‘नयाँको नाराले’ले मोरङ-२ मा पूर्वमन्त्री र मेयरलाई चुनौती
काठमाडौं । देशका अन्य निर्वाचन क्षेत्रजस्तै मोरङ–२ मा पनि केही उम्मेदवारहरूबीच झिनो मतान्तरले प्रतिस्पर्धा र हारजित हुने अंक गणित देखिएको छ । सो क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने अहिलेसम्मको चुनावी माहोल र रणनीतिले देखाएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको बढी मतदाता भएको यो क्षेत्रमा अहिले नयाँ र परिवर्तनको नाराले समीकरण फेरबदल गरिदिएको छ । नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा पराजित भएपछि रिजालले मन्त्री पदबाट राजीनामा दिए । रिजाल पार्टीको महामन्त्रीमा पराजित भएपछि केही समय मौन र गुमनाम बने । रिजाल केही समय पार्टीमा सक्रिय थिएनन् । उनी अध्ययन र आफ्नै कर्ममा व्यस्त थिए । तर, जब शेरबहादुर देउवाले रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरे त्यसपछि पार्टीको गतिविधिमा खुले । जिल्ला–जिल्ला दौडमा पुग्ने उनी कोइराला समूहमा बसे । पार्टीका जिल्ला, क्षेत्रीय तथा गुटगत भेलामा सक्रिय रुपमा डा. शेखर कोइराला समूहमा देखा पर्न थाले । पछिल्लो समय रिजाल कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा थिए । १५ औं महाधिवेशन समयमा नहुने देखिएपछि विशेष महाधिवेशनको माग बढ्यो । उनी पनि खुलेरै विशेष महाधिवेशन पक्षधरको विरोधमा थिए । निर्वाचन आयोगले विशेष पक्षधरलाई मान्यता दिएपछि उनी आयोग परिसरमा अन्य नेतासँगै विरोध गर्न पुगेका थिए । विशेष पक्षधरले मान्यता पाएपछि सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको टिकट लिएर उनी जिल्ला पुगे । गत निर्वाचनमा भने उनलाई शेरबहादुर देउवाले टिकट दिएनन् । उनको बदलामा सुजाता कोइरालाले टिकट पाएकी थिइन् । शेरबहादुरको विरोधमा उत्रेका कारण पनि उनले गत निर्वाचनमा टिकट पाएका थिएनन् । उनी तत्कालीन अवस्थामा देउवा विरोधी खेमा उभिएका थिए । रिजाल देउवा क्याम्प छाडेर कोइराला समूहमा प्रवेश गरेपछि देउवाको चर्को आलोचक थिए । उनले १४ औं महाधिवेशनमा अब निकास दिन नसक्ने भएपछि शेरबहादुर देउवाको काम नभएको भनेर अन्तर्वार्तामा समेत बोलेका थिए । देउवाले टिकट दिएका सुजताले मोरङ २ मा ३१ हजार ९४० मत प्राप्त गरेकी थिइन । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा समेत हार बेहोरेकी थिइन । उनी पार्टीमा लामो समयसम्म सभापति रहेका स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । यो पटक उनै कोइरालाले हार बेहोरेकी क्षेत्रमा रिजाल छन् । उनी पार्टीभित्र विद्वान र सक्षम नेताको रूपमा चिनिन्छन् । त्यसैले पनि विशेष महाधिवेशन पक्षधरले उनलाई टिकट प्रदान गरेको हो । २०७४ को निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए । यो पटकको निर्वाचनमा उनले व्यक्तिगत रुपमा एजेण्डा बोकेका छैनन् । पार्टीले पनि एजेण्डा सार्वजनिक नगरिसकेको अवस्थामा यतिखेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पार्टीमा उनलाई बौद्धिक तथा अध्ययनशील नेताको रूपमा मानिन्छ । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका छन् । फरक दलका कार्यकर्ताले पनि रिजालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । मोरङको २ नम्बर क्षेत्र मध्य पुर्वी भागमा रहेको छ । तर यो पटक उनलाई पुराना दलका उम्मेदवारको भन्दा नयाँ दलको उम्मेदवारबाट त्रास छ । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए । देशभरै परिवर्तनको आवाज उठिरहँदा यो पटक भने रिजाललाई नयाँको चुनौती थपिएको छ । दुई पटक मेयर, अब सांसद बन्ने रहर नेकपा एमालेले भने स्थानीयबासी तथा रंगेली नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । अग्रवाल मेयरमा दुई पटक निर्वाचित भइसकेका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल २०७९ मा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले कांग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरेका थिए । अग्रवाल १२ हजार ८६१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए । दुई–दुई पटक मेयर भएकाले पनि २ नम्बर क्षेत्रमा अग्रवालको प्रभाव रहेको मानिएकाले एमालेले उनलाई टिकट दियो । २ नम्बर क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका थिए । उनले ३३ हजार १४८ मत प्राप्त गरी सुजाता कोइरालालाई हराएका थिए । एमालेका उम्मेदवार अग्रवाल मतदाताको घरदैलोमा मेयर भएर काम गरेको अनुभव सुनाउँदै र नियम कानुन बनाउन जाने भन्दै मत मागिरहेका छन् । संविधान संशोधन र स्थानीयस्तरको विकासका एजेण्डालाई बोकेको अग्रवालले बताए । यहाँका समस्याहरू संघीय संसद र प्रदेश सरकारलाई जानकारी गराउने एजेण्डा बोकेको अग्रवालले बताए । मेयर भएर यस क्षेत्रमा काम गरिसकेकाले मतदाताले काम गर्न सक्ने भएकाले आफूलाई विजयी गराउने उनको दाबी छ । ‘२ नम्बर क्षेत्रका लागि विकास गर्न पर्याप्त बजेट लगाउनलाई सरकारसँग पहल गर्नेछु,’ उनले भने,’ मेयर हुनुभन्दा सांसद बन्न धेरै गाह्रो छ । मेयर रहँदा काम गरिएको थियो तर संसद बनेपछि संविधान र जनताको विषयमा मात्र बोल्न पाइन्छ ।’ साना–ठूला सबै दलका उम्मेदवारलाई कमजोर सम्झन नहुने अग्रवालको भनाइ छ । ‘मेयर हुँदा कार्यकारी भएर बस्यो अब भने ऐन बनाउने लाग्नेछु,’ उनले भने । परिवर्तनको नारा बन्दै चुनौती यो पटक मुलुकभर ठूला दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौती बनिरहेको छ । किनभने मतदाताले परिवर्तन खोजेको आवाज बुलन्द बनाइरहँदा त्यसको माध्यम रास्वपालाई ठानिएको छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा भने रास्वपाले थप मत बढाउने विश्वास गरिएको छ । रास्वपाले २ नम्बर क्षेत्रमा कृष्ण कुमार कार्कीलाई उठाएको छ । उनी स्थानीय भएकाले पनि स्थानीय समस्या बुझेको उनको दाबी छ । पार्टीको एजेण्डा बोकेर मतदाताको घरमा पुगिरहेको कार्कीले बताए । यद्यपि पार्टीले एजेण्डा अगाडि नसारे पनि कार्की भने पार्टीले अगाडि सारेको सुशासन, भ्रष्टाचारको न्यूनीकरणसहित देश तथा समाज निर्माण पहल गर्ने बताए । सबैभन्दा बढी स्थानीय क्षेत्रको समस्यालाई बोकेर संघीय संसद र सरकारमा जाने उनको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा सहजै पुर्याउने एजेण्डा लिएको कार्कीले सुनाए । उम्मेदवार को-को छन् ? यस निर्वाचन क्षेत्रमा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार बनेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन् । यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार मोरङ-२ मा १ लाख २९ हजार १८४ मतदाता रहेका छन् । महिला मतदाता ६१ हजार ५९०, पुरुष ६७ हजार ५९३ र अन्य १ जना छन् । मतदान स्थल ६८ र मतदान केन्द्र १५४ वटा रहेको छ । कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा यस क्षेत्रमा पर्छन् ।
चोरीको ‘इपिसेन्टर’ बन्दै काठमाडौं, जेनजी आन्दोलनपछि घर-घरमा पस्न थाले चोर
