काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै निर्वाचन स्थगित गरिएको संघले जनाएको छ ।
निर्वाचनका लागि उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी खारेजी गरेपछि विवाद सुरु भएको थियो ।
पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने मिति तोकिएको थियो ।
संघका प्रमुख निर्वाचन अधिकृत डा। प्रणय रत्न शाक्यद्वारा जारी सूचनामा अदालतको आदेशका कारण निर्वाचन प्रक्रिया हालका लागि रोकिएको उल्लेख गरिएको छ ।
निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी पनि दिइएको छ ।