जति उद्योग डुबे । जति नोक्सानी भयो, त्यसमा निराश भएको भए, हरेश खाएको भए सायद आज नेपाली उद्योगीमाझ सफल र प्रेरक उद्यमीका रूपमा परिचित हुन्थेनन् कृष्णप्रसाद आचार्य । उनी ४३ कम्पनीका मालिक बने । तीमध्ये कति नोक्सानी बेहोरेर बन्द भए । कतिपयबाट लगानी झिके त कतिपयलाई सुस्त सञ्चालन गरे । तर, अहिले पनि ३० वटा कम्पनीको दैनिक रिपोर्टिङ लिन्छन् आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य । अफिसकै कुर्सीमा बसेर ।
साढे सात दशकको उमेर । मुहारमा आत्मविश्वास । काममा लगनशील । नम्र स्वभाव । जलविद्युत उद्यमी कृष्णप्रसाद आचार्यलाई चिन्ने जो कोहीले पनि झ्वाट्ट देख्दा र बुझ्दा यसरी नै लिन्छन् । पंक्तिकारले उनै आचार्यलाई जिज्ञासा राखे, ‘अब व्यवसायबाट विश्राम लिऔं, आराम गरौं भन्ने लाग्दैन ?’ जवाफमा उनले भने, ‘म रिटायर्ड हुँदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम साससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ ।’
विसं २००९ जेठमा कास्कीको निर्मलपोखरीमा जन्मिएका आचार्य किसान परिवारको पृष्ठभूमिमै हुर्किए । परिवार किसान भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने ढाडस उनलाई बुवाले दिइरहन्थे । त्यही उत्प्रेरणाले उनी व्यवसाय गर्ने तरखरमा लागे । तर, अभाव थियो पुँजीको । उनले पुख्र्यौली जमीन बिक्री गरे । जमीन बिक्री गरेर बस किने । त्यतिखेर यातायात क्षेत्रमा उनले राम्रै सम्भावना देखे । बस सेवा सञ्चालन गरेर राम्रै अनुभव लिए । उनले पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्षका रूपमा पनि काम गरे ।
यातायातपछि आचार्यले पर्यटन क्षेत्रमा सम्भावना देखे । पोखरामा पहिलो पटक पर्यटकस्तरीय होटल खोले । पोखराको महेन्द्रपुलमा पहिलो पटक वि.सं. २०३० सालमा होटल खोलेर पर्यटन क्षेत्रमा सम्भावनाको सञ्चार उनैले गरे । जतिबेला पोखरामा बस्नयोग्य पर्यटकस्तरीय होटलहरू थिएनन् ।
‘होटल व्यवसाय गर्दा नेपाल औद्योगिक विकास निगमबाट ऋण लिएँ, त्यतिबेला निजी क्षेत्रका बैंक थिएनन् । सरकारी बैंकले होटलमा लगानी गर्थेनन्,’ आचार्यले भने । उनी पर्यटन क्षेत्रमा अहिले पनि पर्याप्त सम्भावना र अवसरहरू रहेको सुनाउँछन् ।

दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग
उद्योगी आचार्य जहाँ सम्भावना देख्छन्, त्यहाँ सिफ्ट भइहाल्छन् । त्यो उनको पहिचान बनिसकेको छ । समय र परिस्थितिसँगै आफूलाई रूपान्तरण गरेर सोही किसिमले काम गर्नु एउटा सफल व्यवसायीको विशेषता हो । उद्यमी आचार्यको जीवनमा यस विशेषता ठ्याक्कै लागू भएको देखिन्छ ।
विसं २०३० को दशकमा चाउचाउ भन्ने शब्द नेपाली शब्दकोषमा थिएन । जब उनले रारा चाउचाउ उत्पादन गरेर बजारमा ल्याए, सबैको मुखमा झुण्डियो ‘रारा’ । नेपालमा चाउचाउ उद्योग खोल्दाका सुरुवाती दिनहरू भने निकै सकस थिए । सरकारी कर्मचारीले उद्योग खोल्न नदिएको सकस उनलाई अहिले पनि स्मरण छ । तर, कृष्ण आचार्य र उनको टिमले त्यसलाई सार्थक तुल्यायो । र, २०३९ माघ २३ मा रारा चाउचाउको उत्पादन सुरु भयो ।
