काठमाडौं । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि १० वटा अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएका छन् ।
आयोजनाले खोलेको बोलपत्रमा भारत, चीन र टर्कीएका गरी १० कम्पनीले आवेदन दिएका हुन् । आयोजनाले प्राप्त आवेदनहरूको मूल्यांकन प्रक्रिया सुरु गरेको छ ।
नागढुंगा सुरुङमार्ग आयोजनाका उपसचिव तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार आवेदन दिने कम्पनीहरूको प्राविधिक र आर्थिक प्रस्तावको मूल्यांकन सुरु भइसकेको छ ।
‘हामीले अस्ति खोलेको ठेक्कामा १० वटा कम्पनीले आवेदन दिनुभएको छ । अबको डेढदेखि दुई महिनाभित्र मूल्यांकन सकेर सञ्चालनको जिम्मा दिने कम्पनी छनोट गरिनेछ,’ उनले भने।
कम्पनी छनोटको मुख्य आधार सुरुङ सञ्चालनको पूर्वअनुभव हुनेछ । आयोजनाका अनुसार कम्तीमा ३ किलोमिटर लामो सुरुङ सञ्चालन गरेको अनुभवलाई प्रमुख योग्यता मानिएको छ।
नेपालमा सुरुङ सञ्चालनको अनुभव भएका कम्पनी नहुँदा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको र छनोट हुने विदेशी कम्पनीले नेपाली कम्पनीसँग अनिवार्य रूपमा संयुक्त लगानी (जेभी) गर्नुपर्ने प्रावधान राखिएको छ ।
यी हुन् १० विदेशी तथा स्वदेशी कम्पनी
आयोजनाले आह्वान गरेको बोलपत्र प्रक्रियामा ठेक्काका लागि स्वदेशी र विदेशी कम्पनीहरूले प्रस्ताव पेस गरेका हुन् । जसमा विदेशी कम्पनी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र नेपाली कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालि सम्मिलित सेग्मेन्टल–स्वच्छन्द संयुक्त उद्यम सहभागी भएको जनाइएको छ ।
यसैगरी, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र चीनको गान्सु हेन्टोङ सडक तथा पुल इन्जिनियरिङ कम्पनी लिमिटेड आबद्ध काष्ठमण्डप–गान्सु हेन्टोङ संयुक्त उद्यम पनि प्रतिस्पर्धामा उत्रिएको छ ।
तीन कम्पनीको साझेदारीमा बनेको कुमार श्रेष्ठ निर्माण सेवा–आल्टिनोक–बीसीपीएल संयुक्त उद्यममा कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, आल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र सान्सी सडक तथा पुल समूह निगम लिमिटेड छन् ।
त्यसैगरी, ब्राइट बुल निर्माण सेवा र जियाङ्सी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड आबद्ध एसएक्सआरबी–ब्राइट बुल संयुक्त उद्यमले पनि प्रस्ताव पेस गरेको छ ।
यस्तै, डान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि सम्मिलित जेटिसिजी–डान्फे संयुक्त उद्यम, बावारी कन्स्ट्रक्सन प्रालि र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड आबद्ध बावारी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उद्यम, तथा भागेश्वर कन्स्ट्रक्सन प्रालि र एलसामेक्स मर्मत सेवा लिमिटेड सम्मिलित इएमएसएल–पीएससीपीएल संयुक्त उद्यमले पनि प्रस्ताव पेस गरेको छ ।
त्यसैगरी, समानान्तर निर्माण सेवा प्रालि र चीनको चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड सम्मिलित समानान्तर–सीएफएचइसी संयुक्त उद्यम, चोङछिङ युसिन सडक तथा पुल विकास कम्पनी लिमिटेड र ए.आर.टी. कन्स्ट्रक्सन आबद्ध युसिन–ए.आर.टी. संयुक्त उद्यम, तथा वेदनशी इन्फ्रास्ट्रक्चर लिमिटेड, पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालि र रान्केन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड सम्मिलित वेदनशी–रान्केन संयुक्त उद्यमले समेत बोलपत्र दर्ता गराएका छन् ।
आयोजनाका उपसचिव पन्थीले अब प्राविधिक र वित्तीय प्रस्तावको विस्तृत मूल्याङ्कनपछि योग्य ठेकेदार छनोट गरिने जानकारी दिए । ठेक्का प्रक्रियामा स्वदेशी तथा विदेशी ठूला कम्पनीहरूको उल्लेख्य सहभागिताले परियोजनाप्रति निजी क्षेत्रको चासो बढ्दै गएको संकेत गरेको छ ।
आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ । अधिकांश निर्माण कार्य सकिए पनि हाल पश्चिम तर्फको पहिरो व्यवस्थापनको काम जारी रहेको आयोजनाले जनाएको छ । आगामी अप्रिलसम्ममा निर्माण सम्पन्न गरी सोही समयदेखि सुरुङ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
नागढुंगा सुरुङमार्गको ९० प्रतिशत काम सकिएको ६ महिनाभन्दा बढी समय भइसकेको छ । नागढुंगाको जाम घटाएर यात्रा छिटो–छरितो बनाउन ६ वर्ष अघिदेखि सुरुङमार्ग निर्माण गर्न सुरु गरिएको थियो ।
गत दशैंमा परीक्षणकालको रूपमा सुरुङमार्ग सञ्चालन गर्ने भनिएको थियो । मन्त्रालयतहबाट यसको प्रचारप्रसार पनि गरियो तर सरकारले दशैंमा सुरुङमार्ग चलाउन सकेन ।
त्यसपछि सरकारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर (पुस १७ गते) बाट व्यावसायिक तवरले सुरुङमार्ग सञ्चालन गर्ने घोषणा गर्यो । अंग्रेजी नयाँ वर्षमा पनि सुरुङ मार्ग सञ्चालन नहुने भएको छ । अब नेपाली नयाँ वर्ष (२०८३ साल) बाट सुरुङ मार्ग सञ्चालन गर्ने तयारी सरकारको छ ।
टेन्डरको अन्तिम म्याद पुस मसान्तसम्म राखिएको थियो । त्यसअघि पुस २ र १६ गते म्याद थप गरिएको थियो । आयोजनाका अनुसार जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) ले विदेशमा कालो सूचीमा परेका कम्पनीलाई पनि नछान्न विभागका उच्च कर्मचारीहरूलाई आग्रह गरेको छ ।
विभागले तयार गरेको नागढुंगा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न टनेल सञ्चालन र व्यवस्थापन (टनेल अप्रेसन एन्ड मेनेजमेन्ट) कार्यविधि गत असोजमै पास भइसकेको छ । यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाको घण्टौं लामो जामबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।