आसन्न निर्वाचनमा सामाजिक सञ्जाल अनुगमनका लागि नेपाली सेनाको सहयोग लिइने

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जानकारी दिएको छ । 

निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचन अवधिभर सामाजिक सञ्जालमार्फत हुने गलत सूचना, घृणात्मक अभिव्यक्ति, आचारसंहिता विपरीतका प्रचार तथा भ्रामक सामग्रीको निगरानीलाई प्रभावकारी बनाउने उद्देश्यले सेनासँग समन्वय गरिएको जानकारी दिए ।

राणाका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल निर्वाचन प्रभावित गर्ने प्रमुख माध्यम बन्दै गएको छ । त्यसैले फेसबुक, एक्स, टिकटक, युट्युबलगायत डिजिटल प्लेटफर्ममा हुने गतिविधिको निगरानी बढाइनेछ । 

अनुगमनका क्रममा आचारसंहिता उल्लङ्घन हुने सामग्री पहिचान गरी हटाउन सम्बन्धित निकायसँग समन्वय गरिने र आवश्यक परे कानुनी कारबाहीका प्रक्रिया अघि बढाइने राणाले बताए ।

नेपाली सेनाको सहयोग प्राविधिक तथा सुरक्षा समन्वयको दायरामा सीमित रहने बताउँदै आयोगले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नहुने गरी कानुन र मापदण्डभित्रै रहेर काम गरिने जनाएको छ । लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै निर्वाचनलाई असर पार्ने गलत सूचना र दुष्प्रचार रोक्न यो व्यवस्था गरिएको राणाको भनाइ छ ।

आयोगले राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा निर्वाचन आचारसंहिता पालना गर्न पुनः आग्रह गरेको छ । साथै सर्वसाधारणलाई पनि भ्रामक सूचना सेयर नगर्न र शंकास्पद सामग्री देखिएमा आयोग वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध पनि गरिएको छ ।

आसन्न निर्वाचनका क्रममा डिजिटल माध्यमको बढ्दो प्रभावलाई ध्यानमा राख्दै गरिएको यो पहलले निर्वाचन प्रक्रियाको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

Share News