‘दक्षिण एसियामै पहिलो रारा तयारी चाउचाउ उद्योग सुरु ग¥यौं । चाउचाउ भन्ने शब्द नै नेपाली शब्दकोषमा थिएन । हामीले सुरु गरेपछि शब्द पनि स्थापित भयो र उद्योग पनि,’ खुसी हुँदै उनी भन्छन् ।
रारा चाउचाउ उत्पादनका मुख्य पायोनियर कृष्ण आचार्य, सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठ थिए । लगानीकर्ता भने १०६ जना थिए । केसी र श्रेष्ठको निधन भइसकेको छ । आचार्यले त्यो उद्योगको नेतृत्व २० वर्ष गरे । अहिले केसीका छोरा प्रकाश केसीले रारा चाउचाउ उत्पादन गरिरहेका छन् ।
‘मलाई उद्योग क्षेत्रमा चिनाउने रारा चाउचाउ नै हो । म २७ वर्षको थिएँ । त्यसबेलाका बिजनेस टाइकनले मलाई खोज्थे, ठूल्ठूला राजनीतिज्ञले खोज्थे । राजा वीरेन्द्रले एक दिन बोलाएर उद्योग कसरी सुरु गर्याै ? प्रविधि कहाँबाट ल्यायौ, को–को संलग्न छौ भनेर सोध्नु भएको थियो,’ उद्योग सञ्चालन गर्दाका दिन स्मरण गर्दै आचार्यले भने । नयाँ उद्योगसँग उनको परिचय नै बदलियो ।
आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा, र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० कम्पनी बढीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् ।
त्यसपछि ऊर्जामा प्रवेश
चाउचाउ उत्पादन गरेर राष्ट्रिय व्यवसायीमाझ चिनिएका आचार्य सम्भावनाको खोजीमा लागिरहे । पछि अरू धेरै चाउचाउ उद्योग आए । प्रतिस्पर्धा बढ्यो । उनले भने क्षेत्र सिफ्ट गर्ने सोंच बनाए । ठूलो प्रतिस्पर्धा नभएको क्षेत्र खोजे । सम्भावना र अवसरको पहिचान गरे । र, दुई दशकअघि ऊर्जा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे ।
उनको बुझाइमा जलविद्युत क्षेत्रमा प्रतिस्पर्धा छैन । जति जलविद्युत उत्पादन गरे पनि सम्भावना प्रचुर छ । यसले व्यवसाय सफलतासँगै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ । आचार्य अहिले ऊर्जा क्षेत्रका पायोनियर उद्यमीका रूपमा परिचित छन् ।
उसो त आचार्यको पढाइ पोलिटिकल साइन्स हो । तर, उनलाई व्यवसाय नै मन पर्छ । उनी व्यवसायमै रमाएका छन् । ‘गर्दै, सिक्दै, नोक्सान बेहोर्दै फेरि उठ्दै’ व्यवसाय सुरु गरेको हुँ, व्यवसायमा पारदर्शीता र लगनशीलता भयो भने लामो यात्रा तय गर्न सकिन्छ,’ उनले अनुभव सुनाउँदै भने ।
उनका अनुसार जलविद्युत क्षेत्रमा लाग्नु भनेको पैसा कमाउनु मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र पनि बढाउनु हो । ‘प्रकृतिले पानी दिएको छ, त्यो पानीको उपयोग गर्नुपर्छ भनेर जलविद्युत क्षेत्रमा लागें । जहाँ आयोजना सुरु हुन्छ, त्यहाँ विकास हुन्छ, बाटो र बिजुली जान्छ, त्यसपछि विद्यालय र स्वास्थ्य संस्था खुल्छ । यसले रोजगारी सिर्जना हुन्छ, विविध अवसरहरू सिर्जना गर्छ, लगानीको उपयुक्त क्षेत्र सोंचेर नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।
आचार्यले वातावरणका लागि पनि राम्रो र प्रतिस्पर्धा पनि नभएको क्षेत्र भएकोले हाइड्रो क्षेत्र रोजेको सुनाए । उनकै नेतृत्वमा ४७५ मेगावाट विद्युत उत्पादनको चरणमा छ । उनका अनुसार २ आयोजनाको बक्ती बलिसकेको छ । दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् भने एउटाको काम सुरु भइसकेको छ र दुइटा आयोजना अध्ययनको चरणमा छन् ।