घटना १- गत मंसिर २४ गते सिनामंगलस्थित राज श्री फाइनान्सबाट करिब पौने १ बजे रातको समयमा १० लाख २३ हजार ५ सय रुपैयाँ चोरी भयो । मंसिरकै २६ गते सोह्रखुट्टेमा रहेको होटल लोटस ग्राण्डमा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्समा पनि चोरी भयो । घटनालगत्तै काठमाडौंका २ ठाउँमा चोरी गरेको आरोपमा नुवाकोट, बेलकोट नगरपालिका ९ का ठमेल बस्ने दीपक गजुरेललाई प्रहरीले २६ गते नै नियन्त्रणमा लियो । उनीविरुद्ध सहकारी चोरी, चोरी र लागुऔषध तथा अभद्र व्यवहार मुद्दा शीर्षकमा २२ वटा मुद्दा दर्ता भएको थियो । गजुरेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा फरार भएका कैदी थिए । घटना २- पुस १२ गते काठमाडौंको बालुवाटारमा रहेको स्टोर्म नेटवर्कमा चोरी भयो । त्यहाँबाट ४८ लाख ७२ हजार ६२० रुपैयाँ चोरी भएको थियो । सोही दिन इको भ्याली प्रालिबाट ८ लाख ५८ हजार ५४१ रुपैयाँ चोरी भयो । प्रहरीले खोजी गर्ने क्रममा दुर्गाबहादुर केसीलाई ६५ लाख १७ हजार १४० रुपैयाँसहित नियन्त्रणमा लियो । दाङ तुलसीपुर उपमहानगरपालिका ६ का उनलाई दाङ प्रहरीको समन्वयमा प्रहरीले पक्राउ गर्यो । घटना ३- पुस १ गते तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईंको कोठाबाट दुई लाख ९१ हजार रुपैयाँ, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट तीन लाख ७७ हजार रुपैयाँ भयो । काठमाडौं महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्यापटप एक थान गरी करिब सात लाख ४० हजार रुपैयाँ बराबरको चोरी भएको थियो । केही साताअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा पनि चोरी भयो । उनको घरमा चोरी गर्नेका मुख्य योजनाकार नख्खु कारागारबाट फरार रहेका कैदी थिए । काठमाडौं-१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ । उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । नख्खु कारागारबाट भागेपछि उनी पाँचवटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा अत्यधिक मात्रामा चोरीको घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । साउनदेखि पुससम्म मात्र काठमाडौंमा चोरी सम्बन्धी शीर्षकमा ४८४ मुद्दा दर्ता भएका छन् । प्रहरीले सोही अवधिमा मात्र ६८४ जनालाई पक्राउ गरिसकेको छ । डाका चोरीमा २५, साधारण चोरी ४०८, सवारी चोरी ४८ र चोरी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको छ । डाका चोरीमा ४९, साधारण चोरी ५७०, सवारी चोरी ६२ र चोरी उद्योगमा ३ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसरको तथ्यांक अनुसार बर्सेनि चोरीको घटना बढ्दै गएका छन् । पाँच आर्थिक वर्षमा मात्र जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ हजार २८८ चोरी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४३२ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा ४६०, २०७९/०८० मा ६५१, २०८०/०८१ मा ७९४ र २०८१/०८२ मा ९५१ वटा चोरीका मुद्दा दर्ता भएको थिए । पछिल्लो केही महिनायता काठमाडौं लगायत विभिन्न ठाउँमा चोरीको घटना बढ्दै गएका छन् । दिउँसो र रातको समयमा पारेर मानिसहरूका घर–घरमा चोरी भइरहेको प्रहरीले जानकारी दिएको छ । चोरी गर्नेको समूहहरूले हातहतियारसहित घर फोर्न जाने गरेका छन् । अझ बाटामा हिँडिरहेका मानिसलाई कुटपिट गरेर लुट्ने गरेका छन् । गन्तव्यमा गइरहेकाहरूलाई र आफ्नो व्यवसाय गरेर फर्केकालाई समेत मोटरसाइकलमा गएर लुटपाट गर्नेहरू सक्रिय भएका छन् । अझ विशेषगरी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि काठमाडौं उपत्यकामा चोरीका घटना बढेका हुन् । कारागारबाट फरार भएका कैदीहरू चोरीमा संलग्न पाइएको प्रहरी अनुसन्धानबाट खुलेको परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । पछिल्लो समय काठमाडौंमा चोरी घटना बढ्दा कारागारबाट भागेका कैदीबन्दीहरू रहेका छन् । विभिन्न समयमा चोरी जस्ता जघन्य अपराध गरेर कैद भुक्तान गरेर सामान्य जीवनमा फर्केकाहरू संलग्न छन् । कैद भुक्तान गरिसकेका तथा कारागार पुग्नुअघि पुराना काममा अभ्यस्त भइसकेकाहरू काठमाडौंमा चोरीको घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सहरीकरण बढ्दा असामाजिक व्यवहार बढ्दै चोरी अपराधमा सजाय कम हुनाले मानिसहरू यस्ता गलत कर्ममा लाग्ने गरेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । पुराना अपराध कर्म गर्नेहरू चोरी कार्यमा संलग्न रहने गरेको उनको भनाइ छ । ‘सजाय भुक्तान गरेर बाहिर निस्केकाहरूलाई नयाँ कर्म नसक्ने र नआउने भएकाले पुरानो काममा फर्कन्छन्,’ मल्ल भन्छन्,’ काठमाडौं सहर ठूलो भएकाले तथा धनी मानिस बस्ने र धेरै समय कोठामा मानिस बस्दैनन् । मानिसहरू काम गर्न जान्छन र चाबीको भरमा कोठा छोड्ने भएकाले चोरका लागि सहर सहज बनेको छ । चोरले काठमाडौंलाई चोरीको इपिसेन्टर मान्ने गरेका छन् ।’ छिमेकमा मानिसहरू सामाजिक नहुने र एकअर्काबीच बोलचाल नहुनाले घरमा को आयो गयो वास्ता नहुने भएकाले को चोर हो भनेर पहिचान गर्न नसकिने मल्लले बताए । समाजमा चोरी हुनासाथ प्रहरीको सक्रियता बढ्ने गरेको उनको भनाइ छ । ‘किनभने एकजना मानिसको चोरी हुनु भनेको उसको वर्षभरिको कमाइ सकिने गर्छ । समाज वरिपरिका मानिस आफ्नो घरमा चोरी हुन्छ भनेर सचेत हुन्छन्,’ ठकुरीले भने । समाजभित्रका सामाजिक संरचनाले मानिसका इच्छा र आकांक्षा पूरा हुन नदिएपछि विचलित हुने गरेको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । समाज रूपान्तरण हुने बेला समाजले संक्रमण भोग्ने हुँदा समाजले फरक-फरक स्वरूप देखाउने गरेको उनको बुझाइ छ । ‘मानिस विचलित हुँदा आफ्ना इच्छा तथा आकांक्षा पुरा गर्न चोरी कार्यमा संलग्न हुने गरेका छन्,’ समाजशास्त्री गौतम भन्छन्,’ पैसा र धन प्रधान मानिने समाजमा मानिसहरू चोरी गर्छन् ।’ समाजमा विचलित भएपछि समाजले कानुन र नियमको परिधिमा नबस्ने गौतमको भनाइ छ । चोरी गर्नेहरू समाजबाट विचलित भएका र आफूलाई कानुनभन्दा माथि सोच्ने भएकाले चोरी गर्ने गरेको उनले उल्लेख गरे । पुँजीवादी बजार र समाजको विकास हुँदा मानिसहरू नयाँ–नयाँ कुराको खोजी गर्ने गरेको गौतमले बताए । समाज रुपान्तरण हुन थालेपछि समाज र मानिसले फरक–फरक व्यवहार गर्ने गरेको उनको बुझाइ छ । विद्यमान मानिसहरूले सामाजिक मूल्य मान्यतालाई नस्वीकार्नेहरू चोरी कर्ममा लाग्ने गरेको उनले बताए । पटके चोरी बढ्दै वार्षिक तथ्यांकले चोरीको घटना बढेको मान्न सकिने परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । स–साना चोरीका घटना बढिरहेको उनको भनाइ छ । अपराधका विभिन्न स्वरूप हुने गरेको प्रवक्ता भट्टराई बताउँछन् । ‘चोरीको घटनामा पटके अपराधमा मुछिएका हुन्छन्,’ उनले भने, ‘उनीहरू पुरानो काममा फर्कने गरेको पाइएको छ । दुई–तीन वर्षसम्म कारागार बसेर निस्केकाहरू चोरीका घटना संलग्न रहेका छन् ।’ अपराधको विभिन्न स्वरूपहरू हुने गरेको उनले प्रस्ट पारे । प्रहरीको अनुसन्धानबाट लुगा चोर्नेले लुगा चोर्ने र सुनचाँदी चोर्नेले सुनचाँदी मात्र चोर्ने गरेको उनको भनाइ छ । चोरी गर्नेले सधैंभरि एकैनासको मात्र चोरी गर्ने गरेको उनले बताए । उनका अनुसार चोरी कार्यमा बढीजसो १३ देखि ६५ वर्ष उमेर समूहका पुरुषहरू संलग्न छन् । चोरी अपराधमा अधिकांश युवाहरू हुन्छन् । विवाहित र अविवाहित दुवै खालका मानिसहरू चोरी कार्यमा रहने गरेका छन् । चोरीबाट बच्न के गर्ने ? मानिस कहीँकतै जानुपर्ने भएमा घर पूर्णरुपमा खाली गरेर नजान तथा जानैपर्ने भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने सुझाव प्रहरीको छ । रातको समयमा झ्याल, ढोका राम्रोसँग बन्द गर्न र महँगा गरगहना लगाएर एक्लै नहिँड्न पनि प्रहरीको सुझाव छ । प्रहरीले नचिनेको मान्छेलाई फोन नदिन पनि सल्लाह दिएको छ । सरकारी कार्यालय र बैंक वित्तीय संघ संस्थाहरूमा काम विशेषले जाँदा सवारीसाधन सुरक्षित ठाउँमा पार्किङ गरी सुरक्षा गार्डलाई जानकारी गराउनुपर्ने सुझाव पनि प्रहरीको छ । प्रहरीका अनुसार जथाभावी सवारीसाधन पार्किङ नगर्न, पार्किङ गर्दा ह्विल लक, साइरन प्रयोग गर्न, रातको समयमा अध्याँरो गल्लीमा पार्किङ नगर्न तथा बैंक तथा वित्तीय संस्थाका सुरक्षा गार्डलाई सीसी क्यामेराको अगाडि राख्न लगायत सुझाव दिएको छ ।
