४ नयाँ उम्मेदवारको सफलता वा असफलताले एमालेको मात्र होइन, भविष्यको उम्मेदवार चयन संस्कृतिलाई समेत दिशा दिने एमाले नेता विनोद श्रेष्ठले बताए । यदि नयाँ अनुहारहरूले अपेक्षित मत ल्याए भने आगामी निर्वाचनमा पार्टीले अझ आक्रामक रूपमा पुस्तान्तरण नीति अपनाउने सम्भावना बढ्नेछ । तर कमजोर प्रदर्शन भएमा एमाले पुनः अनुभवी नेतामै निर्भर हुने चक्रमा फर्कन सक्ने विश्लेषण गर्छन् काठमाडौं १० का उमेदवारसमेत रहेका श्रेष्ठ । एमालेले यसपटक लिएको उम्मेदवार चयन नीति सुरक्षित राजनीतिभन्दा जोखिमपूर्ण तर दीर्घकालीन रणनीति हो । नयाँ अनुहारले संगठनमा ऊर्जा थप्नेछ कि चुनावी अंकगणित बिगार्नेछ भन्ने प्रश्नको उत्तर भने निर्वाचन परिणामले नै दिने विश्लेषक घिमिरे बताउँछन् ।
संसदीय राजनीतिमा देउवाको दुःखद बहिर्गमन
काठमाडौं । डडेल्धुराबाट अन्तिम पटक चुनाव लडेर नेपाली कांग्रेसको संसदीय दलको नेता र अन्तिम पटक नै प्रधानमन्त्री हुन चाहन्थे शेरबहादुर देउवा । त्यही चाहनाअनुसार उनको गृहजिल्ला डडेल्धुराबाट एकल नाम सिफारिससमेत भएको थियो । तर, देउवाको यो सबै सपना र योजनामा ब्रेक लागेको छ । पाँच पटक देशको प्रधानमन्त्री बनेका उनको राजनीतिक जीवनको दुःखद अवसान भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डडेल्धुराबाट पटक–पटक जित्दै आएका देउवालाई टिकट नदिएपछि उनको संसदीय राजनीतिमा ब्रेक लागेको हो । नेपाली कांग्रेस देउवा पक्षका एक नेताका अनुसार देउवा अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्न चाहन्थे । तर, उनको त्यो सपना र योजनामा गगनकुमार थापाले विराम लगाएका हुन् । उनी फेरि उम्मेदवार बनेर संसदीय राजनीतिमा फर्किने र संसदीय दलको नेता बनेर फेरि प्रधानमन्त्री बन्न सक्ने रणनीतिलाई मूल्यांकन गर्दै थापाले उनलाई टिकट नै नदिएको बुझिएको हो । यद्यपि देउवाको सचिवालयले उनलाई टिकट नदिँदा अघि नै उनी उम्मेदवार नबने घोषणा गर्यो । स्रोतका अनुसार त्यो घोषणाअघिको घटनाक्रमलाई केलाउनुपर्छ । समानुपातिक उम्मेदवारको सूचीमा देउवा आफैले हस्ताक्षर गरेर बुझाएका थिए । समानुपातिकमा देउवा पक्षकै बहुमत छ । प्रत्यक्षतर्फ पनि देउवा पक्षले उल्लेख्य उम्मेदवारको दाबी गरेको बुझिएको छ । देउवाले आफू र शेखर पक्षसहित ८० जना उम्मेदवारको सूची थापालाई पठाएपछि गगन–विश्व सशंकित बनेका थिए । ‘सभापति गगन कुमार थापाको उहाँलाई टिकट नदिने योजना थियो, टिकट नै नपाइने भएपछि अगाडि नै घोषणा गर्दा राम्रो सन्देश जाने हिसाबले उम्मेदवार नबने घोषणा भएको हो,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापति थापाले उहाँलाई संसदीय दलको नेता नबन्ने र प्रधानमन्त्रीको उम्मेदवार नबने भनेर घोषणा गरेपछि मात्रै टिकट दिने सन्देश पठाएको थियो, उहाँले चुनाव नै नलड्ने घोषणा गर्नुभयो ।’ योसँगै २०४८ सालदेखि निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका देउवाको राजनीतिक यात्रामा यसपटक अनपेक्षित बिराम लागेको छ । सो क्षेत्रबाट कांग्रेसले नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई टिकट दिएको छ । उनको यो सबै सपना र योजनामा ब्रेक लागेको छ । पाँच पटक देशको प्रधानमन्त्री बनेका उनको राजनीतिक जीवनको दुःखद अवसान भएको छ । संसदीय राजनीतिमा दुःखद अवसान नेपाली राजनीति र संसदीय राजनीतिका एक प्रमुख र चलाख खेलाडी थिए देउवा । नेपालको निर्वाचनको इतिहासमा हालसम्म सम्पन्न भएका सबै आम निर्वाचन जितेर सिंहदरबारको यात्रा गर्ने देउवा एक मात्रै नेता हुन् । यस अर्थमा धेरै निर्वाचन विश्लेषकहरूले उनलाई नेपालको निर्वाचनका सबैभन्दा सफल नेता पनि मान्दछन् । २०४६ सालमा संयुक्त जन आन्दोलनले उभार लिइरहँदा देउवा बेलायतमा विद्यार्थी जीवन बिताउँदै थिए । