काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यसहित बैंकले बिहीबार (माघ १) देखि लागू हुने गरी नयाँ लोगो र छाप प्रयोगमा ल्याएको हो ।
बैंकका अनुसार लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । त्यसपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो र छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।
परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचानसँगै गुणस्तरीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धता झल्काउने विश्वास बैंकले लिएको छ । बैंकद्वारा जारी विज्ञप्तिमा ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।