काठमाडौं । चालु आर्थिक बर्षको चैतसम्ममा २२ अर्ब ९० करोड ५० लाख रुपैंयाँको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डले चैत अन्तिम सातासम्ममा १२१ कम्पनीको २३ करोड ३७ लाख ८९ हजार ९१ कित्ता बोनस सेयर दर्ता गरेको हो ।
गत आर्थिक बर्षमा १२४ कम्पनीको २१ अर्ब ५ करोड ६१ लाख २ हजार २ सय ७ रुपैंयाँ मूल्यको २२ करोड ३८ लाख ७ सय ७६ कित्ता बोनस सेयर दर्ता भएको थियो । गत आवको भन्दा चालु आवको ९ महिनामै बोनस सेयर दर्ताको संख्या वृृद्धि भएको हो ।
यसरी बोनस सेयर दर्ता गराउने कम्पनीहरुमध्ये अधिकांश बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना अघि सारेपछि बैंक तथा वित्तिय संस्थाहरुले बोनस सेयर वितरण गर्दै आएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले यस बर्ष एक अबै ४९ करोड १४ लाख रुपैंयाँ मूल्यको एक करोड ४९ लाख १४ हजार कित्ता बोनस सेयर दर्ता गरेको छ । यसपाली बोनस सेयर दर्ता गर्ने कम्पनीमध्ये यो नै सबै भन्दा धेरै दर्ता गराउने कम्पनी हो ।