धनकुटामा राईबीच कडा प्रतिस्पर्धा, कांग्रेस र एमालेलाई प्रतिष्ठाको लडाइँ
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलोमा गई मतदातासँग भोट मागिरहेका छन् । धनकुटामा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । एकमात्र क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट दिनेश राई उम्मेदवार बनेका छन् । उनी कांग्रेस जिल्ला सभापति पनि हुन् । धनकुटामा कांग्रेसको तर्फबाट शक्तिशाली दाबेदार मानिएका सुनिलबहादुर थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि राईले टिकट पाएका हुन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका थापा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । जबकि २०७० को निर्वाचनमा तिनै राईलाई पराजित गर्दै थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित भएका थिए । थापा राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । पिताको विरासत थाम्न नसकेर उनी नेपाली कांग्रेसमा समाहित भएका हुन् । कांग्रेसबाट टिकट पाएका राई धनकुटा तरुण दलको पूर्वअध्यक्ष, धनकुटा क्याम्पसको नेविसंघ पूर्वसभापति र महाधिवेशन प्रतिनिधिसमेत हुन् । यसपालि कोशी प्रदेशबाट नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अगुवाइ पनि उनै राईले गरेका थिए । राई धनकुटा कांग्रेसमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् । पार्टीभित्र फरक विचार र विरोधी स्वभाव भएकैले उनी धनकुटाको भूगोलमा भिजेका छन् । आगामी निर्वाचनमा आफ्नो पक्षमा मत पार्ने गरी उनी हाल घरदैलो अभियानमा पुगिसकेका छन् । कांग्रेसले फ्रेस र विवादरहित उम्मेदवार उठाएकाले निर्वाचित हुन सक्ने स्थनीय बताउँछन् । कांग्रेसका उम्मेदवार राईले पनि आफूले सहजै जित हासिल गर्ने बताए । ‘हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग हो । नयाँ वा पुरानो कुनै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन मात्र एमालेसँग हो,’ उनले भने । गत निर्वाचनमा वाम गठबन्धनको विरुद्धमा बागी उम्मेदवार खडा गरिएकाले पनि कांग्रेसको उम्मेदवार पराजित भएको उनको भनाइ छ । यसपटक सबै दलका सिंगल-सिंगल उम्मेदवार उठेकाले कांग्रेसले जित हासिल गर्ने उनको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा धेरै मत लिए पनि आफ्नो जित सुनिश्चित रहेको राईले जिकिर गरे । नेकपा एमालेले भने दुई पटक विजयी भइसकेका उम्मेदवार राजेन्द्र राईलाई उठाएको छ । राई धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन् । २०७० को संविधान सभा निर्वाचनमा पराजित भएपनि उनले २०७४ र २०७९ को निर्वाचनमा जित हासिल गरेका थिए । गत निर्वाचनमा राईले ३० हजार १०१ मत प्राप्त गरेका थिए । राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भइसकेका छन् । धनकुटाको मतदातालाई रिझाउन सकेकै कारण उनी दुई पटक निर्वाचित भएका हुन् । राई २०४७ सालमा अनेरास्ववियूको धनकुटा अध्यक्ष थिए । एमालेका तर्फबाट २०४९ मा तत्कालीन जिल्ला विकास समिति सदस्य बनेका उनी २०५४ मा जिविस उप-सभापतिसमेत भएका थिए । २०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर पार्टीमा काम गरेको अनुभव राईसँग छ । राईले निर्वाचित भएर गएपछि विकासका काम धेरै गरेकाले उनीप्रति धेरै मतदाताहरू आशावादी रहेकाे एमालेका नेताहरू बताउँछन् । तर कर्मचारीवृत्तमा भने राईको छवि राम्रो देखिँदैन । दुई वर्षअघि उनले पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियो सार्वजनिक भएको थियो । यद्यपि पार्टीले उनै राईलाई पुनः टिकट दिएको छ । उनी अहिले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । राईलाई तेस्रोपटक विजयी गराउन धनकुटा एमालेले वडा-वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसार अभियान सुरु गरिसकेको एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष शिव आङ्ला लिम्बु बताउँछन् । एमालेको उम्मेदवारले हार्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे । ‘अन्य राजनीतिक दलका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गर्न थालिसकेका छन् । राम्रो उम्मेदवार भएकैले अरू दलका कार्यकर्ता एमालेमा आकर्षित भएका छन्,’ अध्यक्ष लिम्बु भन्छन्, ‘जिल्लाभरका अधिकांश मतदाताहरू हाम्रो उम्मेदवारप्रति सकारात्मक छन् । हाम्रो उम्मेदवार विजयी हुनेमा सतप्रतिशत ढुक्क छौं ।’ गत निर्वाचनमा अन्य दलले गठबन्धन गर्दा पनि जित्न सफल भएको उनले स्मरण गराए । ‘फागुन २१ गते हुने निर्वाचनमा सबै दलका उम्मेदवारहरू सिंगल-सिंगल चुनावी मैदानमा छन् । सहजै विजयी हासिल गर्नेमा हामी विश्वस्त छौं,’ उनले प्रस्ट पारे । एमालेको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न अन्य दलका उम्मेदवार नभएको लिम्बुले जिकिर गरे । ‘हाम्रो प्रतिस्पर्धा भयो भने कांग्रेसको उम्मेदवारसँग मात्र हुन्छ । नयाँ दलका कुनै पनि उम्मेदवारसँग प्रतिस्पर्धा हुन्न । हामीसँग प्रतिस्पर्धा गर्ने कुनै पनि योग्य उम्मेदवार देखा परेका छैनन्,’ उनले सुनाए । रास्वपाको तर्फबाट उम्मेदवार दिनेश भण्डारी छन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले धनकुटामा उम्मेदवार उठाएको थिएन । धनकुटा रास्वपाका सभापति बालानन्द दाहालले पार्टीले तोकेको उम्मेदवारीलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसार गरिरहेको बताए । मतदाताको प्रतिक्रिया सकारात्मक पाइएकाले रास्वपा उम्मेदवारले राम्रो मत प्राप्त गर्न सक्ने उनको बुझाइ छ । ‘मतदातालाई पटक-पटक झुक्याउने काम भएको छ,’ उनले भने, ‘पुराना दलले मतदातालाई झुक्याएको कारण हाम्रो दलप्रति धेरै मतदाताहरू सकारात्मक रहेका छन् ।’ ‘रास्वपासँग ठूला दलका उम्मेदवारहरू आत्तिएका छन् । हाम्रो उम्मेदवारको प्रतिस्पर्धा ठूला दलसँग हुनेछ,’ उनको दाबी छ । क-कसले दिए उम्मेदवारी ? नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविवन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईले उम्मेदवारी दर्ता गराएका छन् । मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । ११९ वटा मतदानस्थल र १६६ वटा मतदान केन्द्र रहेको छ ।
सुनसरी ४ मा पूर्वमन्त्रीको भीडन्त : ह्याट्रिक दौडमा कार्की र बदला लिने दाउमा जगदीश
