काठमाडौं । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षरकर्ताहरूले हस्ताक्षर फिर्ता लिएको बताए ।
खड्काले भने, ‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८ सय ८५ जना त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित मुख्यसचिवले केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।’
विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उनले पनि दावी गरे ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।
कांग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।