आचार्यको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुडी ‘ए’ र ६.६ मेगावाटको रुडी ‘बी’, मल्टी एनर्जी डेभलपमेन्ट प्रालिले २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना, ७.५ को मेगावाट गुप्चे खोला जलविद्युत् आयोजना, ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजना, ८.८ मेगावाटको रुदीखोला, १ सय ५५ मेगावाटको घुन्सा खोला आयोजना र ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजना अगाडि बढाइरहेका छन् । कतिपयको निर्माण सम्पन्न भएर बक्ती पनि बलिसकेका छन् भने कतिपय निर्माणको अन्तिम चरणमा र कतिपय अध्ययनको चरणमा छन् ।
आचार्य ऊर्जाले नै सबैलाई धनी बनाउन सक्ने बताउँछन् । ‘जलविद्युतमा अथाह सम्भावना छ, कुनै बेला ८२ हजार मेगावाटको क्षमता भनिए पनि वास्तममै डेढ लाख मेगावाटको सम्भावना छ । तर, अहिले २० हजार मेगावाट उत्पादन प्रयासको चरणमा मात्रै छ । व्यापार र उद्योगभन्दा पनि जलविद्युत राम्रो सम्भावनाको क्षेत्र हो,’ उनले भने ।
आचार्य जलविद्युत समूहमा लगानी हुने भएकोले ‘गोइङ टुगेदर र ग्रो टुगेदर’को मान्यतालाई विश्वास गर्छन् । उनले लगानी गरेर अगाडि बढाएका आयोजनामा पनि चार हजार बढी संस्थापक सेयरधनी छन् । उनले आफूले नेतृत्व गरेर बिजुली बलेका कम्पनीले प्रतिफल पनि राम्रै दिइरहेको सुनाए । उनको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रो सुरुवात भएको थियो । ‘हामीले निर्माण गरेका जलविद्युत आयोजना बन्दा बाटो लियौं, बिजुली लियौं । त्यहाँको युवा क्लब, आमा समूहमा सामाजिक काम ग¥यौं, जलविद्युतले गाउँगाउँमा विकासको अनुभूति गराएको छ,’ उनले भने ।
‘बिन्ध्यवासिनी हाइड्रोपावरले काम गर्दा आयोजना स्थलबाट पोखरामासम्म आउन बीचमै बास बस्नुपर्ने अवस्था थियो । तर, अहिले डेढ घण्टामै पुगिन्छ । बिरामी बीचमै मृत्यु हुने समस्या थियो । अहिले त्यहाँको जनजीवनमा ठूलो परिवर्तन आएको छ,’ उनले भने ।
उर्जा उद्यमीका अभिभावक
उर्जा उद्यमी कृष्णप्रसाद आचार्यको पृथक पहिचान छ । अधिकांश जलविद्युत प्रवद्र्धकले उनलाई अग्रज उद्यमीका रूपमा सम्मान गर्ने गरेका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् । उनलाई ऊर्जा उद्यमीहरूले निर्विरोध रूपमा इप्पानको अध्यक्षमा चयन गरेका थिए ।
एक इमानदार र लगनशील ऊर्जा उद्यमीको रूपमा पहिचान बनाएका आचार्यले इप्पानमा रहँदा पनि महत्वपूर्ण काम गरेको दाबी गर्छन् । ‘मैले आफैले पनि सकेजतिको जलविद्युत उत्पादन गरें । धेरै साथीहरूलाई जुटाएँ, ऊर्जामा लगानी गर्न उत्प्रेरित गरें, अझै गरिरहेको छु,’ उनी भन्छन्, ‘मैले इप्पानको नेतृत्व गरेपछि जलविद्युतमा सकारात्मक मुभमेन्ट सुरु भयो ।’
विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य बनाइएको थियो । आफू इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएको उनी सुनाउँछन् । ‘जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित ग¥यौं, प्रवद्र्धकको पहिचान बनाएँ । विद्युत खरिद बिक्री (पीपीए) रोकिएको थियो, ट्रासमिसन लाइनको समस्या थियो, नेपाल विद्युत प्राधिकरणले उत्पादन रोक, यति प्रतिशत मात्रै गर भनेर निर्देशन दिन्थ्यो । त्यसलाई हटाउन मेरो नेतृत्वको टिम सफल भयो,’ उनले आफू इप्पानको नेतृत्वमा भएका काम सुनाउँदै भने ।
विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य थियो । म इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएँ, जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित भयो ।
आचार्य इप्पानमा जानुअघि प्रवद्र्धकले कबुल गरेजति विद्युत उत्पादन गरेन भने प्राधिकरणले जरिवाना गथ्र्यो । आफूले त्यो जरिवाना गर्ने अभ्यास हटाउन सफल भएको उनले दाबी गरे । उनका अनुसार उनको नेतृत्वमा इप्पानमा भएको महत्वपूर्ण काम संगठन विस्तार हो । १४/१५ जनामात्रै प्रवद्र्धक जोडिएका इप्पानमा उनकै कारण ५०० जना संगठित भए । अहिले जलविद्युतसँग सम्बन्धित सरकारका समिति तथा निकायमा जलविद्युत उद्यमी नै आवद्ध हुने विषय स्थापित भएको उनले सुनाए ।
सरकारले ऊर्जा उद्यमीका लागि नीतिगत सहजताका साथै दुःख नदिने प्रवृत्तिमात्रै ग¥यो भने पनि धेरै काम गर्न सकिने आचार्य बताउँछन् । ‘अहिले उत्पादकहरू धेरै छन्, खरिदकर्ता र बिक्रेता एउटा मात्रै छ । २०६८ सालमा तोकेको दरमा प्राधिकरणले अहिलेसम्म खरिद गर्छ । बिक्री दर भने तीन पटक बढाइसक्यो । मुद्रास्फीतिअनुसार दर पुनरावलोकन गरेको छैन । ७ वटा मन्त्रालय, २२ वटा विभाग र २०० वटा टेबलमा जलविद्युत उद्यमी पुग्नुपर्छ । ३६ वटा कानुनको अधिनमा रहेर काम गर्नुपर्छ, यो किसिमले जलविद्युत क्षेत्रको विकास हुन सक्दैन,’ उनले भने ।

उनले सरकारले भाषणमा एकद्वार प्रणाली भने पनि व्यवहारमा लागू नभएको गुनासो गरे । ‘मैले काममा एकद्वार प्रणाली तत्कालीन राजा वीरेन्द्रबाट सुनेको हुँ, अहिलेसम्म सुनिन्छ, तर कार्यान्वयन भएको छैन । अधिकांशको नियत दुःख दिने छ । पदमा बस्नेसम्म दुःख दिने तर बाहिर आएपछि यो काम भएन भन्छन्,’ उनले भने, ‘यस्तो प्रवृत्ति रोकियो भने जलविद्युत प्रवर्द्धकले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छन् ।’
निजी क्षेत्रकै कारण अहिले देशमा लोडसेडिङ अन्त्य भएको तर यसका श्रेय एक जनालाई मात्र दिने काम भएको आचार्यको भनाइ छ । लोडसेडिङ अन्त्यको श्रेय निजी क्षेत्रलाई दिनुपर्ने उनको धारणा छ ।
चुनौती र समस्या धेरै भएपनि आफू चुनौतीभित्र नै सम्भावना खोज्ने गरेको आचार्य बताउँछन् । ‘जलविद्युत क्षेत्रमा चुनौती अथाह छन् । तर, म कहिल्यै पनि निराश भइनँ । भारतले नाकाबन्दी गरेको बेला मैले दुई नयाँ उद्योग ल्याएँ । त्यतिबेला धेरै मान्छेहरूले यो लगानी गर्ने समय होइन भनेका थिए । भूकम्पको समयमा बर्बाद भयो भन्थे तर मैले काम रोकिनँ । अप्ठ्यारो परेको बेला काम गर्ने मान्छेको पहिचान हुन्छ,’ उनले भने ।
मध्यरातमा फोन गरेर भोलि तपाईंको साइटमा रगतको खोला बग्छ भन्ने मान्छेसँग पनि आचार्य जुधे । मन्त्रालयमा वर्षौंदिनसम्म गएर फाइल अगाडि नबढेको अनुभव पनि लिए । तर, उनी निराश भएनन् । उनी भन्छन्, ‘चुनौती र समस्याबाट भागेको भए आज तपाईंसँग कुरा गर्ने सक्ने अवस्थामा कहाँ पुग्थें र !’
