काठमाडौं । नेपालको अग्रणी अटो वितरक एमएडब्लु वृद्धि ग्रुपले विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ एसयूभी ‘दीपल ई-०७’ सार्वजनिक गरेको छ । बुधबार कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक गाडीको लाइनअप विस्तार गर्दै अल न्यू ‘ई-०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गरेको हो ।
लक्जरी र एड्भेन्चरको अनुपम मिश्रण मानिएको यो गाडीले नेपाली ग्राहकलाई आरामदायी यात्रासँगै अफरोड अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यो गाडीको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडी एसयुभी मात्र नभई, एक बटनको भरमा आफ्नो स्वरूप र क्षमता परिवर्तन गर्न सक्ने ट्रान्सफर्मर भएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार ‘ई-०७ ट्रान्सफर्मर एक्स’ ले परम्परागत एसयुभीको परिभाषालाई नै चुनौती दिएको छ । एक बटन थिच्नासाथ यसको पछाडिको भाग खुलेर यसलाई एउटा पिकअप ट्रकमा परिणत गर्न सकिन्छ । यसमा १६०० लिटरको कार्गो स्पेस र ५३१ केजीको पेलोड क्षमता छ ।

यसैगरी गाडीमा अत्याधुनिक एयर सस्पेन्सन प्रणाली जडान गरिएको छ, जसले ग्राउन्ड क्लियरेन्सलाई २०० एमएमबाट बढाएर २३१ एमएमसम्म पुर्याउन सक्छ ।
यसले चालकलाई मात्र नभई सबै यात्रुको आरामलाई प्राथमिकता दिएको छ । यसका चारवटै सिटमा मसाज, हिटिङ र भेन्टिलेसनको सुविधा छ । सिटहरूमा विश्वका केही महंगा गाडीमा मात्र प्रयोग हुने प्रिमियम नाप्पा लेदर प्रयोग गरिएको छ ।
गाडीको अगाडिको सिटमा १४-वे एडजस्टमेन्ट र ‘जिरो ग्राभिटी मोड’ छ । पछाडिका यात्रुका लागि छुट्टै सुपर टच स्क्रिन दिइएको छ । जसबाट एसी, सनसेड, सिट फोल्ड/रिक्लाइन र अन्य सुविधाहरू नियन्त्रण गर्न सकिन्छ।
यसमा चीनको समकालीन एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेडद्वारा निर्मित नेपालकै सबैभन्दा उन्नत गोल्डेन शिल्ड ब्याट्री २.० प्रयोग गरिएको छ । जसको क्षमता ८९.९८ किलोवाटआवर छ । यो ब्याट्रीले ५ हजारभन्दा बढी साइकल लाइफ दिने दाबी गरिएको छ । एक पटकको फुल चार्जमा यसले ५६६ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
यसले २४० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट केवल १२ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । गाडीमा १९० किलोवाटको मोटर पावर, रियर ह्विल ड्राइभ र ६०० एमएमको वाटर वेडिङ क्षमता छ ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको बजारमा ५४ वटा ईभी ब्रान्ड हुँदा पनि दीपलले आफूलाई नम्बर एक लक्जरी ईभी ब्रान्डको रूपमा स्थापित गर्न सफल भएकोमा बताए ।
उनले चिनियाँ केन्द्रीय सरकारले लगानी गरेका १०० कम्पनीमध्ये चाङ्गन पनि एक भएकोले यसको विश्वसनीयतामा प्रश्न नरहेको र एमएडब्लू वृद्धिको ६० वर्षे विरासतले ग्राहक सेवामा उत्कृष्टताको ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अग्रवालले दीपल ई-०७ एक गाडी मात्र नभएर एक फरक जीवनशैलीको प्रतीक भएको बताए । उनले भने, ‘हामीले एस-०५ र एस-०७ को सफलतापछि यो नयाँ मोडल ल्याएका हौं । यसले बजारमा हाम्रो विश्वासलाई अझ बलियो बनाएको छ । ’

उनका अनुसार यो गाडी विशेषगरी ती ग्राहकहरूका लागि डिजाइन गरिएको हो जो आरामदायी र न्यानो क्याबिनमा बसेर बाहिरको कठिन भू-भाग र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहन्छन् ।
‘कल्पना गर्नुहोस्, तपाईं गाडीको न्यानो र आरामदायी सिटमा बसेर बाहिर हिउँ परिरहेको दृश्य हेर्दै हुनुहुन्छ,’ उनले विकासन्युजसँग भने, ‘यो गाडीले त्यही अनुभव दिन्छ । भित्र पूर्ण लक्जरी छ भने बाहिर जस्तोसुकै कठिन बाटोमा पनि जानसक्ने क्षमता छ । ’
उनले नेपालमा ईभीको बढ्दो लहरलाई दूरदर्शी कदमको रूपमा व्याख्या गरे । उनका अनुसार नेपालमा उत्पादन भएको अतिरिक्त बिजुली खपत गर्न, जलवायु परिवर्तनको असर कम गर्न र प्रदूषणरहित सफा पर्यटकीय छवि निर्माण गर्न ईभीको भूमिका महत्त्वपूर्ण छ ।
‘पहाड र हिमनदी भएको हाम्रो देश जलवायु परिवर्तनप्रति संवेदनशील छ । ईभीको प्रयोगले वातावरण संरक्षणमा ठूलो सहयोग पुग्छ,’ उनले थपे ।
त्यस्तै, प्रबन्ध निर्देशक विवेक शिकरियाले दीपलले टच द फ्युचर भन्ने नारालाई सार्थक बनाउँदै भविष्यमुखी गाडीहरू मात्र बजारमा ल्याएको बताए । उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै छिट्टै बालुवाटारमा एक समर्पित ईभी वर्कशप खोल्ने घोषणा पनि गरे ।
कम्पनीका सीईओ ज्ञानेन्द्र शाहले एमएडब्लुको सन् १९६४ देखिको यात्रा र आज २१ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्दै देशकै सबैभन्दा ठूलो अटोमोबाइल समूह बनेको दाबी गरे । उनले ‘दीपल ई-०७’ लाई नेपाली अटो बजारमा एउटा नयाँ बेन्चमार्कको रूपमा प्रस्तुत गरे ।
एमएडब्लुले ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको जनाएको छ । उत्कृष्ट सर्भिस, समयमै स्पेयर पाट्र्सको उपलब्धता र ग्राहकको आवश्यकताअनुसारका गाडीहरू ल्याएर बजारमा विश्वास जित्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीका अनुसार चिनियाँ अटोमोबाइल निर्माता च्याङ्गन विश्वकै तीन ठूला कम्पनीमध्ये एक हो । यसमा चीन सरकारको समेत लगानी छ । च्याङ्गनले भविष्यमा ल्याउने गाडीहरूको लामो सूची रहेको र एमएडब्लुले यसै वर्षभित्र अर्को नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको समेत खुलासा गरिएको छ ।
एमएडब्लु वृद्धि ग्रुपले हालसम्म ४ हजारभन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ भने दीपल ब्रान्डका मात्रै १ हजार २०० गाडी बिक्री भइसकेका छन् । नयाँ ‘दीपल ई-०७’ को आगमनले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
