कांग्रेस विभाजनले लोकतन्त्र कमजोर बनाउने प्रेस युनियनको चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको सम्भावित विभाजनले मुलुकको लोकतान्त्रिक अभ्यासलाई गम्भीर क्षति पुग्ने चेतावनी दिएको छ । लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितका लागि बहुदलीय लोकतान्त्रिक व्यवस्था अपरिहार्य रहेको उल्लेख गर्दै युनियनले कांग्रेसभित्र एकताको विकल्प नभएको स्पष्ट पारेको छ ।

प्रेस विज्ञप्तिमा  युनियनले आफू लोकतन्त्रवादी पत्रकारहरूको आस्थाको धरोहर भएको उल्लेख गर्दै सञ्चार क्षेत्रका सरोकारलाई बुझ्ने र सम्बोधन गर्ने राजनीतिक प्रणाली बहुदलीय लोकतन्त्र मात्र हुन सक्ने अविचलित मान्यता रहेको जनाएको छ । राजनीतिक दलहरू जति सुदृढ हुन्छन्, लोकतान्त्रिक अभ्यास पनि त्यति नै समृद्ध हुने युनियनको धारणा छ ।

विज्ञप्तिमा दल विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित नगर्ने उल्लेख गर्दै नेपालकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हाल गम्भीर आन्तरिक सङ्क्रमणबाट गुज्रिरहेको उल्लेख छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट कांग्रेस विचलित हुनु चिन्ताको विषय भएको युनियनको ठहर छ ।

कांग्रेसको विभाजन लोकतन्त्रका लागि सुखद अनुभूति नहुने भन्दै युनियनले यसले राजनीतिक अस्थिरता र लोकतान्त्रिक मूल्यमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ । विज्ञप्तिमा कांग्रेसका सबै जिम्मेवार नेताहरूलाई लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखी एकताको मार्ग रोज्न आग्रह गरिएको छ ।

साथै नेपाल प्रेस युनियनले आफू आवद्ध देशभरका पत्रकार साथीहरूलाई कुनै पनि परिस्थितिमा विचलित नहुन र एकताको पक्षमा स्पष्ट अभिमत प्रकट गर्न हार्दिक अनुरोध गरेको छ ।

null

Share News