काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि जगदीश्वरनर सिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशनअन्तर्गत जारी नेतृत्व चयन प्रक्रियामा केसीको उम्मेदवारी परेसँगै महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ ।
महाधिवेशन निर्वाचन समितिले तोकेको समयसीमाभित्र केसीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले मात्रै उम्मेदवारी दिएको बताइएको थियो । केसीको उम्मेदवारीसँगै अब महामन्त्री पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
उम्मेदवारी दर्तापछि विकासन्युजसँग केसीले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउने, आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने र जनतासँग पार्टीको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले उम्मेदवारी दिएको बताए ।
‘कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै जनताको मुद्दामा केन्द्रित पार्टी बनाउनु आजको आवश्यकता हो,’ उनले भने ।
केसी लामो समयदेखि नेपाली काङ्ग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन् । उनी पार्टीभित्र वैचारिक स्पष्टता, अनुशासन र कार्यकर्तामैत्री संगठनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
महामन्त्री पदमा निर्वाचित भए पार्टीका नीति निर्माण, संगठन सञ्चालन र आगामी निर्वाचन रणनीतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएसँगै कांग्रेसभित्र शक्ति सन्तुलन, पद बाँडफाँट र भावी राजनीतिक दिशाबारे व्यापक बहस चलिरहेको छ ।
महामन्त्री पदलाई पार्टी सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिइने भएकाले उम्मेदवारहरूको गतिविधि र समर्थनको अवस्था चासोका साथ हेरिएको छ ।
महाधिवेशन कार्यतालिकाअनुसार अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, चुनावी प्रचार–प्रसार र मतदान प्रक्रिया अघि बढ्नेछ ।