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् । सुनसरीको क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्की सोही क्षेत्रबाट विजयी भएका थिए । दुई पटक निर्वाचित भइसकेका कार्की फागुन २१ गते हुने निर्वाचनमा ह्याट्रिक बनाउने तामझामसहित चुनावी मैदानमा कार्की कस्सेर लागिपरेका छन् । गत निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । उनी तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार थिए । पार्टी र सत्तामा पहुँच राख्दै आइरहेका खोज्ने कार्की लाई गत निर्वाचनमा जस्तो सहज छैन । गठबन्धन हुँदा पनि उनी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले मात्र विजयी भएका थिए । ४ नम्बर क्षेत्रका स्थानीयहरू उनलाई पर्यटक उम्मेदवार भन्ने गर्दछन् । भोजपुरमा पटक–पटक पराजित भएपछि कार्की सुनसरीतिर झरेका थिए । २०५१, २०५६ र २०६४ सालका तीनपटक चुनाव लडे पनि उनी पराजित भए । पहाडबाट तराई झरेसँगै उनी दुईपटक निर्वाचित भइसकेका छन् । स्थानीयहरू कार्कीसँग असन्तुष्ट छन् । दुई–दुई पटक सांसद भइसक्दा पनि केही गर्न नसकेको गुनासो उनीहरूको छ । घरदैलो अभियान व्यस्त कार्कीले हाल मतदाताहरूको प्रश्नको सामना गरिरहेका छन् । ४ नम्बर क्षेत्रबाट जितेर गएका व्यक्ति देशको प्रधानमन्त्री र मन्त्री बनिसके पनि यस क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको मतदाताहरूले आरोप लगाउने गरेका छन् । अहिलेको चुनावी घरदैलो कार्यक्रममा पहिलाजस्तो छैन । मतदाताहरूले उम्मेदवारहरूलाई विभिन्न प्रश्न गर्न थालेका छन् । धेरैले ‘पुरानाले केही गर्न सकेनन्’ भनी परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्दै आएको सुनिन्छ । सुनसरी ४ मा यसपटक कार्कीले पाइरहेको मत अन्यत्र जान सक्ने सम्भावना धेरै छ । किनभने स्थानीय स्तरका नेताहरूले टिकट नपाएकाले धेरैजना उनीप्रति रुष्ट बनेका छन् । नेपाली कांग्रेसमा नेतृत्त्व परिवर्तन भएको छ । गगन थापा सभापति भएका छन् । प्रतिनिधि सभाको निर्वाचन दिने टिकटमा उनै थापाले हस्ताक्षर गरेका छन् । यद्यपि कार्की विशेष महाधिवेशनको विपक्षमा थिए । उनी देउवा समूहमा भए पनि टिकट पाएका छन् । कार्यकर्ता र मतदाताले साथ दिएमा ४ नम्बर क्षेत्रमा पुनः ह्याट्रिक गर्ने प्रयासमा उनी छन् । यसैगरी, एमालेले पनि पुनः गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोर्याएको छ । कोशी प्रदेशका पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन् । एमालेले उनलाई अन्तिम समयमा आएर टिकट प्रदान गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल हुसेन अन्सारीलाई उम्मेदवारीको टिकट दिएको थियो । हुसेन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए । जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका थिए । पार्टीले सुरुमा कुसियैतलाई नै टिकट दिएको थियो । पछि एमालेमा प्रवेश गरेका हुसेनलाई टिकट दिएपछि सुनसरी एमालेमा तरंग फैलियो । चौतर्फी विरोधस्वरूप भएपछि कुसियैतले टिकट पाएका छन् । पार्टीले पनि यसवर्ष नेपाली कांग्रेसको उम्मेदवार कार्र्कीलाई टक्कर दिनसक्ने उम्मेदवारको रूपमा ठानेर उनैलाई टिकट दियो । २०७९ को निर्वाचनमा मात्र ११२ मतले कुसियैत पराजित भएका थिए । उनले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । सुनसरी– ४ कुसियैतको स्थानीय क्षेत्र भएकाले पनि उनलाई यस पटकको निर्वाचनमा मत प्राप्त गर्न कुनै कठिनाइ नहुने बुझिएको छ । उक्त निर्वाचन क्षेत्रमा कुसियैत समुदायका मानिसहरूको बाहुल्याता रहेको छ । गत निर्वाचनमा भन्दा एमालेको मत बढ्ने अपेक्षा पनि गरिएको छ । भर्खरै पार्टी परिवर्तन गरेका अब्दुल हुसेनका कारण कांग्रेसको मत कुसियैततर्फ जानसक्ने आंकलन स्थानीयस्तरमा हुन थालेको छ । प्रदेश सभामा निर्वाचित भएर गइसकेका कारण पाउने मत नहराउनेमा उनी विश्वस्त छन् । हेभीवेटको उम्मेदवार भएकाले कांग्रेसको जित पक्का नेपाली कांग्रेसका ४ नम्बरको क्षेत्रीय सभापति ऐयुब अन्सारीले यस पटकको निर्वाचनमा सहजै जित हासिल गर्ने बताए । ‘नेपाली कांग्रेसका उम्मदेवार मत माग्न घरदैलोमा लागिसक्नु भएको छ,’ उनले भने, ‘पटक–पटक जितेको उम्मेदवार हुनु भएकाले हाम्रो उम्मेदवारको विजयी हुने विश्वास छ ।’ धेरै उम्मेदवार उठेकाले मत विभाजन हुने भएकाले कांग्रेसको उम्मेदवारलाई फाइदा हुने देखिएको उनले बताए । ‘कांग्रेसले उठाएको उम्मेदवार हेभीवेटको हुनुहुन्छ र मन्त्रीसमेत भइसकेकाले यसपटक पनि यहाँको मतदाताले उहाँलाई विजयी गराउनु हुने कुरामा म ढुक्क छु,’ अन्सारीले भने । कांग्रेसको नेतृत्व फेरिएकाले हाम्रो उम्मेदवारले मत बढाउने उनको भनाइ छ । कांग्रेसको उम्मेदवारप्रति बाहिर कहीँ कतै नकरात्मक टिप्पणी नआएको उनको दावी छ । यसपटकको जित एमालेकै हो एमाले रामधुनी नगरपालिका नगर कमिटी सचिवालय सदस्य कमल कार्कीले गत निर्वाचनमा एमालेको उम्मेदवार झिनो मतले पराजित भएकाले यसपटक विजयी हुने विश्वास व्यक्त गरे । अहिले एमालेका संगठित कार्यकर्ताहरू टोल–टोलमा आफ्नो उम्मेदवारलाई कसरी विजयी गराउने भनेर गृहकार्य गरिरहेको उनले बताए । ‘गत निर्वाचनमा कसरी एमालेका उम्मेदवार पराजित भए त्यसको समीक्षा गरेर अगाडि बढ्नेछौ,’ उनले भने, ‘हाम्रा कमजोरी कहाँ–कहाँ भए त्यसको पहिचान गरेर उम्मेदवारलाई विजयी बनाउने छौं ।’ कांग्रेसका उम्मेदवारप्रति यस क्षेत्रका मतदाता सन्तुष्ट नभएकाले एमालेको उम्मेदवारको विजयी सुनिश्चित भएको उनले दाबी गरे । ४ नम्बर क्षेत्रमा नयाँ दलले पुराना दलका उम्मेदवारलाई चुनौती दिन नसक्ने उनको ठहर छ । ‘एमालेको उम्मेदवारले पाउने मत यसपालि बढ्नेछ,’ नगर कमिटी सचिवालय सदस्य कार्की भन्छन्, ‘मत बढ्नु भनेको हाम्रो जित सुनिश्चित हो । एमालेबाट निर्वाचित स्थानीय तहका उम्मेदवारले कहाँ-कहाँ के-के विकास त्यसको समीक्षा भइरहेको छ ।’ स्थानीय तहमा एमालेका जनप्रतिनिधिले विकासका मुद्दालाई लिएर उठाएकाले यस क्षेत्रमा एमालेको उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । अन्य को–को छन् उम्मेदवार ? महमद महफुज अन्सारी नेपाल कम्युनिष्ट पार्टी, दीपक कुमार साह रास्वपा, प्रेमप्रसाद भट्टराई राप्रपा, सबिता यादव जनता समाजवादी पार्टी, नेपाल, कपलेश्वर यादव जनमत पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, मनकुमार राई मंगोल नेशनल अर्गनाइजेशन, रमेश कुमार शाह नेपाल जनता पार्टी, सत्य नारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी संयुक्त, एयुव अंसारी समावेशी समाजवादी पार्टी नेपाल, मो सदिक मिया संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विष्णुर राना श्रम संस्कृति पार्टी, भेषराज बजगाई नेपाल कम्युनिष्ट पार्टी माओवादी, समिद खान राष्ट्र निर्माण दल नेपाल, तवरेज आलम अंसारी आम जनता पार्टी, शर्मानन्द खतिवडा स्वतन्त्र, तेजनारायण गोईत स्वतन्त्र, बुधेश्वर यादव स्वतन्त्र, मो गुलाब अंसारी स्वतन्त्र, पार्वती मुखिया स्वतन्त्र, मो तजमुल मिया स्वतन्त्र, अंकित कार्की स्वतन्त्र, हरि पराजुली स्वतन्त्र, महेन्द्र सुनचौरी स्वतन्त्र, रोजन विश्वकर्मा स्वतन्त्र, देवनारायण महत्तो स्वतन्त्र, कुन्दन कौसिक स्वतन्त्र, जलाल मिया स्वतन्त्र, फुल कुमारी खान स्वतन्त्र, उपेन्द्र कुमार साह स्वतन्त्र र स्वतन्त्र यमुना केसी लगायतका उम्मेदवार छन् । सुनसरी निर्वाचन कार्यालयका अनुसार ४ नम्बर क्षेत्रमा ४२ वटा मतदानस्थल छन् । १५० वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा कोशी गाउँपालिकाको १ देखि ७ नम्बर वडा, बराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा, रामधुनी नगरपालिका ४, इनरूवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५,६ र ७ नम्बर वडा पर्छन् ।
सुनसरी-२ मा एमालेभित्रको द्वन्द्वले कांग्रेस र रास्वपालाई राहत, यस्तो छ चुनावी अंकगणित
