काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा बुधबार बनेपा स्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कर प्रयोजनसहित सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण पनि पारित गरेको छ ।
२०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई बनेको हो । संस्थाले बाह्रौं वर्षमा सफल प्रवेश गर्दै २०८२ असोजसम्म सातै प्रदेशका ७४ जिल्लामा १८५ शाखा कार्यालयमार्फत २ लाख ५३ हजार विपन्न परिवारमध्ये १ लाख २२ हजार ऋणीलाई करिब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह र करिब ६ अर्ब ५० करोड रुपैयाँ बचत परिचालन गर्न सफल भएको जनाएको छ ।
सभाले सम्बन्धित निकायबाट स्वीकृति लिई ८ लाख ७४ हजार ४४३ कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्कासन गर्ने तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमध्ये संस्थापक समूहको १० प्रतिशत सेयर नियामक निकायको स्वीकृति पश्चात सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले ग्राहकको हक–हित संरक्षण र प्रवर्द्धन गर्दै उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि तथा प्रविधिको उच्चतम प्रयोगमार्फत संस्था थप सुदृढ बनाउँदै लैजाने योजना रहेको जानकारी दिए ।