काठमाडौं । नेपाली कांग्रेस विभाजन भएको छ । नेतृत्व परिवर्तन गर्न भन्दै महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व चयनको अन्तिम तयारी गरेपछि संस्थापन पक्षले उनीहरूलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेपछि पार्टी विभाजन भएको हो ।
संस्थापन पक्षले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई समेत कारवाही गरेको छ । उनीहरूले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशनको आयोजना गरेका थिए । तर, देउवा पक्ष भने विशेष महाधिवेशनमा सहभागी भएन ।
विशेष महाधिवेशन पक्ष भने अहिले नेतृत्व चयन गर्दैछ । सभापतिमा गगन कुमार थापाको मात्रै उम्मेदवारी परेको छ भने महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । यो समूहले सबै पदमा निर्विरोध गर्ने तयारी गरेको छ ।
गगन-विश्व पक्षले विशेष महाधिवेशन नै गरेर नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्दा देउवा पक्षले भने उनीहरूलाई कारवाही गरेपछि यो विषयले अर्को नयाँ बहस जन्माएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि गाली नगर्न बताएका हुन् ।
'तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनूहोला। कसैको बारेमा टिप्पणी नगरिदिनूहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ। नयाँ निर्णय सुनाउँछौं । दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ,’ उनले भने ।
अब दुवै पक्षले आधिकारिकताका लागि संघर्ष गर्नु पर्नेछ । त्यसका लागि दुवै पक्षले निर्वाचन आयोग र अदालत पनि धाउनेछन् । कांग्रेसका एक नेताले अब यो विषय आयोग र अदालतमा पनि प्रवेश गर्ने जानकारी दिए ।