काठमाडौं । सुनसरी २ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन रोचक हुँदैछ । किनभने गत निर्वाचनमा जस्तै पुराना दलले नयाँ र टेस्टेड उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि प्रदेश सभा सदस्य भइसकेका राजीव कोइरालालाई उठाएको छ । कोइराला जिल्लामा कांग्रेसवृत्तमा राम्रो नेता मानिन्छन् । उनी सुनसरी कांग्रेसको दुई पटक सभापति भइसकेका छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा २ नम्बर क्षेत्रबाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए । उनले ३२ हजार ८ सय मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ पाएका थिए । प्रदेश सभाकै निर्वाचनमा कोइरालासमेत पराजित भएका थिए । उनी एमालेका उम्मेदवार रामप्रसाद मेहतासँग पराजित भएका थिए । एमालेका उम्मेदवार मेहताले १८ हजार १९१ मत प्राप्त गरेका थिए । कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका थिए । यतिखेर कांग्रेसका उम्मेदवार कोइरालाले घरदैलो अभियान सुरु गरिसकेका छन् । उनलाई यसपटक प्रदेशसभाको निर्वाचनमा पराजित भएको बदला लिनु छ । कोइराला निर्वाचित भए यात्रा विराटनगरबाट काठमाडौंतर्फ मोडिनेछ । यसअघि उनी प्रदेशसभाका लागि विराटनगर जाने गर्थे । उनी कोशी प्रदेश सभा कांग्रेसबाट संसदीय दलका नेतासमेत भएका थिए । कांग्रेसका कार्यकर्ता तथा शुभ चिन्तकहरूले एमालेले कमजोर उम्मेदवार उठाएकाले पनि राजीव कोइरालाले सहजै जित हासिल गर्ने अनुमान गरेका छन् । २ नम्बर क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाका कांग्रेस सभापति सुदीप अधिकारी कांग्रेस र रास्वपाको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताउँछन् । ‘कांग्रेसको विशेष महाधिवेशनको कारण हामीलाई मतदाताको घरमा जान सहज भएको छ,’ उनले भने, ‘पुराना नेताहरूलाई विशेष अधिवेशनबाट नेतृत्वबाट विदा गरेका छौं भनेर भन्न पाइएको छ । यसपटक कांग्रेसको उम्मेदवार निर्वाचित भएमा युवा नेतृत्वले मुलुक हाँक्न सक्छन् ।’ पार्टीले विवादरहित र निष्कलंक उम्मेदवार उठाएको अधिकारी दाबी गर्छन् । उनले भने, ‘अन्य दलका व्यक्तिहरू पनि कांग्रेसको उम्मेदवारप्रति सकारात्मक रहेको पाइएको छ । प्रदेश सभा सदस्य भइसकेको र दुई पटक जिल्ला सभापति भइसकेकाले उहाँप्रति सबैको भरोसा छ ।’ कार्यकर्ताहरूले मिहिनेत गरेमा यसपटक कांग्रेसको उम्मेदवार विजयी हुने सम्भावना रहेको उनको भनाइ छ । जति धेरै जितको सम्भावना भए पनि कोइरालालाई चुनौती उत्तिकै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ दलहरूले भोट काट्ने जोखिम उत्तिकै छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वापाले करिब २० हजार मत हासिल गरेको थियो । यस पटकको निर्वाचन झन रास्वपामय भएको चुनावी माहोलले देखाइरहेको छ । सुनसरी २ मा आलोपालो कांग्रेस एमालेको जित हुँदै आएको इतिहास छ । प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा कांग्रेसका सीताराम मेहताले जित हासिल गरेका थिए । गत निर्वाचनमा भने एमालेका भीम आचार्य निर्वाचित भएका थिए । त्यहीँ भएर पनि कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा कार्यकर्ताहरू ढुक्क छन् । कतिपय कार्यकर्ताहरू आत्मविश्वासका साथ निर्वाचन प्रचारप्रसारमा लागेका छन् । त्रिपक्षीय प्रतिस्पर्धा सुनसरी २ मा भने एमालेले कोशी प्रदेश युवा संघका संयोजक सुजन लामालाई टिकट दिएको छ । सुरुमा एमालेले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई त्यस क्षेत्रमा टिकट दिइएको थियो । तर, पछि उनको टिकट खोसेर लामालाई दिइएको थियो । उनले टिकट पाउनासाथ सुनसरी एमालेमा विरोध भएको थियो । लामा एमाले युवाहरूमा मात्र परिचित छन् । २ नम्बर क्षेत्रमा युवाको भन्दा वयस्क उमेरका एमालेहरूको बाहुल्यता रहेकाले उनीमाथि अन्तर्घात हुन सक्ने सम्भावना देखिन्छ । लामा युवा उम्मेदवार भएकाले समाज र राजनीतिक चेतना समेत नभएको भन्दै स्थानीयहरू असन्तुष्टि छन् । उनलाई निर्वाचनमा सबैभन्दा धेरै धोका एमालेका कार्यकर्ताबाट हुने बताइएको छ । इटहरीको १० वटा वडामा एमालेको मत राम्रो रहेको छ । सोही क्षेत्रमा एमालेको मतदाता रहे पनि तल्लो क्षेत्रमा भने एमालेको उपस्थिति न्यून छ । अन्य स्थानीय तहका वडामा एमालेको मत कमजोर रहेको छ । अन्य भेगमा एमालेको भन्दा कांग्रेसको मतदाताहरूको संख्या बढी छ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य डेगराज फुँयालले २ नम्बर क्षेत्रमा २० भन्दा बढी वडामा एमाले जनप्रतिनिधि रहेकाले आफ्नो उम्मेदवारले सहजै जित हासिल गर्ने दाबी गरे । ‘एमालेको उम्मेदवारलाई जिताउन घरदैलो अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रबाट युवा उम्मेदवार रहेकाले अन्य दलका युवाहरू एमालेमा प्रवेश गर्ने लहर बढेको छ ।’ २ नम्बर क्षेत्रका एमालेहरू उम्मेदवारलाई विजयी गराउन एकढिक्का भएर लागिसकेको फुँयालले बताए । पार्टीका पुराना तथा अग्रज कार्यकर्ताहरूमा अहिलेको उम्मेदवारमा कुनै तुष नभएको दाबी गरे । कार्यकर्ता एक भएर सबै वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसारमा लागिसकेको फुँयालले बताए । ‘२ नम्बर क्षेत्रमा एमालेको प्रतिस्पर्धा कांग्रेसको उम्मेदवारसँग हुन्छ,’ उनले भने । गत निर्वाचनमा रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए । यस पटक पनि पार्टीबाट तिनै उम्मेदवार पुनः दोहोरिएका छन । मुलुकभर रास्वपातर्फ मतदाताहरू आकर्षित भएकाले उनले पनि जित हासिल गर्न सक्ने सम्भावना बढी देखिन्छ । यी हुन् अन्य उम्मेदवारहरू सुनसरी २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुजना लामा, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, रास्वपाबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता, नेमकिपाबाट गीता मैया बाजीको उम्मेदवारी परेको छ । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट अतित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति राईबाट चेतन राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टी गोपाल तामाङ, राष्ट्रिय मुक्ति नेपाल सन्तोष कुमार मेहता, राष्ट्र निर्माण दल नेपालबाट आदित्य आचार्य र आम जनता पार्टीबाट निरञ्जन ठाकुर चुनावी प्रतिस्पर्धामा छन् । सुनसरी–२ मा स्वतन्त्र उम्मेदवारका रुपमा अन्जनता देवी गुप्ता, इफतखार हसन (इकवाल), डम्बरबहादुर बराइली, देवेन्द्र पौडेल, नवराज पौडेल, भीमबहादुर दाहाल, रोसनी राई, राजकुमार खत्री रसत्यनारायण पण्डित उम्मेदवार बनेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदाता रहेका छन् भने ४० वटा मतदानस्थल र मतदान केन्द्र १६१ वटा रहेका छन् । २ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको १० वटा वडा, रामधुनी नगरपालिकाको ६ वटा वडा, इनरूवा नगरपालिकाको ६ वटा वडा, देवानगञ्ज गाउँपालिकाको ७ वटा वडा र हरिनगर गाउँपालिका १ वटा वडा पर्छन् ।
मोरङ ३ : जित दोहोर्याउने दाउमा सुनिल, एमालेका उम्मेदवार पहाड उक्लिँदा मतदाता फकाउँदै रास्वपा
