काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकका लागि चार दिने विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सुरु गरेको छ ।
माघ १ देखि ४ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा ग्राहकहरूले पुरानो गाडी साटेर टाटाका अत्याधुनिक सवारीमा अपग्रेड गर्न सक्नेछन् ।
कम्पनीका अनुसार अभियानको मुख्य उद्देश्य ग्राहकलाई पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन उपलब्ध गराउँदै नयाँ गाडीको अनुभव दिलाउनु हो । योजना अवधिभर बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार र नगद छुटको सुविधा पाउनेछन् ।
विशेष गरी विद्युतीय सवारी (ईभी) मा रुचि राख्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र होम चार्जिङ जडान उपलब्ध गराइएको छ । त्यस्तै, नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज समेत प्रदान गरिनेछ ।