कांग्रेसमा सुरु भयो आधिकारिकताको लडाइँ, गगन पक्षपछि देउवा पक्ष पनि पुग्यो आयोग

अधिकांश नेता देउवाकै टिममा रहेको तर्क

काठमाडौं । नेपाली कांग्रेसमा आधिकारिकताको लडाइँ सुरु भएको छ । विशेष महाधिवेशनपछि बिहीबार विवरण अद्यावधिकसँगै आधिकारिकता माग गर्न निर्वाचन आयोग पुगेका सभापति गगनकुमार थापापछि देउवा पक्ष पनि शुक्रबार (आज) निर्वाचन आयोग पुगेको हो । 

सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरू आज बिहान निर्वाचन आयोग पुगेका हुन् ।

आयोगमा देउवा पक्षका नेताहरु कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ’डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत पुगेका छन् । 

उनीहरुले देउवा पक्ष नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । ठूलो नेता तथा कार्यकर्ताको जमात देउवा पक्षमै रहेकोले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको उनीहरुको तर्क छ । उनीहरुले अहिले आयोगका पदाधिकारीसँग छलफल गर्नेछन् । 

बिहीबार गगन–विश्वको टिम आयोगमा पुगेर आफूहरू नै आधिकारिक कांग्रेस भएको र विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आइसकेको जानकारी गराएका थिए । आयोगमा पुगेको थापाले आफू नै कांग्रेसको सभापति भएको बताएका थिए भने कांग्रेस विभाजन समेत नभएको तर्क राखेका थिए । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । 

का‌ंग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।

Share News