रिलायन्स फाइनान्सको १६औं साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०८१०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफलसहित पारित भयो ।

साथै बाह्य लेखापरीक्षकको नियुक्ति तथा विशेष प्रस्तावतर्फ वित्तीय संस्थाहरूबीच मर्जरसम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

सभामा प्रस्तुत विवरणअनुसार विगत वर्षहरूमा व्यवसाय तथा वित्तीय सूचकमा उतारचढाव भए तापनि चालु आर्थिक वर्षमा संस्थाको कार्यसम्पादन उल्लेखनीय रूपमा सुधारिएको छ । 

गत आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप १.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६४ करोड पुगेको छ भने कर्जा ८.७० प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड पुगेको छ । त्यस्तै, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई ६ करोड ८६ लाख पुगेको छ । 

सभामा सेयरधनीहरू डा. बालकृष्ण चापागाईं र दीपक आचार्यले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको प्रगति र भविष्यका योजनाप्रति शुभकामना व्यक्त गरे । साथै अन्य विभिन्न सेयरधनीहरूले लिखित सुझावसमेत प्रस्तुत गरेका थिए ।

सभाको अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकका रूपमा योगदान पुर्याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गर्ने तीनवटा शाखा कार्यालयलाई ‘बेस्ट ब्रान्च अवार्ड’ प्रदान गरिएको छ ।

Share News