घरधनीको योजनामा एसबीआई बैंक लुटपाट, २ करोड ६८ लाख मात्रै बरामद

लुटपाट आरोपमा ७ जना पक्राउ

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको आरोपमा ७ जनाको विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।

गत पुस २९ गते राति बैंक लुटपाट गरिएको थियो । बैंकको शाखा राखिएको घरका धनी स्याङ्तानको मुख्य योजनामा बैंक लुटिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा सवारी चालक काभ्रेको बनेपा नगरपालिका-१० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका-२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका-२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका-२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक छन् ।

पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । 

‘बैंक लुटमा मुख्य योजनाकार तीन जना देखिन्छन् । बैंक राखिएको घरका धनी छविलाल स्याङ्तान, स्याङ्तानका जेठान चतुरमान बज्युलाई पक्राउ गरिसकिएको छ भने अर्का एक जना फरार छन्,’ उनले भने । 

बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक सुवेदीका अनुसार सुरक्षा गार्डसहितका कर्मचारीहरूलाई नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको थियो ।

प्रहरीले लुटमा प्रयोग भएको दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, पाँच थान मोबाइल, ठूलो पानी टेप एक वटा, कालो रङको नकाव तीन थान, रातो रङको नकाव एक थान र कालो पञ्जा एक जोरसमेत बरामद गरेको छ ।

घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सूचना आदान–प्रदान गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । बज्यु, उनका ज्वाइँ घरधनी स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको र पटकपटक लुटको प्रयास गरिएको पाइएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

प्रहरीका अनुसार पहिलोपटक पुस २३ गते बैंक लुट्ने योजना बनाएका थिए । उक्त दिन बैंक लुटमा संलग्न चार जना काठमाडौंबाट दुईवटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पुस २८ गते पनि उनीहरु बैंक लुट्न आउने गरी काठमाडौंको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोही ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट विएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङलेख आएको पाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुवेदीले बताए । 

बैंकमा आएर २९ गते साँझ उनीहरूले एसबिआई बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिई, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाइएको उनले सुनाए । 

बैंक लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीयको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको थियो । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटपाट भएको थियो ।

Share News