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका सभापतिसमेत बनिसकेका देउवा निर्वाचनको मुखैमा नेपाल आएका थिए। तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको हातबाट डडेल्धुराको प्रतिनिधि सभा सदस्यको टिकट लिएर निर्वाचनमा आफ्नो राजनीतिक भाग्य अजमाउन डडेल्धुरा पुगेका देउवाको नेतृत्व क्षमता उक्त निर्वाचनमा प्रष्ट देखियो । उक्त निर्वाचनमा देउवाले नेकपा एमालेका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै सिंहदरबार यात्रा तय गरेका थिए । बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आम निर्वाचन २०४८ सालमा देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले २४ हजार ५७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६ हजार ६२८ मत मात्र पाएका थिए । यही निर्वाचनले देउवालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएको हो । २०५१ सालको मध्यावधि निर्वाचनमा देउवाले २० हजार ७०१ मत प्राप्त गरी एमाले उम्मेदवार खेमराज भट्ट मायालुलाई पराजित गरे । उनका प्रतिद्वन्द्वी मायालुले ९ हजार ९६६ मत पाएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउन सकेको थिएन । पार्टीका अधिकांस शीर्ष नेताहरूले निर्वाचनमा पराजय भोग्दा देउवाको मतान्तर पनि घटेको थियो । त्यसपछि २०५६ सालको आम निर्वाचनमा देउवाले अझै ठूलो अन्तर कायम गरे । उनले २८ हजार ६५१ मत प्राप्त गर्दा एमालेका बागेश्वरी दत्त चटौत ७ हजार ८४० मतमा सीमित भए । उक्त निर्वाचनमा नेकपा एमाले विभाजित भएर एमाले र माले बनेको थियो । पहिलो संविधानसभा निर्वाचन २०६४ साल देउवाका लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो । उक्त निर्वाचनमा माओवादी केन्द्रका खगराज भट्टसँगको कडा प्रतिस्पर्धामा देउवाले २० हजार ५२९ मत प्राप्त गरी केवल करिब १ हजार ३ सय मतको अन्तरले जित निकाले । देशैभरि कांग्रेसका उम्मेदवारले राम्रो परिणाम दिन नसकेको समयमा देउवाले उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सफल भएका थिए । उक्त निर्वाचनमा देउवाका प्रतिद्वन्द्वी भट्टले १९ हजार १६१ मत पाएका थिए । उनी पाली कांग्रेसबाट नै टिकट नपाउने अवस्थामा पुगे । नेपाली कांग्रेसको यो निर्णयले देउवाको संसदीय यात्रामा बिराम मात्रै लगाएको छैन, उनको राजनीतिक यात्रामा पनि ब्रेक लागेको छ । सम्भवतः अब शेरबहादुर देउवाले राजनीतिबाट विश्राम लिन सक्ने अनुमान धेरैको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले २३ हजार ९२० मत प्राप्त गर्दै माओवादी उम्मेदवार खगराज भट्टलाई स्पष्ट अन्तरले पराजित गरे । प्रतिद्वन्द्वी भट्टले १२ हजार ४९३ मत प्राप्त गरेका थिए । त्यस्तै, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा देउवाले २८ हजार ४४६ मत ल्याएर माओवादी केन्द्रका उमेदवार खगराज भट्टलाई फेरि पराजित गरे । उक्त निर्वाचनमा भट्टले २१ हजार ४९८ मत पाएका थिए । सो निर्वाचनमा नेपालका दुई ठूला बामदल नेकपा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गरेर निर्वाचनमा भाग लिएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकालको कडा चुनौती सामना गरे । अत्यन्तै कडा प्रतिस्पर्धा हुन सक्ने आँकलनका बीच देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दा ढकालले १३ हजार ४२ मत पाए । यससँगै देउवा डडेल्धुराबाट सातौं पटक संसदमा निर्वाचित हुन सफल भए । २०४८ सालदेखि २०७९ सालसम्म देउवाले प्रत्यक्ष निर्वाचनमा कुनै हार बेहोर्नु परेको छैन । एमाले, माओवादी केन्द्रदेखि स्वतन्त्र उम्मेदवारसम्मका प्रतिस्पर्धीलाई पराजित गर्दै उनले डडेल्धुरामा आफ्नो बलियो जनाधार कायम राख्दै आएका छन् । देउवाको यस निर्वाचन यात्रालाई केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली कांग्रेसको परम्परागत मतधार र संगठनात्मक प्रभावको पनि प्रतिबिम्ब मानिन्छ । तर, अन्ततः नेपाली कांग्रेसबाट नै टिकट नपाउने अवस्थामा पुगे । नेपाली कांग्रेसको यो निर्णयले देउवाको संसदीय यात्रामा बिराममात्रै लगाएको छैन, उनको राजनीतिक यात्रामा पनि ब्रेक लागेको छ । सम्भवतः अब शेरबहादुर देउवाले राजनीतिबाट विश्राम लिन सक्ने अनुमान धेरैको छ ।