छोराहरू नै सफलताका सारथी
उद्यमी कृष्ण आर्चाका दुई छोरा छन् । जेठो सुदीप र कान्छो सन्दिप । दुवै छोराले उनलाई व्यवसायमा साथ दिइरहेका छन् । दुइटै छोरालाई उनले अमेरिकामा पढाए । तर, उनलाई खुसी यसमा मिलेको छ कि दुवै छोरा नेपाल फर्किएर व्यवसायमा साथ दिइरहेका छन् ।
‘धेरैले छोराछोरी विदेश पठाउने विषयलाई गौरवका रुपमा लिन्छन् । तर, मैले नेपाल फर्काएकोमा गौरव महसुस गर्छु । हामी अहिले संयुक्त परिवारमा छौं । छोरा बुहारीले व्यवसायमा राम्रो साथ दिइरहेका छन्, म एकदमै खुसी छु,’ उत्साहित हुँदै उनले भने ।
छोराहरु सन्दीप र सुदीपसँग कृष्णप्रसाद आचार्य ।
सुदीप कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रालिको सञ्चालक रहेर काम गरिरहेका छन् । उनले बुवालाई जलविद्युतमा पनि साथ दिइरहेका छन् । सन्दिपले आईटी कम्पनीको नेतृत्व गरिरहेका छन् । उनले नेपालमा आईटी प्रडक्ट उत्पादन गरेर अमेरिकामा निर्यात गर्दै आएका छन् ।
आचार्य साथीभाइहरू जुटाएर काम गर्दा सफल भइने तर पारदर्शिताको भने आवश्यकता हुने बताए । ‘नेपालमा पारदर्शिताको कमी छ, व्यावसायिक साझेदारहरूसँग पारदर्शी कायम गर्न सकियो भने सफलताको सबैभन्दा ठूलो सफलता हुन्छ । इमान्दारिता र लगनशीलता आवश्यक पर्छ,’ उनले भने ।
म रिटायर्ड हुदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम स्वाससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ ।
आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० भन्दा बढी कम्पनीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । नेपालको अन्तरिम व्यवस्थापिका संसद २०६३–२०६४ को सांसद समेत रहेर काम गरेका आचार्य व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । उनी गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका रूपमा पनि कार्यरत छन् ।
‘कहिले कता त कहिले कता लाग्नु हुँदैन, त्यसले क्षणिक रूपमा पैसा कमाए पनि सफलता भने मिल्दैन, समाज र राष्ट्रले केही पाउँदैन । समाजलाई के दिनु भयो भन्ने कुराले ठूलो अर्थ राख्छ,’ उनी भन्छन्, ‘अहिले म ७५ वर्षको भएँ, मेरो अन्त्य पनि कुनै परियोजना निर्माण गर्दागर्दै होस् भन्ने चाहना छ ।’
इप्पानका अध्यक्ष गणेश कार्की पनि ऊर्जा क्षेत्रको विकासमा आचार्यको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउँछन् । ‘उहाँले इप्पानको नेृतृत्व गर्दा पनि परिणामुखी काम भए । उहाँ पहिले पनि माननीय भइसकेको हुनाले इप्पानलाई संस्थागत बनाउन र सरकारसँग नीतिगत समन्वय गर्न उहाँको कार्यकाल उदाहरणीय बन्यो,’ उनी भन्छन्, ‘उहाँको व्यक्तिगत सम्बन्ध राम्रो भएकोले पनि काम गर्न सहज भयो ।’ जलविद्युत क्षेत्रमा सामूहिक लगानीको मोडललाई अगाडि बढाउन पनि उनले ठूलो भूमिका खेलेको कार्कीको भनाइ छ ।
कृष्णकै शब्दहरू:
