विशेष महाधिवेशन पक्षका ८ प्रस्ताव, मान्लान् त सभापति देउवाले ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । उक्त पक्षले पार्टी सुधार, नेतृत्व पुनर्संरचना र आगामी निर्वाचनको रणनीतिलाई केन्द्रमा राख्दै आठ बुँदे प्रस्ताव अघि सारेको हो ।

विशेष महाधिवेशनको छलफलका क्रममा उठाइएका यी प्रस्तावले पार्टीलाई संस्थागत ढंगले अघि बढाउने र निर्वाचनमा केन्द्रित बनाउने उद्देश्य राखेको विशेष महाधिवेशन पक्षीय नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

प्रस्तावको पहिलो माग पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने माग गरिएको छ । यस्तै, दोस्रो महत्त्वपूर्ण प्रस्तावमा नेतृत्वलाई संस्थागत बनाउँदै विशेष महाधिवेशनको स्वामित्व सम्पूर्ण पार्टीले लिनुपर्नेमा जोड दिइएको छ ।  आगामी निर्वाचनअघि नै पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जनतामाझ जाने प्रस्ताव गरिएको नेता केसीले जानकारी दिए ।

निर्वाचन रणनीतिमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसले पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक आत्मविश्वास बढाउने तर्क प्रस्तावकर्ताहरूको रहेको केसीले बताए ।

टिकट वितरणलाई विवादरहित र सर्वस्वीकार्य बनाउन स्वतन्त्र र विश्वसनीय संसदीय बोर्ड गठन गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ । त्यस्तै, निर्वाचनमा केन्द्रित भई पार्टी संगठनलाई सक्रिय बनाउन पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने प्रस्तावमा उल्लेख  गरिएको छ ।

प्रस्तावमा उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने व्यवस्था गर्नुपर्ने मागसमेत समेटिएको छ । यसले व्यक्तिकेन्द्रित निर्णय प्रक्रियाको अन्त्य गर्दै सामूहिक नेतृत्व प्रणाली बलियो बनाउने नेता केसीको विश्वास रहेको छ ।

यसबाहेक विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको दीर्घकालीन पुँजीका रूपमा ग्रहण गर्दै कार्यान्वयनमा लैजानुपर्ने प्रस्तावमा उल्लेख छ । कांग्रेसभित्र देखिएको असन्तोष र सुधारको मागलाई सम्बोधन गर्दै पार्टीलाई निर्वाचनमुखी बनाउने दिशामा यी प्रस्तावलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

Share News