काठमाडौं । फागुन २१ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । धेरै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई चुनाव लागिसकेको छ । अधिकांश उम्मेदवारहरू घरदैलो र चुनाव प्रचारप्रसारमा लागिसकेका छन् । यस पटकको निर्वाचनमा पनि केही उम्मेदवारहरू पुनः चुनावी मैदानमा छन् । मोरङ ३ मा गत चुनावको भन्दा फरक प्रतिस्पर्धा हुनेछ । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारको रूपमा कलाकार रेखा थापासमेत चुनावी प्रतिस्पर्धामा थिइन् । यो पटक उनी उम्मेदवार छैनिन् । उनले १० हजार ९८८ मत ल्याएकी थिइन् । नायिका थापा हारेकी ठाउँमा नायक बन्ने दाउमा मोरङ ३ उम्मेदवारहरूको रोचक रस्साकस्सी चल्ने भएको छ । मेडिकल व्यवसायी, साहित्यकार र बौद्धिक युवा उम्मेदवारहरू चुनावी मैदानमा होम्मिएका छन् । तर, नेपाली कांग्रेसका हेभीवेट मानिएका मेडिकल व्यवसायी तथा चर्चित नेता सुनिल शर्माले पुनः टिकट पाएर चुनावी दौडमा छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा शर्मा ४८ हजार ६३१ मत प्राप्त गरी विजयी भएका थिए । यसपालि पनि उनी विजयी हुने दौडमा लागिसकेका छन् । यतिखेर उनी मतदाताको घर आँगनमा पुगिरहेका छन्। २०७४ को चुनावमा एमालेका नेता भानुभक्त ढकालसँग उनी पराजित भएका थिए । उनले २५ हजार ८९५ मत प्राप्त गरेका थिए । ढकाल विजयीपश्चात पुनः त्यस क्षेत्रमा फर्केनन् । उनलाई मतदाताले विश्वास नगर्दा हार बेहोरेका थिए । यसपटक भने ढकाल आफ्नो पुरानो थातथलो तेह्रथुमतर्फ उक्लिएका छन् । उनलाई मोरङ–३ का मतदाताले टुरिस्ट उम्मेदवार भन्दै आएका थिए । शर्मा मेडिकल व्यवसायी तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन् । उनले संसदीय प्रणालीको स्वाद चाखिसकेकाले पनि होला पुनः जितको दाबी गर्दै चुनावी मैदानमा छन् । शर्मा संसदमा उग्र र उट्पट्याङ शैलीमा बोल्थे । पार्टीका कार्यक्रममा सबैभन्दा बढी चर्को स्वरमा उनैको आवाज सुनिन्थ्यो । पार्टीका कार्यक्रममा वा सार्वजनिक स्थानमा उनी आफूलाई फरक शैलीमा प्रस्तुत गर्थे । शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा नेपाल प्रहरीको सीआइबी टोलीले नियन्त्रणमासमेत लिएको थियो । सीआईबीको हिरासतमा एक रात बसेर काठमाडौं जिल्ला अदालतको आदेशमा उनी छुटेका थिए। अहिले उनले घरदैलोकै क्रममा भन्ने गरेका छन्, ‘मलाई यसपटक ७० हजार मतले विजयी गराइदिनु होला ।’ उनले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गरिब, विपन्न तथा सिमान्तकृत समुदायका मतदातालाई निःशुल्क उपचार गराइ दिने गरेका छन् । ३ नम्बर क्षेत्रका धेरै ठाउँमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराएका छन् । कोभिड-१९ को महामारीमा पनि शर्माले एम्बुलेन्स उपलब्ध गराएका थिए । जसको कारण त्यस क्षेत्रका बिरामीहरू सहजै अस्पतालसम्म पुगेका थिए । सोही क्षेत्रमा शर्माले ४ वटा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् । निःशुल्क उपचार गरिदिने प्रलोभनमा पनि शर्माको पक्षमा मतदाताहरूले मत दिने गरेको पाइएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा शर्माको क्षेत्रका मतदाताले खान बस्नसहित सुविधा लिएर पाउने गर्छन् । अस्पतालमा सहजै उपचार पाइने प्रलोभनमा मतदाताको रोजाइमा शर्मा पर्ने गरेका छन् । एमालेले उठाएका अर्का उम्मेदवार इरान राई हुन् । उनी बेलबारीमा विवादरहित मानिन्छ । शिक्षासेवी र साहित्यप्रेमीको रूपमा उनी परिचित छन् । यस क्षेत्रमा एमालेको राम्रो संगठन भएको मानिन्छ । यद्यपि गत निर्वाचनमा एमालेको उम्मेदवार पराजित भएका थिए । तर, प्रदेश सभाको एक क्षेत्रमा भने उम्मेदवार विजयी बनेका थिए । ३ नम्बर क्षेत्रमा प्रदेश सभाको २ वटा क्षेत्र रहेका छन् । राईले बेलबारी क्षेत्रमा शालिन र भद्र शैलीको परिचय बनाएका छन् । शिक्षा तथा साहित्यमा पुर्याएको योगदान मुलुकको शासनसत्तामा पुर्याउने धोकोसहित चुनावी मैदानमा छन् । साहित्यमार्फत समाजका समस्यालाई उतार्ने राई यस पटक संसदमा पुगेर मुलुकलाई फेर्ने अभियानमा लागेका छन् । हाइकु लेखनमा रुचि राख्ने संसदीय राजनीतिमा चाख जगाएर निर्वाचनको नतिजा आफ्नो पक्षमा उनी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङको ३ नम्बर क्षेत्रमा युवा गणेश कार्कीलाई उम्मेदवार उठाएको छ । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार विकास उप्रेतीले ३ हजार १७२ मत प्राप्त गरेका थिए । यस पटक भने रास्वापाले आफ्नो मत बढाउने आंकलनसहित कार्की चुनावी मैदानमा छन् । रास्वपाका उम्मेदवार कार्की काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहका निकट मानिन्छन् । बालेन महानगरको निर्वाचनमा रहँदा कार्की केही समय उनको सहयोगी रूपमा काम गरेका थिए । मुलुकभर नेतृत्व परिवर्तनको स्वर गुञ्जिरहँदा कार्की पनि समाज र मुलुकलाई बदल्ने एजेण्डा बोक्दै हिँडेका छन् । गत निर्वाचनमा जस्तो यसपटक मतदाताले परिवर्तन खोजेको सन्देश दिन थालिसकेका छन् । सोही अवसरको मौका छोपेर कार्की असन्तुष्ट मतदाताको मत आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । मुलुकभर नयाँ नेतृत्त्व बदल्ने माग चलिरहँदा पथरी शनिश्चरेका कार्की मत आफ्नो पोल्टामा पार्ने पक्षमा छन् । उनी कांग्रेस, एमालेका असन्तुष्ट मत प्राप्त गर्ने आशामा छन् । कार्की ठूला दलबाट थाकेका, निराश भएका र गलेका मतदाताहरूलाई फकाउने दाउमा लागेका छन् । उनी घरदैलोकै क्रममा स्थानीयको समस्या सुन्ने र युवाहरूको कुरालाई बढी ध्यान दिने गरेको देखिन्छन् । मोरङ जिल्ला निर्वाचन कार्यालयका अनुसार मोरङ ३ मा विभिन्न राजनीतिक दलका १६ जनासहित ३ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । श्रम संस्कृति पार्टीबाट अमिर मगर, आम जनता पार्टीबाट कमल कुमार राई, नेपाल कम्युनिष्ट पार्टीबाट खड्ग बहादुर कार्की, स्वतन्त्र उम्मेदवार गणेश मिश्र, डा. देउमान सम्बाहाम्फे नेपाल कम्युनिष्ट पार्टी, डिल्लीबहादुर जबेगु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, तेज प्रसाद भण्डारी स्वतन्त्र, नवराज मास्के जय मातृभूमि पार्टी, परशुराम थारु नेपाल मजदुर किसान पार्टी, प्रेम प्रसाद सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी, विकेन्द्र राई मंगोल नेशनल अर्गनाइजेशन, भुवन कुमार आले राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, मजेबुल रहमान जनता समाजवादी पार्टी नेपाल, मित्रसेन योञ्जन उज्यालो नेपाल पार्टी र संयुक्त नागरिक पार्टी विदुर अधिकारी लगायतका उम्मेदवारहरू मोरङको ३ नम्बर क्षेत्रमा चुनावी मैदानमा उत्रिएका छन् । एमाले बेलबारी कमिटीका अध्यक्ष शंकर गुरुङ गत प्रतिनिधि सभाको निर्वाचनमा दलहरूले गठबन्धन गरेकाले विजयी उम्मेदवारलाई सहज भएको बताउँछन् । यसपटक सबै दलका उम्मेदवार सिङ्गल–सिङ्गल भीडेकाले पनि गत निर्वाचनभन्दा एमालेको उम्मेदवारलाई सहज हुने उनको भनाइ छ । ‘हाम्रो पार्टीको उम्मेदवार सरल, इमान्दार तथा बहुप्रतिभाशाली र भुइँ मानिस हुन्,’ उनले भने, ‘शिक्षासेवी भएकाले पनि हाम्रो उम्मेदवारको सम्भावना राम्रो रहेको छ ।’ एमालेको उम्मेदवारले गत निर्वाचनमा २४ हजार मत पाएको अध्यक्ष गुरुङले जानकारी दिए । यसपटक भने एमालेको उम्मेदवारले ५ हजार बढी मत ल्याएर विजयी हुने अनुमान उनको छ । मोरङ ३ क्षेत्र प्रदेश सभा को कार्यसमितिका सभापति गंगा याख्खाले सुनिल शर्माको माहोल राम्रो रहेक बताए । यस क्षेत्रमा मतदाताका लागि राम्रो काम गरेकाले पनि सहजै विजयी हासिल गर्न सकिने उनले दाबी गरे । ‘शर्माले यस क्षेत्रका जनतालाई दुःख सुखमा साथ दिएकाले पनि विजयी हुने सम्भावना छ,’ सभापति याख्खाले भने, ‘कांग्रेसका उम्मेदवारसँग गरेको कामहरू भन्न सकिने खालको रहेको छ । नामले भन्दा पनि कामले स्थापित भएका उम्मेदवार रहेकाले जितको नजिक रहेका छौं ।’ नयाँ दललाई कमजोर नठानिएको याख्खा बताउँछन् । नेपाली कांग्रेसको यस क्षेत्रमा राम्रो संगठन भएको दाबी उनको छ । जेनजी आन्दोलनपछि नयाँ नेतृत्वसहित कांग्रेस आएकाले पनि पार्टीप्रति सबैको झुकाव रहेको उनले उल्लेख गरे । यसैगरी, सोही क्षेत्रका रास्वपाका स्थानीय एक नेताले रास्वपाको उम्मेदवारप्रति मतदाताहरू सकारात्मक रहेको बताए । टोल–टोल र चिया पसलमा कुराकानी हुँदा नयाँ उम्मेदवारलाई छनोट गर्ने चर्चा भइरहेको सुन्न सकिने उनको भनाइ छ । गत निर्वाचनमा रास्वपाको उम्मेदवारले ४ हजार मत ल्याएको थियो । ‘यस निर्वाचनमा भने युवा उम्मेदवार भएकाले हाम्रो जितको सम्भावना छ,’ स्थानीय नेता भन्छन्, ‘हामीले जित गर्नका लागि कुनै पनि अप्ठयारो महसुस गरेका छैनौं ।’ मोरङ– ३ मा कुल १ लाख ५८ हजार ५७ जना मतदाता छन् । महिला मतदाता ८० हजार ८८३ र पुरुष मतदाता ७७ हजार १७० जना मतदाता रहेका तथा अन्य ५ जना मतदाता रहेका छन् । मोरङ् जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ नम्बर क्षेत्रमा ५५ वटा मतदानस्थल र १ सय ७९ मतदान केन्द्र रहेका छन् । कुन वडामा कति मतदाता छन् ? कानेपोखरी गाउँपालिका वडा ४ – २६१० पुरुष, २६०४ महिला वडा ५ – ३०८१ पुरुष, ३०१२ महिला वडा ६ – २९३० पुरुष, ३०२२ महिला वडा ७ – २०६८ पुरुष, २१९५ महिला पथरी शनिश्चरे नगरपालिका वडा १ – ३८३४ पुरुष, ४१९१ महिला वडा २ – २८२० पुरुष, २९६९ महिला वडा ३ – २९४१ पुरुष, २९५४ महिला वडा ४ – ३०३८ पुरुष, ३२५१ महिला वडा ७ – २१११ पुरुष, २२६४ महिला वडा ८ – २४०८ पुरुष, २३७७ महिला वडा ९ – २६०६ पुरुष, २८११ महिला वडा १० – २५९५ पुरुष, २७९३ महिला बेलबारी नगरपालिका वडा १ – २६०९ पुरुष, २८०१ महिला वडा २ – २५२९ पुरुष, २७६३ महिला वडा ३ – २६२२ पुरुष, २८०६ महिला वडा ४ – ३५६७ पुरुष, ३८१४ महिला वडा ८ – ३३८३ पुरुष, ३३७२ महिला वडा ९ – ३६२८ पुरुष, ३६६७ महिला वडा १० – २५७४ पुरुष, २६६८ महिला वडा ११ – ३१६९ पुरुष, ३४५४ महिला सुन्दरहरैंचा नगरपालिका वडा १ – ३०५२ पुरुष, ३०५७ महिला वडा ८ – २७४८ पुरुष, २९८२ महिला वडा ९ – ३८०१ पुरुष, ३८६३ महिला वडा १० – ४०५० पुरुष, ४४८० महिला वडा ११ – ३५८२ पुरुष, ३७१० महिला वडा १२ – २८१४ पुरुष, ३००३ महिला
सुनसरी-१ मा त्रिपक्षीय प्रतिस्पर्धा, एमालेको गढमा हर्क र रास्वपाको लडाइँ
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । १६५ निर्वाचन क्षेत्रमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता पनि भइसकेको छ । दलहरूले चुनावी घोषणापत्र बनाउने चटारोमा रहँदा उम्मेदवारहरू भने चुनावी प्रचारप्रसारमा होमिसकेका छन् । यस पटकको निर्वाचनमा सुनसरी-१ लाई पनि धेरैले चासोका रूपमा हेरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिकाका केही वडाहरू सुनसरी–१ मा पर्छन् । बराह क्षेत्र १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । जहाँ धरानका निवर्तमान मेयर हर्क साम्पाङसमेत प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धामा छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनी मेयर पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा २६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी-१ मा नेकपा एमालेको टीकाराम लिम्बू, नेपाली कांग्रेस पार्टीका सुजेन्द्र गोले तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङ (सरिन), नेपाल मजदुर किसान पार्टीको उम्मेदवार महेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेत्रविक्रम चन्द )का दिलबहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीको उम्मेदवार भूपी राई रहेका छन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज (सूर्यबहादुर) भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीको उम्मेदवार राजकुमार राई, संयुक्त नागरिक पार्टी नरेश विक, उज्यालो नेपाल पार्टीको डम्बर लावती, नेकपा संयुक्त पार्टीका श्याम नारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, आम जनता पार्टीका राय बहादुर विष्ट , जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पाटीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालको डा.रक्षकुमार राई रहेका छन् । त्यस्तै, स्वतन्त्रबाट ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा , चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बूले मनोनयन पत्र दर्ता गराएका छन् । यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने लगभग पक्का भएको छ । नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बु, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई र रास्वपाकी उम्मेदवार गोमा तामाङबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको हो । अहिले राई सडकदेखि मतदाताको घरदैलोमा माइक बोकेर मत माग्न थालेका छन् । आफू स्थानीय भएको र धरानमा मेयर हुँदा धेरै विकास गरेको तथा खानेपानी समस्याको धेरै हदसम्म समाधान भएको दाबी गर्दै चुनावी मैदानमा छन् । मुलुक निर्माण गर्न श्रमको अभियानकर्ता आफू रहेको दाबी उनको छ । श्रम गरेरमात्र मुलुक बन्छ भन्ने विश्वास राख्ने राई सांसद बनेर मुलुक परिवर्तन गर्ने हुटहुटीले संसदमा छिर्ने अभिलाषा बोकिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा साम्पाङ्ले २० हजार ८२१ मत प्राप्त गरेका थिए । साम्पाङ्ले स्वतन्त्र उम्मेदवारीको रूपमा धरान उपमहानगरपालिकाका मतदाताहरूको मत पाएर विजयी भएका थिए । यस पटकको निर्वाचनमा भने उनलाई भने सहज छैन । उनले धरानमा लोकप्रिय नाराको नाममा विकास गर्न खोजे पनि धेरै विवादित जनप्रतिनिधिको रुपमा चिनिन्छन् । यो क्षेत्रमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका थिए । उनले १७ हजार ५९ मत प्राप्त गरी विजयी भएका थिए । यद्यपि २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले सहयोग गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन् । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिनै तामाङ उम्मेदवार बनेकी छन् । उनले चुनावमा राईलाई कडा टक्कर दिएकी थिइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका थिए । त्यसबखत नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उनी उम्मेदवार बनेका थिए । यसपटक भने सबै दलले आ-आफ्नो उम्मेदवारी उठाएका छन् । सुनसरी–१ लाई एमालेको गढ मानिन्छ । विगतका निर्वाचनमा यो क्षेत्रमा एमालेका उम्मेदवार वा एमालेले समर्थन गरेका उम्मेदवार विजयी हुँदै आइरहेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सुजेन्द्र तामाङ धरान उपमहानगरपालिका १५ निवासी तथा पार्टीको क्षेत्रीय सभापतिसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका किशोर राई मेयर साम्पाङ्सँग पराजित बनेका थिए । कांग्रेसले १६ हजार ५९ मत प्राप्त गरेका थिए । धरानका पूर्व मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचनमार्फत धरानको सत्तामा कांग्रेस उक्लिएको थियो । मेयरमा तिलक राई २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका थिए । सोही बेला प्राप्त गरेको मत पुनः लिने आशामा कांग्रेसका उम्मेदवार तामाङ् चुनावी मैदानमा छन् । माओवादीको तर्फबाट धरान उपमहानगरको वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई राजीनामा दिएर चुनावी मैदानमा छन् । भट्टराई र मेयर साम्पाङ उपमहानगरपालिकामा जनप्रतिनिधि हुँदा विवादमा आइरहन्थे । हालसम्मको प्रचारप्रसार, मतदाताको मनोविज्ञान र विगतको मतको विश्लेषण गर्दा यस क्षेत्रमा नेकपा एमाले, रास्वपा र हर्क साम्पाङबीच प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरी-१ मा १ लाख ५० हजार ३९३ मतदाता छन् । यो क्षेत्रमा १६१ मतदान केन्द्र र ४१ वटा मतदान केन्द्र रहेका छन् ।
