काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्लो तीन दिनदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम भएको रेकर्डलाई तोड्दै बुधबार सुनको मूल्यले नयाँ उच्चता छोएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा ३ सय १५ रुपैयाँले बढ्दै नयाँ रेकर्डमा पुगेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो । अघिल्लो रेकर्डलाई तोड्दै चाँदीको मूल्यले पनि बुधबार नयाँ उच्च बिन्दु कायम गरेको हो ।