कांग्रेस विवादले निर्वाचन नरोकिएपनि दुवै धारलाई राजनीतिक संकटमा धकेल्ने निश्चित
काठमाडौंं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले आसन्न निर्वाचनलाई कसरी प्रभावित गर्छ भन्ने विषय अहिले राजनीतिक र कानुनी वृत्तमा गम्भीर बहसको केन्द्रमा छ । नेतृत्व, आधिकारिकता र पार्टी संरचनासम्बन्धी मतभेद सार्वजनिक रूपमा बाहिरिएपछि निर्वाचन प्रक्रिया नै अवरुद्ध हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको हो । निर्वाचन प्रक्रिया प्रारम्भ भइसकेको तथा प्रत्यक्ष निर्वाचित हुने उमेदवारहरूको मनोनयन आउन जम्मा ४ दिन मात्रै बाँकी रहेको समयमा कांग्रेसभित्र उब्जिएको बहसले निर्वाचनलाई कस्तो असर गर्ला यस सन्दर्भमा विकासन्युजले विभिन्न अधिवक्ताहरूसँग कुराकानी गरेको छ। हामीसँग संवाद गरेका अधिकांश कानुन व्यवसायीहरूले कांग्रेसभित्रको विवादका कारण निर्वाचन प्रक्रिया रोकिने अवस्था नरहेको बताए । संविधान र निर्वाचनसम्बन्धी कानुनले दलभित्र उत्पन्न विवादलाई सम्बोधन गर्ने व्यवस्था गरेको उनीहरूको तर्क छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार दलसम्बन्धी विवाद उत्पन्न भएमा निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिक ठहर गर्ने संवैधानिक जिम्मेवारी राख्छ । आयोगको निर्णयसँगै निर्वाचन प्रक्रिया अघि बढ्छ । उनी भन्छन, ‘यसले निर्वाचन अवरुद्ध हुन दिँदैन ।’ भट्टराई अल्पमत पक्षका लागि पनि कानुनी बाटो खुला रहने भएकोले निर्वाचन रोकिनुपर्ने अवस्था नदेखेको बताउँछन् । उनीसहित अन्य अधिवक्ताहरूले पनि अल्पमतमा परेको पक्ष पूर्ण रूपमा राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिनु नपर्ने कानुनी व्यवस्था रहेको औँल्याएका छन्। प्रचलित कानुनअनुसार आयोगको निर्णयपछि अल्पमत पक्षले फरक दलको नाम र फरक निर्वाचन चिह्न लिएर चुनावमा भाग लिन पाउने व्यवस्था छ । वरीष्ठ अधिवक्ता विपिन अधिकारीले दल विभाजन भए पनि प्रतिस्पर्धा गर्ने अधिकार नखोसिने बताए । उनका अनुसार कानुनले दुवै धारलाई निर्वाचनमा जान बाटो खुला राखेको छ । तर अर्का अधिवक्ता तथा विशेष अदालत बार एसोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर भने कानुन सहज, व्यवहार कठिन भएको बताउँछन् । उनका अनुसार कानुनी व्यवस्था भए पनि व्यवहारिक रूपमा समस्या रहेको छ । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले अल्पमत पक्षका लागि सबैभन्दा ठूलो चुनौती समय रहेको बताए । ‘नयाँ दल दर्ता गर्ने, नाम र चुनाव चिह्न टुंग्याउने, देशभर उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने प्रक्रियामा समय निकै कम हुन्छ,’ उनी भन्छन्, ‘कानुनले अधिकार दिए पनि व्यवहारमा प्रतिस्पर्धा कमजोर हुन सक्छ ।’ उच्च अदालत वारका सचिव भूपाल बस्नेत बहुमत पक्ष पनि सहज अवस्थामा नरहेको बताउँछन् । ‘अल्पमत पक्ष मात्र होइन, बहुमत पक्षका लागि पनि अवस्था सहज छैन,’ अधिवक्ता बस्नेतले भने । अधिवक्ता पर्शुराम घिमिरेका अनुसार आन्तरिक विवादले संगठनात्मक ऊर्जा मात्रै खेर जान्छ । घिमिरे भन्छन्, ‘बहुमत पक्षले पनि छोटो समयमै उम्मेदवार टुंग्याउने, असन्तुष्ट पक्ष व्यवस्थापन गर्ने र चुनावी अभियान सञ्चालन गर्नुपर्छ ।’ उनका अनुसार विवादले संगठन कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मतमा पर्छ । सर्वोच्च अदालत वार एसोसिएसनका सचिव रमण कर्ण भने अलि फरक धारणा राख्छ । उनका अनुसार समयको पावन्दीले पुरै निर्वाचन कार्यक्रम प्रभावित हुने आँकलन छ । उनी भन्छन्, ‘६ गतेको उम्मेदवारी मनोनयन सहज रुपमा हुन सक्ने अवस्था रहेको छैन ।’