मध्यपहाडी लोकमार्ग: मोदी खोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु

काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ ।

राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका-२ र पातिचौर-६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग ७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । 

उक्त मार्गअन्तर्गत हालसम्म पर्वत खण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरे खोला र मोदी खोलामा पनि निर्माण जारी छ । मोदी खोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरि सक्नुपर्ने छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-कुश्मा सडकको ३ वर्ष पहिला नै २ लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक २ लेनको बनेपनि पुरानो संरचनामा बनेका ‘सिङ्गल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो । 

Share News