टेलिकमको साधारण सभा सम्पन्न, सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८औं वार्षिक साधारण सभा बुधबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा करिब ९१.५६ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ ।

सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १८औं वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले तीव्र प्रतिस्पर्धी वातावरणका बाबजुद मुनाफाभन्दा सेवाभावलाई प्राथमिकतामा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार, डिजिटल नेपाल बनाउने सरकारी अवधारणामा सहयोग, विद्युतीय सुशासन प्रवर्द्धन तथा अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माणमा कम्पनी केन्द्रित रहेको बताए ।

अध्यक्ष अर्यालले भावी दिनमा मेगा परियोजना सञ्चालनका लागि थप पुँजी आवश्यक परेमा बोनस सेयरसमेत प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार समीक्षा अवधिमा कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । यस अवधिमा कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाइएको छ ।

उनले जोखिम न्यूनीकरणका लागि आय सुनिश्चितता, कार्यसम्पादन तथा प्राविधिक परीक्षणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र खेलकुदलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग निरन्तर रहेको बताए ।

नेपाल टेलिकमले निकट भविष्यमा राजधानीसहित ठूला सहरहरूबाट ५जी सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । साथै, देशभर फोरजी र फाइबर सेवाको पहुँच विस्तार गर्दै २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवा विस्तार भइसकेको कम्पनीले जनाएको छ ।  

Share News