राजनीतिक असर कानुनीभन्दा गहिरो हुने कर्णको अनुमान रहेको छ । अधिवक्ता कृष्णप्रसाद भट्टराईका अनुसार कानुनले विवाद व्यवस्थापन गर्न सक्छ, तर लोकतन्त्र सुदृढ बनाउन राजनीतिक सहमति अपरिहार्य हुन्छ । ‘लामो समयसम्म विवाद चलिरहँदा मतदाता अन्योलमा पर्छन्,’ उनी भन्छन्, ‘यसले दलप्रतिको विश्वास घटाउँछ र विपक्षीलाई फाइदा पुग्छ ।’ वरिष्ठ अधिवक्ता शेरबहादुर केसी कांग्रेस कमजोर भयो भने त्यो खाली ठाउँ अरू दलले भर्ने टिप्पणी गर्छन् । उनका अनुसार यसको दीर्घकालीन असर दलको राजनीतिक हैसियतमा पर्न सक्छ । वरिष्ठ अधिवक्ताहरू तथा अधिवक्ताहरूको विश्लेषणले एकै सन्देश दिएको छ– नेपाली कांग्रेसको विवादले निर्वाचन त रोकिन्न, तर यसले दुवै पक्षलाई गम्भीर संगठनात्मक, रणनीतिक र राजनीतिक संकटमा पार्न सक्छ । कानुनले विवाद समाधानका लागि प्रक्रिया तोकेको भए पनि अन्ततः दललाई बलियो बनाउने उपाय भने राजनीतिक समझदारी र एकता नै हुने अधिवक्ताहरूको निष्कर्ष छ । उनीहरूका अनुसार विवाद जति लामो तानिन्छ, निर्वाचनमा त्यसको मूल्य कांग्रेसका दुवै पक्षले चुकाउनुपर्नेछ । सर्वोच्च अदालतका पूर्वरजिस्टार श्रीप्रसाद पण्डितका अनुसार विवादको मुख्य विषय पार्टीको आधिकारिकता, चुनाव चिन्ह र दलको नामबारेमा हो । पण्डित भन्छन्, ‘निर्वाचन आयोगले विवादग्रस्त दलको आधिकारिकता र चुनाव चिन्हबारे छिटो निर्णय दिनु पर्दछ ।’ आयोगको निर्णयपछि दलको आधिकारिक प्रतिनिधित्व तय हुने र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढ्नेमा पण्डित विश्वस्त छन् । उनका अनुसार विवादको असर निर्वाचनमा पर्दैन । आयोगको निर्णय आए पछि असन्तुष्ट पक्ष अदालत जान सक्छ । यस अवस्थामा पनि चुनाव रोकिने सम्भावना न्यून छ । यसअघि विभिन्न दलका आन्तरिक विवाद अदालतसम्म पुग्दा पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएको इतिहास रहेको पण्डितको दलिल रहेको छ । आइतबारदेखि सुरु हुने निर्वाचन प्रक्रियाभन्दा पहिले नै आयोगले दलको आधिकारिक निर्णयका आधारमा उम्मेदवार दर्ता, उमेदवारको सूची तयारी, मतदान व्यवस्था र सुरक्षा सुनिश्चित गर्नेछ । असन्तुष्ट पक्षले अदालतमा रिट हाल्दा पनि अदालतले प्रायः निर्वाचन प्रक्रियामा अवरोध नपर्ने दृष्टिकोण राख्ने गरेको पण्डित बताउँछन् ।
विभाजनको चक्रमा कांग्रेस, संवाद हराउँदा दोहोरिएको इतिहास
काठमाडौं । नेपाली कांग्रेसमा फेरि विभाजनको इतिहास दोहोरिएको छ । ऐतिहासिक जनआन्दोलन २०४६ पछि कांग्रेस दोस्रो पटक औपचारिक विभाजनको अवस्थामा पुगेको हो । लामो राजनीतिक यात्रामा आन्तरिक गुटबन्दी, नेतृत्व विवाद र निर्णयप्रति असहमतिको कारण कांग्रेसले पटक-पटक विभाजन र गम्भीर संकट झेल्दै आएको छ । इतिहास फर्केर हेर्दा कांग्रेसभित्र भएका ठूला विभाजनहरूले पार्टीलाई मात्र कमजोर बनाएनन्, देशको समग्र राजनीतिक स्थायित्वमा समेत गहिरो असर पारेका दृष्टान्त छन् । नेपाली कांग्रेसमा पहिलो ठूलो फूट २००४ सालमै देखिएको थियो । कांग्रेसको औपचारिक स्थापना हुनुअघि नेपाली राष्ट्रिय कांग्रेस रहेको बेलामा नै डा. डिल्लीरमण रेग्मी समूहसँगको वैचारिक तथा संगठनात्मक विवादका कारण पार्टी विभाजित भएको तथ्य प्राध्यापक राजेश गौतमको नेपाली कांग्रेसको इतिहास पुस्तकमा उल्लेख छ । उक्त विभाजनपछि २००४ साल साउन १ गते महेन्द्रविक्रम शाहलाई सभापति बनाएर सुवर्ण शमशेर, महावीर शमशेर राणालगायत नेताहरूले नेपाल प्रजातान्त्रिक कांग्रेस स्थापना गरेका थिए । २००७ सालको क्रान्ति सफल भएपछि तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइराला र नेता बीपी कोइरालाबीचको विवादले कांग्रेस दोस्रो पटक विभाजनको मार्ग समात्यो । पार्टी निर्णयको अवज्ञा गरेको आरोपमा २०१० असार २ गते मातृकाप्रसाद कोइरालालाई सरकारबाट बाहिरिन निर्देशन दिइयो । त्यसको केही दिनपछि साउन १० गते मातृका प्रसाद कोइराला, नारदमणि थुलुङ र महावीरशमशेरलाई पार्टीबाट निष्कासन गरियो । त्यसपछि मातृकाप्रसाद