‘राष्ट्रिय झण्डा’ ओढेर भोट माग्ने प्रवृत्ति बढ्दो, ‘ओढ्ने कपडा’ होइन झण्डा
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अभियान गत सोमबार मधेशबाट सुरु गरेको छ । रास्वपाले आयोजना गरेको उक्त सभामा घण्टी चिन्ह अंकित झण्डाहरू बाक्लै रूपमा देखिनु स्वाभाविकै थियो । सभामा अन्तिम वक्ताका रूपमा सभापति रवि लामिछाने मञ्चमा उक्लिए । तर, उनले सम्बोधन गर्न थालेका बेला उनको काँधमा पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा थियो । राष्ट्रिय झण्डा देखाएर दलको झण्डालाई अगाडि ल्याउने कसरतमा सभापति लामिछानेसहित रास्वपा लागिसकेको छ । यो दृश्यले रास्वपा आफ्नो दलगत पहिचानभन्दा माथि राष्ट्रिय भावनालाई अगाडि ल्याउने रणनीतिमा जुटिसकेको बुझिन्छ । जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने । लामिछानेले सभामा झण्डा ओढेर भन्दै थिए, ‘राष्ट्रिय झण्डालाई देखाएर रास्वपाको घण्टीमार्फत संसदमा छिर्नेछु ।’ यद्यपि रास्वपा २०७९ को प्रतिनिधिसभामार्फत संसद प्रवेश गरिसकेको छ । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले गत स्थानीय निर्वाचनमा चुनावी प्रचार-प्रसारमा राष्ट्रिय झण्डाको प्रयोग निकै नै गरे । उनी मतदाताको घरदैलोमै काँधमा राष्ट्रिय झण्डा भिरेर पुग्ने गर्थे । झण्डा देखाएर मत माग्ने गर्थे । चुनावी नारा घन्काउँदै सडकमा होस् या मत माग्दा होस् उनको काँधबाट राष्ट्रिय झण्डा कहिल्यै हटेन । सडकमा भेटिएका मतदातालाई पनि साम्पाङले राष्ट्रिय झण्डा ओढेर मत माग्थे । राष्ट्रिय झण्डालाई भरपूर उपयोग गरेर उनी विजयी भए । स्वतन्त्र उम्मेदवारबाट मेयरमा उदाएका साम्पाङ दलीय राजनीतिमा होमिए । उनले निर्वाचन आयोगबाट माटो चिन्हबाट श्रम संस्कृति पार्टी दल दर्ता गराए । अझ रोचक पक्ष के थियो भने उनले दल दर्ताको प्रमाणपत्र लिँदा पनि राष्ट्रिय झण्डा ओढेका थिए । उनको विभिन्न चुनावी सभामा राष्ट्रिय झण्डा देख्न सकिन्छ । उनका समर्थकहरू पनि पार्टी झण्डाभन्दा पनि राष्ट्रिय झण्डा बोकेर सभामा पुग्ने गरेका छन्। त्यसैगरी, काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेन्द्र शाह (बालेन)ले मतदातासँग मत माग्न जाँदा राष्ट्रिय झण्डा ओढेर हिँड्ने गर्थे । अहिले भने उनी मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गरिसकेका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि भोट माग्दै गरेका बालेन । हाल बालेन रास्वपामा प्रवेश गरी झापा– ५ बाट मनोनयन दर्ता गराइसकेका छन् । यसपटक पनि बालेनले झण्डा छाडेनन् । रास्वपाको पहिलो मधेश सभामा सार्वजनिक हुँदा राष्ट्रिय झण्डा बोकेरै उनले मैथिली भाषामा मन्तव्य राखे । शनिबार तेह्रथुमको बसन्तपुरमा पुगेका उनले राष्ट्रिय झण्डा बोकेको देखिएको छ । त्यस्तै, २०७९ को निर्वाचनमा डडेलधुरा पुगेर नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकालले त्यसबेला पनि आफ्ना चुनावी गतिविधिमा राष्ट्रिय झण्डाको व्यापक प्रयोग गरेका थिए । यही अभ्यासलाई उनले यस पटकको निर्वाचनमा पनि निरन्तरता दिएका छन् । उम्मेदवारी दर्तादेखि लिएर मतदातासँग मत माग्ने कार्यक्रमसम्म उनले राष्ट्रिय झण्डाको प्रयोग छाडेका छैनन् । उम्मेदवारी दर्ता गराउँदै सागर ढकाल । उनी यसपटक गुल्मी– १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धामा छन्। अहिले मुलुकमा निर्वाचनको तापक्रम बढ्दै गएको छ । विभिन्न राजनीतिक दलहरू सभा सम्मेलनमा व्यस्त देखिन्छन् । दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । धेरैले दलकै झण्डा प्रयोग गरेका छन् भने केही उम्मेदवारले राष्ट्रिय झण्डा ओढेर मतदातासँग संवाद गरिरहेका छन् । राष्ट्रिय झण्डा राजनीति दलको सभा सम्मेलन तथा उम्मेदवारले प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक रूपमा विरोध हुन थालेको छ । गरिमा बोकेको राष्ट्रिय झण्डा राजनीति दलको कार्यक्रममा प्रयोग गरिनु कति उचित कति अनुचित भनेर सार्वजनिक रूपमा बहस हुन थालेको हो । दलहरूका कार्यक्रममा वा आगजनी तथा तोडफोडमा राष्ट्रिय झण्डा प्रयोग हुनुले झण्डाको सम्मानभन्दा पनि अपमान गरेको जस्तो अनुभव हुन थालेको बहस सामाजिक सञ्जालमा सुरु भइसकेको छ । राष्ट्रिय झण्डाको छुट्टै महत्त्व हुने हुनाले यसलाई जहाँसुकै प्रयोग गर्न हुँदैन भन्ने मान्यता रहँदै धेरैको छ । सडकमा राष्ट्रिय झण्डाको सहारा लिएर संसदमा पुग्ने वा शक्ति बटुल्ने माध्यम बन्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनमा अधिकांशले राष्ट्रिय झण्डा काँधमा राखेका थिए । झण्डा ओढ्ने कपडा होइन राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुन थालेको संविधानविद डा. भीमार्जुन आचार्य बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् ।’ राष्ट्रिय झण्डाको प्रयोग तत्काल बन्द गर्न उनले माग गरेका छन् । राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ नभएको उनको तर्क छ । राष्ट्रिय झण्डा ओढेर आगजनी तथा तोडफोड गर्ने कार्यमा सहभागी हुन नहुने पत्रकार तीर्थ कोइराला बताउँछन् । जुनसुकै दलका कार्यक्रम सभा वा सम्मेलनमा झण्डा राखेर कार्यक्रम गर्नुलाई अस्वाभाविक मान्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक दलका कार्यक्रममा राष्ट्रिय झण्डा लिएर सहभागी हुनु भनेको झण्डाको दुरुपयोग गर्नु हो,’ कोइरालाले भने । यसैगरी, अधिवक्ता टीकाराम भट्टराई राष्ट्रिय झण्डाको प्रयोग व्यक्तिगत स्वार्थका लागि प्रयोगमा ल्याइनुलाई राष्ट्र विरुद्धधको अपराध मान्न सकिने बताउँछन् । राष्ट्रिय झण्डा ओढेर नकरात्मक कार्य गर्नुलाई पूर्ण रूपमा अपराध मान्न सकिने उनको बुझाइ छ । ‘राष्ट्रिय झण्डा ओढेर उम्मेदवारले मत माग्दै हिँड्न भएन । यसरी मत माग्नुलाई व्यक्तिगत स्वार्थको रूपमा लिइन्छ । यसलाई अपराध मान्न सकिन्छ,’ भट्टराई भन्छन्, ‘सामूहिक रूपमा सकारात्मक कार्यका लागि भने राजनीतिक दलका झण्डा र राष्ट्रिय झण्डा प्रयोग गर्ने भएमा त्यसले खासै असर पार्दैन ।’ सरकारले राष्ट्रिय झण्डाको सदुपयोग र राम्रो कामको लागि मात्र प्रयोगमा ल्याउन अनुरोध गर्न भट्टराईले सुझाए । राष्ट्रिय झण्डाको महिमा वा गरिमा बुझाउन राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय झण्डा प्रयोग सम्बन्धमा छुट्टै प्रयोगविधि रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले बताउँछन् । उनले झण्डा प्रयोग सम्बन्धीमा विधि सार्वजनिक गरेको उनले जानकारी दिए । आचारसंहिता विपरीत भए कारबाही निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राष्ट्रिय झण्डा दुरूपयोग भएको विषयलाई नजिकबाट हेरिरहेको जानकारी दिए । उनले निर्वाचन निर्वाचन आचारसंहितालाई ध्यान दिएर काम गर्न सरोकार पक्षलाई आग्रह गरेका छन् । सबैले राष्ट्रिय झण्डाको मर्यादा पालना गर्नलाई उनले सुझाव दिए । आचार संहिता अनुसार भएन भने कारबाही गरिने भट्टराईले बताए । ‘अहिलेसम्म झण्डाहरूको विषयमा कुनै पनि उजुरी आएको छैन,’ उनले भने । झण्डाको प्रयोगविधिमा के व्यवस्था छ ? राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९ का अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न तथा गराउन पाइँदैन । चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक ब्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन । मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।