जागिरले आफूलाई मात्र चलाउँछ, व्यवसायले धेरैलाई जोड्छ भन्ने बुवाको प्रेरणाले म व्यवसायमा लागें । सुरु यातायातबाट गरें । पछि पोखरामा पर्यटकस्तरको पहिलो होटल खोलें । यातायात र होटल सञ्चालन गरेपछि दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ उद्योग सुरु गरें, ‘रारा चाउचाउ’ । त्यतिबेला चाउचाउ भन्ने शब्द पनि नेपाली शब्दकोषमा थिएन, हामीले सुरु गरेपछि शब्द पनि चलनमा आयो, उद्योग पनि स्थापित भयो । राजा वीरेन्द्रले समेत बोलाएर सोध्नुभयो कि उद्योग कसरी सुरु गर्यौ भनेर ।
पैसा कमाउने मात्र काम होइन, राष्ट्र निर्माणको सोंचसहित म जलविद्युत उत्पादनको क्षेत्रमा आएँ । अहिले ४०० मेगावाटभन्दा बढी बिजुली उत्पादनमा संलग्न छु । केही आयोजनामा बत्ती बालिसक्यो, केही अन्तिम चरणमा छन् । जलविद्युतमा आएपछि बुझें– जहाँ आयोजना जान्छ, त्यहाँ विकास पुग्छ । बाटो जान्छ, बिजुली जान्छ, विद्यालय–स्वास्थ्य संस्था आउँछन् । रोजगारी सिर्जना हुन्छ । स्थानीय मानिसको जीवनस्तर माथि उकास्सिन्छ ।
‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने मान्यतामा काम गरिरहेको छु, मैले चार हजारभन्दा बढी प्रमोटरलाई जोडेको छु । नेपालको व्यवसायमा सबैभन्दा ठूलो समस्या पारदर्शिता नहुनु हो । साझेदारसँग पारदर्शिता राखियो भने सफल भइन्छ । अमेरिकाबाट फर्किएर छोराहरूले पनि मलाई व्यवसायमा साथ दिइरहेका छन् । मलाई त्यसमा ठूलो गौरव छ ।
सरकारले नीतिगत सहजता गरिदियो भने जलविद्युत उद्यमीहरूले ५० हजार मेगावाट उत्पादन गर्न सक्छन् । म इप्पानको नेतृत्व गर्दा ‘झोलामा खोला बोक्ने’ भनेर आरोप लगाइन्थ्यो । म त्यो भाष्यलाई बदल्न सफल भएँ । जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भनेर स्थापित गरें । पीपीए रोकिएको थियो, कबोल गरेको विद्युत उत्पादन नगर्नेलाई जरिवाना लगाइन्थ्यो । ट्रान्समिसन लाइनका अवरोध थिए । सबै हटाउन लडें । संगठन १२/१५ सदस्यबाट ५०० पु¥यायौं ।
निजी क्षेत्र नआएको भए लोडसेडिङ हट्दैनथ्यो । त्यो श्रेय लिइरहेकै आधारमा कतिपयले पार्टी खोले । म कठिन समयमा नै काम गर्छु । नाकाबन्दीमा दुई उद्योग ल्याएँ, भूकम्पमा पनि रोकिनँ । धम्की दिने, रोक्ने, काम नगरिदिने लगायत धेरै चुनौतीहरू भोगें । तर, कहिल्यै निराश भइनँ । म व्यापारमा होइन, उत्पादनमा लागें । पारदर्शी र इमानदार भएर काम गर्छु । अहिले तीन दर्जनभन्दा बढी कम्पनीमा लगानी छ, ५०० भन्दा बढीले रोजगार पाएका छन् । मेरै जीवनकालमा एक हजार विद्युत उत्पादन गर्ने लक्ष्य छ । मेरो कामको मूल्यांकन गर्दै विकास मिडियाले मलाई विकास नायकको रूपमा सम्मान गर्न लागेको खबर सुनेपछि राम्रो काम गर्नेको कहीँ नै कही मूल्याङकन भइरहेको हुन्छ भन्ने लाग्यो । यो कार्यलाई निरन्तरता पनि दियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।