कोइरालाले नेपाल प्रजा पार्टी स्थापना गरे र सोही पार्टीको अध्यक्षका रूपमा पुनः प्रधानमन्त्री बने । यस घटनाले कांग्रेसभित्रको फूटलाई संस्थागत मात्र बनाएन, देशको राजनीति नै थप अस्थिर बनायो । २०१० देखि २०५१ सालसम्म कांग्रेस औपचारिक रूपमा विभाजित नभए पनि यस अवधिमा धेरै नेताहरूले पार्टी परित्याग गरे । २०१७ सालमा राजा महेन्द्रको ‘कू’लाई समर्थन गर्दै पहिलो विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू डा. तुल्सी गिरी र विश्वबन्धु थापाले पार्टी छाडे । त्यसपछि अर्का महामन्त्री परशुनारायण चौधरी, नेविसंघका प्रथम सभापति विपिन कोइराला, शिवबहादुर खड्का र अर्जुननरसिंह केसीलगायत नेताहरू पनि पार्टीबाट अलग भए । २०५१ सालमा कांग्रेस पुनः गम्भीर आन्तरिक संकटमा फस्यो । पार्टीभित्रको किचलोका कारण संसद् विघटन भई मध्यावधि निर्वाचनमा जानु पर्यो । यस क्रममा कांग्रेस ‘चौहत्तर’ र ‘छत्तीस’ समूहमा विभाजित भयो । उक्त निर्णयविरुद्ध संस्थापक नेता गणेशमान सिंह खुलेर उभिए भने नेता जगन्नाथ आचार्यले पार्टी परित्यागको घोषणा गरे । देशभर कांग्रेसकै विद्रोही उम्मेदवार उठे र परिणामस्वरूप कांग्रेस चुनावमा पराजित भयो । सबैभन्दा स्पष्ट र औपचारिक विभाजन भने २०५९ साल असार ४ गते भयो । तत्कालीन सभापति शेरबहादुर देउवाले बानेश्वर भेलामार्फत पार्टी विभाजन गर्दै ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ घोषणा गरे । नेतृत्व र कार्यशैलीको विवादले कांग्रेस दुई धारमा विभाजित हुँदा समग्र प्रजातान्त्रिक शक्तिको एकता कमजोर बन्यो । इतिहासका यी सबै घटनाहरूले कांग्रेसलाई आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनको महत्व बारम्बार सम्झाइरहेका बेला पुस ३० गते फेरि इतिहास दोहोरिएको छ । विशेष महाधिवेशनको प्रक्रियासँगै बढेको आन्तरिक तनाव अन्ततः पार्टीलाई विभाजनको मोडमा ल्याएको छ । यस विभाजनको बीउ असोजमै रोपिएको विश्लेषण हुँदै आएको थियो । पुस २६ गते सम्पन्न विशेष महाधिवेशनपछि विभाजनको आशंका अझ गहिरिएको थियो । अन्ततः पुस ३० गते पार्टीले महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेस फेरि विभाजित भएको हो । कांग्रेसको इतिहासले देखाएको यथार्थ यही हो कि आन्तरिक विवादको समाधान संवाद र सहमतिबाट हुन नसक्दा पार्टी मात्र होइन, देशको राजनीति नै अस्थिर बन्ने गरेको छ । अहिलेको घटनाक्रमले पनि कांग्रेसलाई त्यही ऐतिहासिक मोडमा पुनः उभ्याइदिएको छ ।
नेपाली कांग्रेस विभाजनको संघारमा, पद बाँडफाँड र शक्ति सन्तुलनमा जुटेन सहमति
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको दोस्रो विशेष महाधिवेशनले पार्टीलाई संगठनात्मक सुधार र राजनीतिक पुनर्जागरणतर्फ डोर्याउने अपेक्षा गरिएको थियो । तर महाधिवेशनको औपचारिक प्रक्रियासँगै पार्टीभित्र लुकेर रहेको असन्तुष्टि, शक्ति संघर्ष र गुटगत प्रतिस्पर्धा सतहमा आउँदा कांग्रेस विभाजनको सँघारमा पुगेको आकलन हुन थालेको छ । महाधिवेशनअघि देखिएको ‘विभाजनको डर’ अहिले क्रमशः यथार्थतर्फ उन्मुख हुँदै गएको देखिन्छ । पार्टीभित्र हाल औपचारिक तथा अनौपचारिक रूपमा चलिरहेका त्रिपक्षीय वार्ताहरू निर्णायक मोडमा पुगेका छन् । तर ती वार्तामा पद बाँडफाँट, शक्ति सन्तुलन र नेतृत्व संरचनाका विषयमा सहमति जुट्न नसकेपछि कांग्रेस फुटको जोखिममा फस्दै गएको विश्लेषक पर्शुराम घिमिरेको भनाइ छ । दोस्रो विशेष महाधिवेशनको मूल उद्देश्य पार्टीको विधान संशोधन गर्दै समयसापेक्ष संगठन निर्माण गर्नु थियो । संघीयता, समावेशिता, आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणका विषयमा स्पष्ट संरचना बनाउने अपेक्षा गरिएको थियो । तर महाधिवेशन सुरु भएदेखि नै नीति र सिद्धान्तभन्दा बढी नेतृत्व, पद र शक्ति सन्तुलन केन्द्रमा रह्यो । महाधिवेशनले पार्टीको वर्तमान कार्यसमिति विघटन गरी नयाँ संरचना बनाउने बाटो