काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने बताएका छन् ।
निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेसका नेताहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानून रहेकाले सोहीअनुसार निर्णय हुने भण्डारीले जानकारी दिए । निर्वाचन आयोग विधि र पद्धति भन्दा बाहिर नजाने उनले स्पष्ट पारे ।
उनले भने, ‘निर्वाचन आयोगको आफ्नो परम्परा, विधि छ । संविधान, ऐन, कानुन छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’
भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका निम्ति आवश्यक कार्यक्रम सकेर निर्वाचन सम्पन्न गराउने बताए ।
नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समिति चयन गरेसँगै कांग्रेस विभाजित छ । दुवै पक्षले आधिकारिकता दाबा गरिरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।