काठमाडौं । मंगलबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुलेको करिब आधा घण्टामा घटेर १६३५ अंकमा पुगेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिएको छ । बजारमा बन्द हुँदा नेप्से परिसूचक ३ अंकले घटेर १६५६ अंकमा झरेको छ ।

सो दिनको बजारमा एक अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९० करोड रुपैयाँ घटी हो । सोमबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी नेपाल बैंकको १२ करोड ८५ लाख रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ रहेको छ ।
बजारमा कारोबार भएका तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी चार समूहको परिसूचक ओरालो लागेका छन् । उकालो लाग्नेमा होटल, बीमा र फाइनान्स समूह रहेका छन् । यी तीनको परिसूचक क्रमशः ७७, ९ र २ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक, अन्य समूह र बैंकिङ समूहको परिसूचक क्रमशः ३३, ६.१३, ६.०७ र ३ अंकले ओरालो लागेका छन् ।