खोल्ने निर्णय गरेसँगै गुटगत संघर्ष झनै चर्किएको हो । विशेषगरी सभापति शेरबहादुर देउवा पक्ष, संस्थापन इतर समूह र वरिष्ठ नेता डाक्टर शेखर कोइराला पक्षीय नेताहरूबीच अविश्वास गहिरिँदै जाँदा पार्टी विभाजनको सङ्घारमा पुग्न लागेको घिमिरेको ठहर छ । त्रिपक्षीय वार्ता: समाधानको प्रयास कि समय टार्ने उपाय ? काँग्रेसभित्रको संकट समाधान गर्न भन्दै शीर्ष नेताहरूबीच त्रिपक्षीय वार्ता सुरु गरिएको थियो । वार्तामा सभापति देउवा समूह, महामन्त्रीद्वय गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्व, नेता कोइरालाको अर्को समूह सहभागी थिए । वार्ताको औपचारिक उद्देश्य पार्टी एकता जोगाउनु, साझा सहमति बनाउनु र महाधिवेशनलाई निष्कर्षमा पुर्याउनु हो । तर व्यवहारमा वार्ता पद बाँडफाँडमै सीमित भएको आरोप पार्टीभित्रैबाट उठिरहेको छ । नेतृत्व संरचना कस्तो हुने, सभापतिको अधिकार कति रहने, महामन्त्री र उपसभापतिको भूमिका के हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । सहमहामन्त्री बद्री पाण्डेका अनुसार वार्तामा नीति र सिद्धान्तभन्दा बढी कसले कति पाउने भन्ने विषय हाबी भयो । यही कारण सहमति सम्भव देखिँदैन । शक्ति सन्तुलनको गणित र गुटगत स्वार्थ नेपाली कांग्रेस लामो समयदेखि गुटको राजनीतिबाट मुक्त हुन सकेको छैन । देउवा समूह संगठन र संसदीय संरचनामा बलियो पकड बनाइराख्न चाहन्छ भने महामन्त्री थापा समूह नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रको पक्षमा उभिएको छ। तेस्रो धारका नेताहरू भने आफू निर्णायक शक्ति बनेर लाभ लिने रणनीतिमा देखिन्छन् । शक्ति सन्तुलनको यही गणितले पार्टीलाई निर्णय विहीन अवस्थामा पुर्याएको छ । कसैले पनि आफ्नो शक्ति गुमाउन नचाहँदा समझदारीको ढोका बन्द हुँदै गएको छ। यसले पार्टीलाई २०५९ सालको विभाजनको स्मृति दिलाएको छ, जसको घाउ अझै पुरिन सकेको छैन । विभाजनको संकेत: संगठन तहसम्म फैलिँदै असन्तुष्टि काँग्रेसभित्रको संकट अब शीर्ष नेताहरूमा मात्र सीमित छैन। जिल्ला, प्रदेशसम्म असन्तुष्टि फैलिँदै गएको छ । पार्टी नेतृत्वले स्पष्ट दिशा नदिँदा कार्यकर्ता अन्योलमा परेका छन्। 'यदि केन्द्रमै सहमति भएन भने हामी कसरी चुनावमा जान सक्छौं ?' भन्ने प्रश्न कार्यकर्ताहरूको छ । गुल्मीका नेता डा. दामोदर भुसाल भन्छन् विशेष महाधिवेशन पछि निकास भन्दा निराशा बढ्ने भयो । चुनावी जोखिम र लोकतान्त्रिक भूमिकामा असर आगामी निर्वाचनको सन्दर्भमा कांग्रेस विभाजन भए त्यसको प्रत्यक्ष असर चुनावी नतिजामा पर्ने निश्चित देखिन्छ। सत्तारूढ वा प्रतिपक्ष जुनसुकै अवस्थामा भए पनि कांग्रेसको कमजोर भूमिकाले समग्र लोकतान्त्रिक प्रणालीमा असर पार्ने राजनीतिक विश्लेषक घिमिरे बताउँछन् । कांग्रेस कमजोर हुँदा कम राजनीतिक अनुभव भएका शक्तिहरू बलियो हुने मात्र होइन, संसद् र सडक दुवैमा सन्तुलन बिग्रने खतरा रहने घिमिरेको बुझाइ छ । घिमिरे भन्छन्, 'इतिहासले देखाइसकेको छ कांग्रेस कमजोर हुँदा मुलुक राजनीतिक अस्थिरतामा फस्ने गरेको छ ।' वर्तमान संकट समाधान गर्ने जिम्मेवारी कांग्रेस नेतृत्वकै काँधमा छ । पद र शक्ति भन्दा माथि उठेर पार्टी, लोकतन्त्र र देशको हित सोच्न नसके विभाजन अपरिहार्य बन्ने संकेत देखिएको छ। यद्यपि अझै पनि संवादको ढोका पूर्ण रूपमा बन्द भइसकेको छैन । सहमहामन्त्री पाण्डे अन्तिम क्षणमा सहमति जुट्न सक्ने आशा व्यक्त गर्छन्। तर समय घर्किँदै जाँदा त्यो आशा क्षीण हुँदै गएको छ। यदि त्रिपक्षीय वार्ता निष्कर्ष विहीन रह्यो भने कांग्रेस औपचारिक विभाजनतर्फ जाने सम्भावना प्रबल हुनेछ । इतिहास दोहोर्याउने कि पाठ सिक्ने ? नेपाली कांग्रेस अहिले इतिहासको अर्को निर्णायक मोडमा उभिएको छ। यसले विगतका गल्ती दोहोर्याउने कि त्यसबाट पाठ सिकेर एकताबद्ध हुने भन्ने प्रश्न खुला छ। पद बाँडफाँट र शक्ति सन्तुलनमा अड्किएर पार्टी टुक्रिने हो भने त्यसको मूल्य कांग्रेसले मात्र होइन, मुलुकले नै चुकाउनुपर्नेछ । अब कांग्रेसका अहिले देखिएका तीनवटै समूहले निर्णय गर्नुपर्ने समय आएको छ, व्यक्तिगत स्वार्थ कि संस्थागत भविष्य ? यही निर्णयले कांग्रेसको आगामी भविष्यको सङ्केत गर्नेछ ।
कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आजदेखि, विधान संशोधन र नेतृत्व बहस केन्द्रमा
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ८ बजेदेखि उद्घाटन सम्पन्न, नीति र नेतृत्व परिवर्तन गर्न सक्ने गगनको उद्घोष काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष विधान महाधिवेशन अन्तर्गतको बन्दसत्र आज सोमबार बिहान ८ बजेदेखि सुरु हुँदैछ । आइतबार राजधानीमा सम्पन्न उद्घाटन समारोहपछि महाधिवेशन औपचारिक छलफल र निर्णयको चरणमा प्रवेश गरेको हो। बन्दसत्रमा पार्टीको विधान, संगठनात्मक संरचना, आन्तरिक प्रक्रिया तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । पार्टी नेता रामप्रसाद अधिकारीका अनुसार उद्घाटन समारोह अपेक्षाकृत व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको छ । महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको दाबी गर्दै नेतृत्व पक्षले यस विशेष महाधिवेशनबाट हुने निर्णयहरू वैधानिक हुने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन आयोजना गर्नुको पृष्ठभूमिमा पार्टीभित्र लामो समयदेखि उठ्दै आएका संगठनात्मक र प्रक्रियागत प्रश्नहरू रहेको अर्का नेता मनोजमणि आचार्यको दाबी छ । नियमित महाधिवेशनको कार्यतालिका अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने विषयमा पार्टीभित्र फरक-फरक धारणा व्यक्त हुँदै आए पनि विशेष महाधिवेशनमा प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले अब पछाडि नफर्किने म्यान्डेट दिएको आचार्यले विश्वास व्यक्त गरे । उनले भने, 'विधानका केही प्रावधान व्यवहारिक नभएको, निर्णय प्रक्रिया अत्यधिक केन्द्रित भएको र आन्तरिक लोकतन्त्रलाई थप स्पष्ट बनाउनुपर्ने आवश्यकता रहेकाले विधान संशोधनका लागि विशेष महाधिवेशनको प्रस्ताव अघि बढाइएको हो ।' उद्घाटन समारोह र नेतृत्वको धारणा आइतबार सम्पन्न उद्घाटन समारोहमा पार्टीका नेता, पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री गगन थापाले महाधिवेशनको उद्देश्य नीति र नेतृत्व परिवर्तनमार्फत पार्टीलाई समयानुकूल बनाउनु रहेको बताए। उनले महाधिवेशनले नीति र नेतृत्वसम्बन्धी बहसलाई समेत अघि बढाउन सक्ने धारणा व्यक्त गरे। सार्वभौम महाधिवेशन प्रतिनिधिले गर्ने फैसला नै अन्तिम हुने थापाले स्पष्ट पारे । उनले प्रतिनिधिहरूको उपस्थितिलाई उल्लेख गर्दै स्पष्ट बहुमत पुगेको र विशेष महाधिवेशनले गर्ने निर्णयहरू वैधानिक हुने दाबी गरे । उनका अनुसार विधानले तोकेको प्रक्रियाअनुसार नै महाधिवेशन आयोजना गरिएको हो । वैधानिकतासम्बन्धी बहस विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी प्रश्न भने पूर्ण रूपमा अन्त्य भइसकेको छैन । केही नेताहरू र इकाइहरूले नियमित महाधिवेशन घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुले प्रक्रियागत जटिलता निम्त्याउन सक्ने तर्क गर्दै आएका छन् । अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार यसअघि नागरिक उन्मुक्ति पार्टीमा यस्तै घटना भएको थियो । अध्यक्ष रञ्जिता श्रेष्ठले गरेको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिएको र केन्द्रीय समितिको निर्णय नभएको प्रसङ्ग आयोगले उठाएको कुँवरले बताए । