काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले वैशाखभित्र ९ लाख ७५ हजार कित्ता साधारण शेयर अर्थात फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकका रुपमा एनआईर्बील नियुक्त गरेको बैंकका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल ग्रामीण विकास बैंक र एनआएबीएल क्यापिटल मार्केटबीच सम्झौता भएको छ ।
बैंकले आफ्नो चुक्त पूँजी बढाउन एक सय दरको एफपीओ जारी गर्न लागेको हो । हाल बैंकको ५५ करोड ७५ लाख चुक्ता पुँजी राखेका छ । एफपीओले बैंकको साढे ६५ करोड पुँजी बृद्धि गर्ने छ । चालु आवको अन्त्यसम्म बैंकले एक अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ । बैंकमा हाल ४० हजार जनाको सेयर ५५ लाख ७५ हजार कित्ता सेयर रहेको छ ।
हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई उक्त बैंक बनेको हो । मर्जर पछि यस बैंकले २०७१ साउन ३० गते देखि आफ्नो एकिकृत कारोबार शुरु गरेको हो ।