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पनि विशेष महाधिवेशनको वैधानिकतामा प्रश्न उठ्न सक्ने बताएका छन् । उनले पछिल्लो महासमिति बैठकमा हिन्दु राज्यको मागमा बहुमत केन्द्रीय सदस्य सहमत हुँदा पनि नेतृत्वले त्यसलाई अनदेखा गरेको र अहिले आफू अनुकूल हुँदा वैध ठहर गरिनु बहुमतको मनपरी व्याख्या त होइन भन्ने आशङ्का गर्न सकिने बताए । तर विशेष महाधिवेशन पक्षधर नेताहरू भने महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति, कोरम पूरा भएको अवस्था र विधानले दिएको अधिकारका आधारमा कुनै कानुनी वा संगठनात्मक समस्या नहुने दाबी गरिरहेका छन् । नेता प्रकाश स्नेही रसाइली भन्छन्, 'झण्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिको अनुमोदनलाई अवैध देख्नु दृष्टि दोष मात्रै हो ।' रसाइलीका अनुसार बन्दसत्रमा आवश्यक सङ्ख्याभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। 'विधानले तोकेको न्यूनतम मापदण्ड पूरा भएको छ । अब छलफल र निर्णय मात्रै बाँकी छ,' उनले भने । बन्दसत्रको कार्यसूची आज सुरु हुने बन्दसत्रमा विधान संशोधन मुख्य एजेन्डाका रूपमा रहेको छ। पार्टी स्रोतका अनुसार संशोधन प्रस्तावहरू विभिन्न उपसमितिबाट तयारी अवस्थामा छन् । त्यसबाहेक देशको पछिल्लो समसामयिक अवस्थामा कांग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलका विषयहरूमा सभापति र पदाधिकारीको अधिकार तथा जिम्मेवारी, केन्द्रीय समिति तथा अन्य संरचनाको भूमिका, निर्णय प्रक्रियाको स्पष्टता, अनुशासनसम्बन्धी व्यवस्था र संगठन विस्तारका विधिहरू समावेश छन् । त्यसैगरी उम्मेदवार चयन प्रक्रिया, समानुपातिक प्रतिनिधित्वको व्यवस्थापन, प्रदेश र स्थानीय तहका संरचनाबीचको समन्वय तथा युवा र महिलाको सहभागिता बढाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । राजनीतिक सन्दर्भ र महाधिवेशनको महत्व यो विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको आन्तरिक मामिलासँगै समग्र राजनीतिक सन्दर्भसँग पनि जोडेर हेरिएको छ । पछिल्ला वर्षहरूमा कांग्रेसले सरकार सञ्चालन, गठबन्धन राजनीति र निर्वाचन परिणामका विषयमा मिश्रित प्रतिक्रिया पाएको छ । यस अवस्थामा पार्टीले आफ्नो संगठनात्मक ढाँचा र कार्यशैली पुनरावलोकन गर्नुपर्ने आवाज पार्टीभित्र र बाहिर दुवैतर्फ उठ्दै आएको छ । विशेष महाधिवेशनलाई त्यसैको एक प्रक्रियाका रूपमा लिइएको छ । पछिल्लो समय महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेससँगै देशको राजनीतिमा आशालाग्दा नेताका रूपमा हेरिएको सन्दर्भमा महाधिवेशनले दिने सन्देशको महत्व रहेको राजनीतिक विश्लेषक पर्शुराम घिमिरे बताउँछन् । राजनीतिक विश्लेषकहरूका अनुसार विधान संशोधनले पार्टीको तत्कालीन आन्तरिक व्यवस्थापनमा प्रभाव पार्न सक्छ, तर त्यसको दीर्घकालीन प्रभाव कार्यान्वयनमा निर्भर हुनेछ । बन्दसत्रमा हुने छलफल र निर्णयपछि विधान संशोधनका प्रस्तावहरू औपचारिक रूपमा पारित हुने वा थप परिमार्जनका लागि अघि बढ्नेछन् । त्यसपछि पार्टीले संशोधित विधानअनुसार आफ्ना संगठनात्मक गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ । पार्टी नेतृत्वले महाधिवेशनलाई संस्थागत प्रक्रिया भन्दै यसबाट पार्टी थप व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुँदैछ । उद्घाटन समारोहपछि महाधिवेशन औपचारिक छलफलको चरणमा प्रवेश गरेको छ । विधान संशोधन, संगठनात्मक संरचना र आन्तरिक प्रक्रियाबारे हुने बहसले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नेछ । महाधिवेशनबाट के-कस्ता निर्णय निस्कन्छन् र ती निर्णय कत्तिको व्यवहारमा लागू हुन्छन् भन्ने विषयले मात्र यो विशेष महाधिवेशनको वास्तविक प्रभाव मूल्याङ्कन गर्न सकिनेछ । तर उद्घाटन समारोहमा देखिएको उत्साहले नेपाली कांग्रेसले नेतृत्व गरिरहेको प्रजातान्त्रिक र मध्यमार्गी धारले भने राहतको सास फेरेको छ । पछिल्लो समय उक्त धार नेतृत्वविहीन हुँदा विकल्पका बारेमा सोच्न बाध्य भएका समर्थकहरूलाई विशेष महाधिवेशनले पुनः समाहित गर्न सफल भएको देखिन्छ । अहिलेका लागि कांग्रेस पार्टी एक महत्वपूर्ण आन्तरिक प्रक्रियामा संलग्न रहेको छ, जसको परिणाम समयक्रममा स्पष्ट हुँदै जानेछ ।